अमेरिकाको प्रभावशाली ट्रयाक एण्ड फिल्ड महासंघले यसै वर्ष जापानमा हुने ओलम्पिक खेल सार्न आग्रह गरेको छ ।
यो आग्रह पछि जापानलाई ओलम्पिक सार्न दबाब बढेको छ । जापानले कोरोना भाईरसको महामारी चलिरहँदा पनि ओलम्पिक तोकिएको समयमा नै हुने बताउँदै आएको छ ।
महासंघका अध्यक्ष म्याक्स सिगेलले आफ्नो पत्रमा अमेरिकी ओलम्पिक र पारालिम्पिक समिति (युएसओपीसी) ले टोकियो २०२० ओलम्पिक खेल स्थगित गर्न जापानलाई आग्रह गरेको बेहोरा उल्लेख गरेका छन् । सिगलले खेलाडीको स्वास्थ्य सबैभन्दा प्राथमिक विषय भएकोले ओलम्पिक सार्ने विषयमा गम्भिर हुन सुझाएका छन् ।
युएसएटीएफ भन्दा एक दिन अघि अमेरिकी स्विमिङ्ग महासंघ युएसओपीसीले २०२१ सम्मका लागि ओलम्पिक खेल स्थगित गर्न समर्थन गर्न आग्रह गरेको थियो । जसमा फ्रान्सको स्विमिङ्ग महासंघले पनि समर्थना जनाएको थियो ।
जापानले यसै वर्ष तोकिएको मितिमा ओलम्पिक गर्ने दाबि गरिरहेको समयमा स्पेन,बेलायत,नर्वे लगयातका देशले पनि सार्न आग्रह गरेको थियो ।
कोभिड १९ को कारणले विश्वभरी अहिलेसम्म १३ हजार भन्दा बढी मानिसको मृत्यु भईसकेको छ । यसैबिच अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले आफ्ना सदस्य राष्ट्रहरुलाई खेलाडीहरूको तयारीमा कोरोना भाइरसले पारेको प्रभावको बारेमा चासो ब्यक्त गरेको छ ।