आमाका लागि सानो झुपडी बनाउने स्वर्ण विजेता पुनमको ईच्छा

लक्ष्मी शाक्य

काठमाण्डौ । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत जुडोबाट नेपालका लागी स्वर्ण पदक दिलाएकी राष्ट्रिय महिला जुडो खेलाडी हुन्, पुनम श्रेष्ठ । काठमाण्डौस्थित लगनखेलमा भएको ७८ केजी तौल समूह मुनिको खेलमा पुनमले बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएकी थिईन् ।

त्यस्तै भारतको गुवाहटी र सिलोङ्गमा भएको १२ औँ सागमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ कांस्य प्राप्त गरेकोमा १ कास्ंय पुनमको नाममा थियो ।
चितवनको भरतपुरमा जन्मिएकी पुनमले पहिले जुडोलाई गम्भिर रुपमा लिएकै थिइनन् । तर जब काठमाण्डौ बस्न थालिन त्यसपछि जुडोको चाख बढ्यो । उनी साथीहरुसँग रंगशाला जान थालिन् । सुरुका दिनहरुमा सबै खेल सिक्थीन् ।

‘खेल्दै जादाँ जुडोप्रति मेरो रुची बढ्दै गयो, उनले सुनाईन्,’ ‘पछि मलाई जुडोको नशा नै चढ्यो ।’

मेरो खेल डटकमको लकडाउन विशेष फेसबुक लाईभमा बोल्दै पुनमले भनिन्, ‘सान्माय परिवारमा जन्मिएकी म, खेल्न एकदमै गाह्रो थियो ।’

उनी सानै छँदा बुबाको परलोक भयो । आमाले खेल्न जान त्यतिधेरै अवसर दिन्नथिन् । तर पनि लुकी लुकी खेल सिक्न गएको उनको अनुभव छ । स्वभावले उनी जिद्दी थिइन् । त्यही स्वभाव अहिले उनका लागि बरदान सावित भएको छ ।

उनी भन्छिन्, ‘सायद मेरो त्यहि जिद्दी स्वभावकै देन हो जस्तो लाग्छ अहिले मलाई १३ औँ सागमा स्वर्ण जित्ने अवसर मिल्यो ।’

पुनमको लागी जुडो खेल्नु रहरको कुरा थियो । सुरुका दिनमा जुडो खेल्ने सामाग्रि देखी ड्रेस समेत साथीहरुकै मागेर खेलेका दिन ताजै छन् । उनको मानसपटलमा अझै पनि याद ताजै छ, त्यो संघर्ष र रहरले खेदाएर जुडोको लागि दिएको समय । त्यही समयले उनलाई जुडोमा अब्बल बनायो ।
८–वर्षको निरन्तर संघर्ष र मिहिनेतपछि पुनमले १३ औँ सागमा स्वर्ण जितेकी हुन् । पुनमको अबको सपना भनेको ओलम्पिक खेल्ने छ ।

‘सकेसम्म २०२० ओलम्पिक खेल्छु, सकिन भने त्यसपछिको ओलम्पिक मिहिनत गरेर भएपनि खेलेरै छोड्नेछु’,पुनमले भनिन्,‘अब ओलम्पिककै तयारीमा जुटेको छु, त्यसका लागी जस्तो सुकै कठिन अभ्यास गर्न पनि म तयार छु ।’

पुनमलाई यहाँ सम्म आईपुग्नको लागी एउटा बाबुको भूमिका निभाए, उनका गुरु चन्द्र कुमार डङ्गोलले । तीनै गुरु डङ्गोलकै कारण पुनमलाई कहिल्यै बुबाको कमी महसुस भएन ।

‘बुबाको माया कस्तो हुन्छ त्यो मैले महसुस नै गर्न नपाई बाबाले हामीलाई छाडेर जानुभयो, मेरो गुरु भनेपनि बुबा भने पनि मेरो गुरु चन्द्र कुमार नै हुनुहुन्छ । ’ पुनमले लाईभमा भनिन् ।

नेपाल आर्मीबाट घरेलु तथा अन्तराष्ट्रिय जुडो प्रतियोगिताहरुमा सहभागीता जनाउँदै आएकी पुनमले नेपाल आर्मीबाट खेल्न सुरु गर्दा उनी १३ वर्षको थिइन् । सानै उमेरमा पनि विश्वास गरी खेलको लागी अवसर दिएकोमा उनी सबै प्रति अभार छन् ।

सागमा स्वर्ण जित्दाको पललाई कसरी सम्झनुहुन्छ भन्ने एक समर्थकको प्रश्नमा पुनमले भनिन्, ‘त्यो पल मेरो सपना पुरा भएको थियो, त्यो पल मैले आठ वर्षको संघर्षलाई सम्झिए, अभ्यासकै कारण धेरै समय भैसकेको थियो आमासँग भेट नभएको, सबैभन्दा धेरै आमालाई सम्झिए ।’

मैले जितेको स्वर्ण सर्वप्रथम मेरो आमा अनि मलाई हरपल साथ दिनुहुने मेरो गुरु र सम्पूर्ण समर्थकलाई समपर्ण गर्छु ।’ पुनमले भनिन् ।
पुनमले १३ औँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण जिते बापत सरकार बाट ९ लाख पाएकीछन् । यो पुरस्कार रकम उनका लागि सबैभन्दा महत्वपर्ण छ । किनकी उनी यो रकम घर बनाउन खर्चने योजनामा छन् ।

स्वर्ण पदक दिलाए वापत पुनमले ९ लाख रुपैँया पाएकी छिन् ।

‘मेरो घर छैन, अहिले मेरो परिवार भाडामा बस्दै आएको छ, मेरो सानैदेखी एउटा सपना थियो घर बनाउने, यो रकमले पुरै घर त बन्दैन तर पनि सानो झुपडी बनाउने योजनामा छु । मेरो आमाले मलाई यहाँ सम्म ल्याउन धेरै संघर्ष गर्नुभएको छ । योे रकममा सरासर उहाँको हक लाग्छ । यो पैसा आमाको हो । जस्तो हुन्छ घर बनाउने सोचँमा छु ।’ पुनमले भनिन् ।

१२ औँ सागमा घाईते भएर स्वर्णको सट्टा सिल्भर मेडलमै चित्त बुझाउनु पर्दाको पल उनको खेल जीवनको सबैभन्दा दुखदायी क्षण हो । ‘त्यो हार मलाई निकै नमिठो लागेको थियो, त्यही हारले मलाई १३ औँ सागमा स्वर्ण जित्न साहस मिल्यो’, पुमले भनिन् ।

🔴LIVE – PUNAM SHRESTHA (NATIONAL PLAYER, JUDO ) मेरोखेल डटकमको लकडाउन विशेष फेसबुक लाईभको पन्ध्रौ दिनको पहिलो सत्रमा अहिले राष्ट्रिय जुडो खेलाडी पुनम श्रेष्ठको उपस्थिती छ । यो फेसबुक लाईभ सत्र तपाई मेरोखेल डटकमको आधिकरिक पेजमा हेर्दै हुनुहुन्छ । तपाई पनि फेसबुक लाईभमा आफ्नो प्रश्न,जिज्ञासा तथा सल्लाह सुझाव अनुशासन सहितको सहभागिता जनाउन सक्नुहुनेछ ।

Posted by Merokhel.com on Tuesday, April 21, 2020