किन आईपीएलको बारेमा बोल्दैन बीसीसीआई !

विश्वब्यापीरुपमा तिव्रतर फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड १९ को महामारीले खेलकुदक्षेत्रलाई समेत लकडाउनको अवस्थामा पुरर्याएको छ ।
लगभग सबैजसो राष्ट्रले आफ्नो घरेलु प्रतियोगिताहरु ठप्प पारिसकेका छन् । मंगलबार खेलक्षेत्रमा अर्काे एउटा ठूलो निर्णय लिईयो । त्यो हो जापानमा आयोजना हुने भनिएको टोक्यो ओलम्पिक २०२० एक वर्ष पर धकेलियो । यसले अबको एक वर्ष थुप्रै ठूला प्रतियोगिताहरु स्थगन हुने तर्खरमा रहेको संकेत मात्र गर्दैन, प्राय जसो सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुको वार्षिक क्यालेण्डर समेत उथलपुथल हुने देखिन्छ ।
संसारको सबैभन्दा महङ्गो मध्येको भारतमा आयोजना हुने ईण्डियन प्रिमयिर लिग (आईपिएल) समेत स्थगित हुने निश्चित छ । भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र आईपीएल फ्रेन्चाईज टिमका मालिकबिच मंगलबार तय भएको बैठक समेत कोरोनाले प्रभावित बन्यो ।
अप्रिल १५ बाट आईपीएल सूचारु गर्ने तैयारीमा रहेको बीसीसीआई अध्यक्ष सौरभ गांगुली पनि पछिल्लो समय केही सुस्ताएका जस्तो देखिन्छन् । सम्भवत उनले अहिलेको जटिल अवस्थालाई बुझ्न थालेका छन् । मगंलबार ओलम्पिक खेल स्थगित भएपछि उनले अहिलेको अवस्था गम्भिर र संवेदनशील बन्दै गएको बुझेका छन् ।
त्यसमाथि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार जनतालाई सम्बोधन गर्दै २१ दिनसम्म भारत लकडाउनको घोषणा समेत गरिसकेका छन् । यो सम्बोधनले भारतको प्रतिष्ठित र लोकप्रिय क्रिकेट प्रतियोगिता आईपीएल स्थगित भएको अनौपचारिक घोषणा भएको मान्न सकिन्छ ।
तर अझै पनि बिसिसिआईको आधिकारिक धारणा भने बाहिर आईसकेको छैन । भारतमा पनि कोरोनाको संक्रमण लगातार रुपमा बढीरहेको छ । भारतमा अहिलेसम्म ५६७ जना कोरोना संक्रमितहरु पत्ता लागिसकेको छ । जसमध्ये ९ जनाले ज्यान गुमाईसकेको तथ्यांक छ । यस्तोमा गांगुलीको नेतृत्वमा रहेको बीसीसीआईले किन अझै आईपीएल लगायतका आफ्ना प्रतियोगिताको बारेमा आधिकारिक धारणा राख्न सकिरहेको छैन ?
खेलकुदको महाकुम्भको नामले परिचित ओलम्पिक समेत स्थगित भईसक्यो । अहिलेको यो विषम अवस्थामा खेलाडी र त्यससँग जोडिएका ब्यक्तिहरुको स्वास्थ्यभन्दा ठूलो केही पनि होईन । ओलम्पिक स्थगित भईसकेको अवस्थामा आईपीएल सानो प्रतियोगिता नै हो भन्नुपर्छ ।
बीसीसीआईले अप्रिल १५ सम्मको लागि आईपीएल स्थगित भएको जानकारी मात्र गराएको छ । तर मंगलबार आईपीएलका फ्रेन्जाईजका मालिकहरुसँगको बैठक स्थगित हुँदा समेत बीसीसीआईले कुनै ठोस निर्णय सुनाउन नसक्नु अचम्मको विषय हो ।
भारतीय संचार माध्यमसँग कुरागर्दा पनि गांगुलीको जवाफ चित्त बुझ्दो देखिएन । एक निजि टेलिभिजनसँगको कुराकानीमा उनले भनेका छन्,‘अप्रिल १५ सम्मको लागि स्थगित गर्दा बीसीसीआई जुन ठाउँमा थियो अहिले पनि त्यही अवस्थामा छ । कुनै ठोस निर्णय लिईहाल्ने अवस्थामा छैन । अवस्था हेर्दा त केही ठिक देखिदैन तर यकिनको साथ यही नै गर्ने वाला छौ भन्ने म सँग अहिलेलाई कुनै जवाफ छैन ।’
तर फ्रेन्चाईजका मालिकहरु भने आईपीएल सार्नुको विकलप नरहेको बताउँछन् ।
यथार्थ त के हो भने भारत लगायत अन्य राष्ट्रहरुले पनि लकडाउनको घोषणा गरिसक्यो र विश्व स्वास्थ्य संगठनले हरेक दिन प्रत्यक्ष प्रसारण आयोजना गर्दै स्थिती भयावह बन्दै गईरहेको भनेको छ । १८० राष्ट्रहरुमा संक्रमण देखापरेकोले यसले अझै गति समात्ने बताउँदै आएको छ ।
आईपीएलको मुख्य आकर्षण भनेकै विश्वका चर्चित क्रिकेट खेलाडीहरुको जमघट हो । र अहिलेको अवस्थामा कुनैपनि विदेशी खेलाडीहरु भारत भ्रमण नगर्ने निश्चित छ । सम्भवत बीसीसीआई आईपीएल लागत र त्यसको असरलाइ कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा अन्यौलमा परेको हुनपर्छ । यसकै फलस्वरुप बीसीसीआईले आईपीएल स्थगन गर्दा कहिले सम्म गर्ने दुविधामा परेको हुनुपर्छ ।
विश्वब्यापी कोरोनाको प्रभाव र यसले पारेको प्रभाव हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ कि बीसीसीआई चाँडैनै आईपीएल स्थगन गर्न बाध्य हुनेछ ।
यसबाहेक यसै वर्ष अष्ट्रेलियामा हुने आईसिसिको वल्र्ड टि ट्वेन्टीको विषयमा पनि अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी )ले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । दुबाईस्थित आईसीसीकोको मुख्यालय अहिले कोरोनाका कारण बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :