पाटनलाई क्रिकेट उपाधि


काठमाडौं ।
पाटन बहुमुखि क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाटनले एकेडेमिया इन्टरनेशनल कलेजलाई ७ विकेटले पराजित ग¥यो ।

एकेडेमियाले दिएको ९९ रनको लक्ष पाटनले १४ दशमलब ४ ओभरमा ३ विकेट गुमाउदै पुरा गर्यो ।

पाटनका हिमाल ज्ञवालीले २५ र सुनिल खड्काले नटआउट २४ रन जोडे । सुनिल ‘म्यान अफ द म्याच’ बने । बलिङतर्फ एकेडेमियाका चिन्तामणि विश्वकर्माले ३–४ ओभरमा १६ रन खर्चदै २ विकेट हात पारे । भुवन शाहीले ४ ओभरमा १ मेडन सहित १३ रन दिदै १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९८ रन बनायो । मधुसुदन खनालले २२ तथा विपिन महर्जनले १७ रन बनाए । बलिङतर्फ पाटनका निर्मल लुइटेलले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर २ विकेट लिए ।

उपाधिसंगै पाटनले ६० हजार नगद पुरस्कार पायो । एकेडेमियाले ४० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

पाटनका चक्र तिमल्सिना ‘म्यान अफ द सिरिज’ घोषित भए । चक्रले ७ खेलबाट १७ विकेट लिए । ४ खेलमा १३ विकेट लिएका एकेडेमियाका चिन्तामणि विश्वकर्मा उत्कृष्ट बलर चुनिए । हिमालयन कलेज अफ इन्जिनिएरिङका किरण विष्ट उत्कृष्ट ब्याट्सम्यान ठहरिए ।
फागुन १७ गतेदेखि सुरु प्रतियोगितामा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको नवौं संस्करण पाटनले आयोजना गर्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :