मिक्सड मार्शल आर्टस् खेलाडी कोनोर म्याकग्रेगरको तेश्रोपटक सन्यास

एजेन्सी । आयरल्याण्डका मिक्सड मार्शल आर्टस् खेलाडी कोनोर म्याकग्रेगरले पुनः सन्यासको घोषणा गरेका छन् । चार बर्षमा म्याकग्रेगरले यो तेस्रो पटक संन्यासको घोषणा गरेका हुन् ।

उनले ट्वीटरमा आफ्नो र आमा को तस्बिर राख्दै भने,‘मैले मिक्सड मार्शल आर्टस्बाट अवकाश लिने निर्णय गरेको छु । सबैलाई अद्भुत समर्थन र सम्झनाका लागि धन्यवाद । यो मेरो लस भेगासमा मेरी आमाको साथ वल्र्ड टाईटल जित्दाको तस्वीर हो । म तपाईं सबैलाई माया गर्छु । तपाईहरु सबैको ईच्छा पुरा होस् ।

म्याकग्रेगर लोकप्रिय मिश्रित मार्शल आर्ट खेलाडी हुन् र दुई पटक युएफसीको विभिन्न तौल समूहमा विश्व च्याम्पियन भईसकेका छन् ।

युएफसी स्टार म्याकग्रेगरले गत वर्ष मार्चमा पनि एमएमएबाट अवकाशको घोषणा गरेका थिए ।

यद्यपि यस वर्षको सुरूमा उनले आफ्नो सेवा निवृत्तिको निर्णय उल्टाएका म्याकग्रेगर जनवरीमा रिङ्गमा फर्किएका थिए । उक्त खेलमा उनले अमेरिकी खेलाडी डोनाल्ड सेरोनलाई लस भेगासमा केवल ४० सेकेन्डमा नकआउट गरेका थिए ।