जग्गा बिबादमा अल्झिएको ‘ड्रिम फाप्ला’

सुवास रोकाया

काठमाण्डौ । ‘डीपीएलको तेस्रो संस्करण फाप्लामा आयोजना गर्छौँ’ आयोजक तथा सुदुर पश्चिम क्रिकेट एकेडेमिका सञ्चालक सुबास साहिले काठमाण्डौं आएर घोषणा गरेका थिए । प्रतियोगिताका लागि केही महिनाको समय मात्र बाँकी रहँदा कसरी फप्ला निर्माण होला त ? धेरैको सङ्का समेत थियो, तर एक साता अघिनै मैदान लगभग तयार भयो ।

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट आयोजनाका लागि ३ महिना आसपासको समय बाँकी थियो । आयोजकले सँधै प्रतियोगिता आयोजना हुने एसएसबीको खेल मैदान उपलव्ध नहुने भएपछि फप्लामा प्रतियोगिता गराउने बताएका थिए । सोही अनुसार तयारी सुरु भएको थियो । लगातारको मिहेनत र प्रतियोगिता आयोजनाको चटारोले २ महिनामा मैदान खेल्न योग्य बनेको थियो । यति मात्र कारणले फप्ला ‘क्रिकेट खेल्न योग्य’ भएको थिएन, धनगढीका आयोजक र क्रिकेट प्रेमी युवाहरुको ठुलो सहयोग, त्याग र क्रिकेट प्रतिको मायाँले पनि मैदानलाई तन्दुरुस्त बनाएको थियो ।

दुई महिना लगातार काम भएपछि फप्लामा तीन पीच निर्माण भएका थिए भने भने मैदानमा दुबो तथा घाँस रोपेर सजाउने काम पनि भएको थियो । डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीले नेपालीसहित भारतबाट समेत क्युरेटर बोलाएर मैदान निर्माणलाई पूर्णता दिएको थियो । करिब २५ लाख खर्च भएको थियो ।

प्रतियोगिता सुरुहुनु केही दिन अघिसम्म सहयोगीहरु दुबो बिछ्याउँदै थिए । खेलाडी, प्रशिक्षक, अम्पायर, पत्रकार सबै मैदानको निरिक्षणमा गएर आश्चार्य मान्थे भने आयोजक बाँकी तयारीमा व्यस्त हुन्थ्यो । सुवास शाही, प्रकाश खड्का, हर्क बोहेरा लगायत हरेक दिन मैदानको निरिक्षण मात्र गर्दैनथे मैदानको तयारीमा आबस्यक धेरै काममा आफैं खटिन्थे ।

पेभिलियन र अम्पायरहरु राखिएको तिर दुबो केही कम थियो । ‘यता किन दुबो कम छ ?’ भन्ने केही आगन्तुकको जिज्ञासा मेटाउँदै उनीहरु भन्थे, ‘यो खोलाले बालुवा थुपारेको ठाउँ हो, यहाँ दुबो उम्रन मान्दैन, काममा खटिएका स्वयमंसेवकले एमदमै मिहेनत गरेकाले यक्तिको भएको हो ।’

मैदान तेस्रो संस्करणको डीपीएल आयोजनाका लागि मन लोभ्याउने बनेको थियो । ‘दुख गरेर बनाईन्छ, तर संरक्षण हुन पाउँदैन । गाईबस्तु चरिदिन्छन्, पानी परेपछि खाल्डाखुल्डीमा पानी जम्छ । संरक्षण कठिन छ’, बेलाबेला आयोजकहरु गुनसो गर्थे ।

‘यो बर्ष यतिमात्र सकियो, अर्को बर्ष अझै स्तरीय बनाउँछौँ’, १ बर्ष अघि हरेक दिन मैदानको निरिक्षण पछि आयोजक तथा सुदुर पश्चिम क्रिकेट एकेडेमिका सञ्चालक सुबास शाही भन्थे, ‘प्रदेश सरकारदेखि केन्द्रिय सरकार सम्म सकारात्मक छन् ।’

बेलाबेला उप–महानगरपालीकाले पनि रकम दिने तयारी गरेको उनी सुनाउँथे । यही आशामा बर्ष दिन बितिसक्यो, तर फप्ला जस्ताको तस्तै छ । जग्गा बिबादले स्तरोन्नतीको काम अघि बढ्न सकेको छैन ।

