इटहरी रंगशाला: साकार हुँदै पूर्वको सपना

रेवन दहाल

आज भोलि इटहरी रंगशाला बेग्लै देखिन्छ । रेडीमेड प्यारापिट जडान हुँदैछ, कम्पाउण्ड घेराबाराको काम पनि जारी छ । भिआईपी सहित अगाडीको भागमा प्यारापिट जडानको काम सकिएको छ । चेन्जिङ्ग रुम, टोइलेट– बाथरुम,मीटीङ्ग हल र आवश्यक अन्य कोठा निर्माणको काम जारी छ । रंगशाला हाताभित्र एकदर्जन खेलका लागि आवश्यक हल निर्माण सम्पन्न भएको छ ।

देश कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण लकडाउनमा रहँदा पनि रंगशाला पुनर्निर्माणको काम भने चलिरहेको छ । आधुनिक किसिमको रंगशाला निर्माणमा एकजुट भएको इटहरीले चाँडै नै फेरिएको स्वरुपमा रंगशाला पाउनेछ ।

जिल्ला खेलकुद विकास समिति सुनसरी, जिल्ला फुटबल संघ र अहोरात्र रंगशाला निर्माणमा खटिनेहरुले गएको फागुनको अन्तिम सातासम्ममा रंगशालालाई नयाँ स्वरुप दिने योजना बनाएका थिए । चैत महिनामा हुने इटहरी गोल्डकप अघि नै मैदान निर्माणको काम सक्ने तयारी थियो, तर कोरोना महामारीका कारण न गोल्डकप भयो, न भनेको समयमा रंगशाला निर्माण सम्पन्न हुन सक्यो । लकडाउन र कोरोना करहरकाबीच पनि कामदारले सुविस्ताले काम गर्ने मौका भने पाए , जसको फलस्वरुप रंगशाला निर्माणको योजनाले अन्तिम रुप पाएको छ ।

‘निर्माणाधिन रहेका हल, प्यारापिट, लगायतको निर्माण कार्य लगभग सकियो’, जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष अनुरोध थापाले भने, ‘नमुना रंगशालाको सपना साकार हुने क्रममा छ ।’

इटहरी रंगशालाभित्र अहिले प्यारापिट सहित महिला र पुरुषका लागि अलग अलग भलिवल कोर्ट, मार्सल आर्ट र अन्य खेलका लागि प्रयोग गर्न सकिने अन्तराष्ट्रिय मापदण्डसहितका हल निर्माण हुँदैछन् । यस्तै ५ वटा ब्याडमिन्टन कोर्ट, कराते हल, उसु हल, एथ्लेटिक्स ट्य्राक, जेष्ठ नागरीक खेलकुद भवन, इण्डोर क्रिकेट ट्रेनिङ्ग हल, टेबल टेनिस हल, आर्चरी ट्रेनिङ्गस्थल पनि रंगशाला परिसरमा बनेका छन् ।

‘आर्चरीका लागि आवश्यक हल बाहेक अरु सबै निर्माण पुरा भएका छन्’, थापाले भने, ‘आर्चरीको पनि ढलान मात्र बाँकी छ । हामी रंगशालाको बाँकी निर्माण कार्य तत्काल गर्नेछौँ । केही कठिन र ठुला निर्माणका लागि प्रदेश सरकारसँग सहकार्य गर्नेछौँ ।’

रंगशाला हातामा बन्न लागेको भलिबल कोर्टमा २हजार ५सय दर्शक क्षमता हुनेछ । यस्तै १ हजार २ सय दर्शक क्षमताको नेपालकै ठुला ५ वटा ब्याडमिन्टन कोर्ट निर्माण हुने खेलकुद विकास समितिले जनाएको छ । भलिबल खेलका लागि कभर्डहलको निर्माण सकिएको छ । जिल्ला फुटबल संघका कोषाध्यक्ष कोविड जंग कार्कीका अनुसार रंग रोगन र सरसजावटको काम मात्र बाँकी हो । फुटबल मैदान तर्फ भने वाथरुम लगायतका बिभिन्न आवश्यक कोठाहरुको निर्माण हुँदैछ ।

‘इटहरी रंगशाला प्रदेश कै स्पोर्टस् कम्प्लेसको रुपमा स्थापित भएको छ,’ जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष केशव कार्कीले भने, ‘अब दुईदेखि तीन महिनामा रंगशालाको प्यारापिट र अन्य आवस्यक पूर्वाधार निर्माण गर्नेछौँ ।’

जिल्ला खेलकुद र जिल्ला फुटबल संघको समन्वयमा इटहरीमा रहेको क्षेत्रीय रंशालाको बिस्तारको काम अघि बढेको थियो । अघिल्लो बर्षबाट सुरुभएको बिस्तार तथा पुननिर्माणको कामले अब पूर्णता पाउन लागेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले रंगशाला निर्माणका लागि २२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।

