उपाधी जितेको खुसीमा लिभरपुल समर्थक एन्फिल्ड पुगे

एजेन्सी । सात खेल अगाबै लिभरपुलले प्रिमियर लिग फुटबलको उपाधी उचाले पछि समर्थकहरुले खुसीयाली मनाएका छन् । लिभरपुलले उपाधी जितेको खुसीमा समर्थकहरु घरेलु मैदान एन्फिल्ड बाहिर जम्मा भएको खबर छ ।

गएराती प्रिमियर लिग अन्तर्गत दोस्रो स्थानको म्यानचेस्टर सिटी चौथो स्थानको चेल्सीसँग २–१ ले पराजित भएपछि लिभरपुलले सात खेल अघिनै उपाधी जितेको थियो । लिभरपुलका लागि यो ३० वर्ष पछिको ऐतिहासिक उपाधी थियो । त्यस लगत्तै समर्थकहरु एन्फिल्डको अगाडी रहेको कोप स्ट्याण्डमा भेला भएका थिए ।

चेल्सीले सिटीविरुद्ध ७८ औँ मिनेटमा दोस्रो गोल गरेलगत्तै लिभरपुल समर्थकहरु जम्मा हुन सुरुगरेका थिए । त्यसको आधा घण्टाभित्र कोप स्ट्याण्डमा २ हजार बढी समर्थकहरुले खुसीयाली मनाएको बीबीसीले उल्लेख गरेको छ ।

समर्थकहरुले लिभरपुलको गीत ‘यु विल नेभर वाक अलोन’ गाएका थिए ।

लिभरपुलले लागि १९८९–९० को सिजन पछि प्रिमियर लिगको उपाधी जितेको हो । त्यो खुसीमा भेला भएका समर्थकलाई सुरक्षा कर्मीले पनि नरोकेको जनाएको छ ।

‘धेरै मान्छे भेला भए पनि सबैले सभ्य तरिकाले सेलिब्रेसन गरे, माहौल सुरक्षित देखिन्थ्यो’, सुरक्षा अधिकारी रव कार्डेनले भने, ‘लामो समय पछिको उपाधिको खुसी मनाउन आएका सभ्य समर्थकलाई रोकन जरुरी भएन ।’

समर्थकहरुले झण्डै एक घण्टा नाचगान र अतिसबाजी गरेको सुरक्षाकर्मीहरुले बताएका छन् ।

७ खेल अगाबै पक्का गरे पनि लिभरपुलले २६ जुलाईमा मात्र उपाधी उचाल्ने छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी पछि पुन सुरुभएको लिगको आफ्नो अन्तिम खेललमा अर्को महिना लिभरपुल र न्यूक्यासल भिड्नेछन् ।

लिभरपुलले न्यूक्यासलको घरेलु मैदान सेन्टजेम्स पार्कमा समाजिक दुरी कायम राखेर उपाधी उचाल्नेछ ।