जगत र रोस्माले जिते शंखडोल खुल्ला अनलाइन काँता प्रतियोगिता

काठमाण्डौ । प्रथम शंखडोल खुल्ला अनलाइन काता प्रतियोगिताको पुरुषतर्फ जगतसिंह धानुक र महिलातर्फ रोश्मा राई प्रथम भएका छन् ।

गोकर्णेश्वर नगरपालिकास्थित शंखडोल डोजोको आयोजनामा भएको प्रथम शंखडोल खुल्ला अनलाइन काता प्रतियोगिताको पुरुषतर्फ धनगढीका जगतसिंह धानुकले २१ जनालाई पछि पार्दे प्रथम स्थान हासिल गरे । धनगढी डोजोका धानुकले कुल २४.५ अंक ल्याएर प्रथम भएका हुन् । यस्तै पुरुषतर्फ बालाजु डो एकेडेमीका धिरेस श्रेष्ठ दोश्रो तथा नरहरी डोजोका स्वर्णिम मानन्धर तेश्रो भए ।

प्रतियोगिताको महिलातर्फ खोटाङ्गकी रोस्मा राईले २४.५ अंक ल्याएर प्रथम भईन् । महिलातर्फ भनगढी कराँते एकेडेमीकी वर्ष राउत दोश्रो तथा एपीएफकी सरिता श्रेष्ठ तेश्रो भईन् । यस विधामा कुल ११ महिला खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उदियमान खेलाडीको उपाधि लैनचौर डोजोका रेहान जावेद बने भने सुर्खेतका ५२ वर्षका खलाडी प्रदिप राईलाई मच्योर खेलाडी उपाधि दिईएको छ ।

प्रतियोगितामा दुबै विधामा प्रथम हुने खेलाडीले जनही १२ हजार पाँच सय प्राप्त गरे भने दोश्रो हुनेले ६ हजार पाँच सय र तेश्रो हुनेले ४ हजार रुपैयाँ जनही प्राप्त गरेका छन् ।

कोरोना भाइरसका कारण कराँतेको गतिविधि हुन नसकिरहेको अवस्थामा शंखडोल डोजोले भर्चअल अनलाईन प्रतियोगिताको आयोजना गरेको हो । आयोजकले देशब्यापी रुपमा रहेको कराँते खेलाडीहरुलाई आफैले भिडियो बनाएर फेसबुकमा पोस्ट गर्न आग्रह गरेको थियो ।

सहभागि खेलाडीहरुले जेठ १ गते बेलुकी ५ बजेभित्र आयोजकले तोकेको समयमा भिडियो पोस्ट गरेका थिए ।

प्रतियोगितामा १३औं दक्षिण एशियाली खेलकुदमा करातेतर्फ दोहोरो स्वर्ण जित्न सफल खेलाडी मण्डेकाजी श्रेष्ठले निर्णयकको भुमिका निर्वाह गरेका थिए । उनले नै खेलाडीहरुले अनलाईन मार्फत पठाएका काताँको मुल्यांकन गरेका हुन् ।

प्रतियोगिताका विजेतालाई प्रदान गरिएको पुरस्कार राशिका लागि नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।