सुदुर पश्चिम प्रदेश नेपाली क्रिकेटको उर्वर भुमी हो । धेरै प्रतिभावान खेलाडी सुदुर पश्चिमको प्रतिनिधित्व गर्छन् । अन्य प्रदेशको तुलनामा नेपालको राष्ट्रिय क्रिकेट टिममा सुदुर पश्चिमका खेलाडीको बाहुल्यता देखिन्छ । बिडम्बना, सुदुर पश्चिमको क्रिकेट विकासमा सम्बन्धीत पक्षको पर्याप्त ध्यान जाँदैन । सर्यौँ खेलाडीले प्रतिनिधित्व गर्ने भए पनि सुदुर पश्चिममा गतिला भौतिक पूर्वाधार छैनन् अर्थात खेल पुर्वाधारका दृष्टीकोणमा निकै पछि छ ।

‘ड्रिम फाप्ला’ क्रिकेटको उर्वर भुमी सुदुर पश्चिमको महत्वाकांक्षी योजना हो । प्रदेश गौरबको आयोजनाका रुपमा परिचित भए पनि प्रदेशको राजधानी तथा क्रिकेटको सहर धनगढीमा रहेको यो मैदानको स्तरोन्नतीको कार्यले प्राथमिक्ता पाउन सकेको छैन ।

धनगढीको परिचय जसरी क्रिकेट र अन्य खेलसँग जोडिन्छ त्यसैगरी फप्लाको नामसँग पनि धनगढीको साईनो छ । नेपालकै पहिलो फ्रेन्चाईज क्रिकेट प्रतियोगिता डीपीएलको पछिल्लो संस्करण फप्लामा भएको थियो । आयोजकले प्रतियोगिता अघि नियमीत मर्मत गरेर प्रतियोगितालाई खेल्न योग्य बनाएको थियो । यसको मुख्य कारण भनेको आगामी दिनमा मैदान निर्माणको कामलाई सहयोग पुगोस् भन्ने नै थियो ।

पहिलो पटक फप्लामा क्रिकेट भए पछि स्थानीयहरु दंग थिए । सरकारी निकायका व्यक्तिहरु र सम्बन्धीत पक्षले डीपीएलको मौकामा मैदान निर्माणमा सघाउने वचन पनि दिएका थिए । फाप्लाका योजनाकार शाहीलाई प्रकृया यति झन्जटिलो होला र जग्गा बिबाद आउला जस्तो पटक्कै लागेको थिएन ।

‘हाम्रो ड्रिम फाप्ला केही ढिला भएको मात्र हो, हामीले वास्ता नगरेका हैनौँ’, शाहीले भने, ‘यसले निरन्तरता पाउने छ तर त्यो भन्दा अघि जग्गाको बिबाद मिल्न जरुरी छ । संसदिय समितिले जग्गा पास गर्दिनासाथ योजना पुनः सुरुहुने छ ।’

‘फाप्लाको काम भने जस्तो अघि बढ्न मैदान रहेको जग्गा प्रदेश सरकारको नाममा पास गर्न आबस्यक छ । केन्द्रिय सरकारले प्रदेशलाई जग्गा हस्तानान्तरण गर्नासाथ काम सुरुहुन्छ’, शाहीले भने ।

सरकारी प्रकृया केही ढिला हुने भएको कारण समय लागेको उनले बताए । अब झण्डै २ मिहिना जग्गाको बिबाद मिल्न समय लाग्न सक्ने उनको बुझाई छ ।

‘प्रदेश सरकारले मैदान निर्माणका लागि हरेक बर्ष रकम छुट्याउँदै आएको छ’, शाहीले भने, ‘जग्गाको बिबादकाक कारण रकम फ्रिज हुन्छ । रकम बिनियोजन भए पनि जग्गाको बिबाद मिलेको छैन ।’

अघिल्लो आर्थिक बर्षमा मैदान निर्माणका लागि करोडौँ रकम बिनियोजन भएको थियो, तर जग्गाको बिबाद नमिल्दा रकम फ्रिज भयो । फाप्लाको जग्गा अहिले पास गर्नकालागि संसदीय समिति लागि परेको छ ।

जग्गाको स्वामित्व बिबादकै कारण आर्थिक बर्ष २०७५÷७६ मा मात्र केन्द्र र प्रदेश सरकारले बिनियोजन गरेको २१ करोड फ्रिज भएको थियो ।