“मैदान अघिको प्यारापिट निर्माणको काम सम्पन्न भयो । भीआईपी प्यारापिटमा छानो हाल्ने काम पनि सकियो । ८० प्रतिशत भन्दा धेरै काम सकिएको छ । छिटै रंगशाला बिस्तारको कामले पूर्णता पाउनेछ ।” अध्यक्ष कार्कीले भने ।

रंगशालामा आधुनिक प्यारापिट, भीआईपी प्यारापिट, चेन्जिङ्ग रुम र शौचालय निर्माण हुनेछ । रंगशालाको केही भागमा सिमेन्ट प्लास्टर गरेर बनाईएको प्यारापिट भने जस्ताको तस्तै रहनेछ । बाँकि भागमा प्यारापिट राख्ने योजना अनुसार काम भइरहेको छ ।

२०७६ साल बैशाखमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का तत्कालीन सदस्य सचिव केशव कुमार बिष्टले शिलान्यास गरेपछि रंगशाला बिस्तारको कामले प्राथमिक्ता पाएको थियो, तर अघिल्लो वर्षको मंसिर–पुषबाट मात्र रंगशाला पुननिर्माणको कामले तिब्रता पायो ।

‘निर्माणको समय केही ढिला भएकै हो’, बिष्टले भने, ‘केही समस्याका कारण ढिला भए पनि निर्माण सम्पन्न भएपछि यो रंगशाला नेपालकै नमुना बन्ने छ । यहाँ १५ खेलको एकैपटक प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सकिनेछ ।’

‘अलग–अलग पार्ट रहने गरी यसको पुननिर्माणको काम ४ बर्ष अघिदेखिनै सुरुभएको हो । अन्य धेरै सुधारका काम भइरहेका थिए, भीआईपी तर्फको प्यापिट सहितका काम र यसलाई नमुना बनाउने काम चाहिँ अघिल्लो बर्षदेखि भएको हो।’ अब बन्ने क्षेत्रिय रंगशाला नेपालकै आकर्षक रंगशाला बन्ने दावी गर्दै बिष्टले सुनाए ।

“रंगशालामा अलग–अलग पार्ट छ । प्यारापिटको अलग डिजाईन हो भने छानोको अलग डिजाईन हो । प्यागोडा शैलीको छानो विल्कुल नयाँ किसिमको हुनेछ । यसको आयु ३० बर्ष बढी हुन्छ । छानो फेर्न समेत मिल्छ । आठौँ राष्ट्रिय खेलकुदको समयमा नेपालगञ्जमा बनाएको भन्दा केही फरक र राम्रो रंगशाला हो । यस्तै अन्य खेलकालागि आबस्यक हलहरुको निर्माण पनि राखेपले प्राथमिक्तामा राखेको थियो ।” बिष्टले भने ।

२२ करोडको टेन्डरमा मलेसियन कम्पिनीले नेपालको जोइन्टभेन्चरमा रंगशाला बिस्तारको जिम्मा लिएको थियो । राखेपले तत्कालिन समयमा नेपालगञ्ज, दाङ, काठमाण्डौ, पोखरा र इटहरीमा एकैपटक आर्टिफिसियल प्यारापिट सहित रंगशला बिस्तारको योजना बनाएको थियो । अन्य क्षेत्रमा राष्ट्रिय खेलकुदको मौकामा काम सम्पन्न भए पनि इटहरीमा भने अझै काम पुरा हुन केही महिना लाग्ने छ ।

नयाँ प्यारापिट निर्माणसंगै रंगशालाको दर्शक क्षमता ८ हजार भन्दा धेरै हुनेछ । अहिले ५ हजार दर्शक क्षमताको क्षेत्रिय रंगशालामा नयाँ प्यापिट जडानपछि ३५ सय देखि ४ हजार दर्शक क्षमता बढ्नेछ ।

‘निर्माण सम्पन्न भएपछि इटहरी रंगशालाभित्र आउटडोर र इन्डोरका एक दर्जन बढी प्रतियोगिता एकैपटक आयोजना गर्न सकिने छ’, केशव बिष्टले भने, ‘रंगशालाले नयाँ स्वरुप पाएपछि इटहरी रंगशालालाई प्रदेशकै मुख्य रंगशालाको रुपमा चिनाउने स्थानीयको सपना साकार हुनेछ ।’

जिल्ला खेलकुद विकास समितिका अनुसार रंगशालामा बिभिन्न खेलकुदका लागि आबस्यक हलको निर्माण सम्पन्न भएको छ । फुटबल मैदानका लागि आबस्यक प्यारपिट हाल्नेकाम पनि अब सकियो । पहिलो चरणमा रंगशालाको अगाडी भागमा प्यारापिट राखिएको छ ।

अध्यक्ष अनुरोध थापा भन्छन्, ‘फ्लड लाईट र बाँकी कामका लागि प्रदेश सरकारसँग सहकार्य गरेर अघिबढ्ने छौँ ।’

क्षेत्रिय रंगशाला घोषणा भएको इटहरी रंगशालामा हाल प्रदेश सरकारले दिएको १ करोड रकमबाट तारबार लगाउने काम हुँदैछ ।

फोटोः मिलन विछोड