एफए कपः आर्सनललाई सेफिल्डको चुनौती

एजेन्सी । इङ्गलिस एफए कप फुटबलमा आईतबार क्वाटरफाइनलका खेल हुँदैछन् । एफए कप अन्तर्गत बाँकी रहेका तीन क्वाटरफाइन खेल एकैदिन हुन लागेको हो । आईतबार सेफिल्ड युनाईटेड र आर्सनल, चेल्सी र लेस्टर सिटी तथा म्यान्चेस्टर सिटी र न्युक्यासलबीच खेल हुनेछ ।

दिनको पहिलो खेलमा सेफिल्डले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ । नेपाली समय अनुसार साँझ ५ः४५ मा सुरुहुने खेलमा आर्सनललाई बलियो टोलीको रुपमा हेरिएको छ तर पछिल्लो समयको आर्सनलको खस्कँदो प्रदर्शनको फाइदा सेफिल्डले उठाउन सक्छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामाकाबीच फुटबल सु्रुभएपछि आर्सनलले स्वभाविक खेल देखाउन सकेको छैन । आर्सनलले सुरुवाती (प्रिमियर लिगका) २ खेलमा समेत पराजय भोगेको थियो ।

आर्सनलविरुद्ध सेफिल्डले यो सिजन २ खेल खेलेकोमा एकमा जित र एक बराबरी खेलेको छ । त्यसैले पनि सेफिल्डका खेलाडीहरु घरेलु मैदानमा उच्च मनोबलका साथ उत्रने पक्का छ ।

यता एफए कपको दावेदार आर्सनल भने खेल जित्दै सेमिफाइनलमा स्थान बनाउन चाहान्छ । प्रिमियर लिगमा उत्कृष्ट चार र उत्कृष्ट ६ को होडबाट निकै टाढा रहेको आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई एफएकपको उपाधिले केही राहत दिन सक्ने भएकाले पनि खेल महत्वपूर्ण हुनेछ । विदेशी समाचार माद्यमका अनुसार आर्सनल व्यवस्थापनले अर्टेटालाई क्लबको खस्कँदो प्रदर्शनपछि निकै दबाबमा राखेका छन् । दबाबकै कारणले पनि उनले खेलमा आफ्नो उत्कृष्ट ११ मैदान उतार्ने पक्का छ ।

एफए कपमा यसअघि म्यान्चेस्टर युनाईटेड सेमिफाइनलमा प्रवेश गरिसकेको छ । शनिबार राती भएको खेलमा युनाईटेडले नर्विच सिटीसँग २–१ को रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।