लेस्टर र चेल्सी खेल्दै, सिटीलाई न्यूक्यासलको चुनौती

एजेन्सी । इङ्गलिस एफए कप फुटबल अन्तर्गत आईतबार चेल्सी र लेस्टर सिटी खेल्दैछन् । तेस्रो क्वाटरफाइनल खेलमा लेस्टरले घरेलु मैदानमा चेल्सीको सामना गर्न लागेको हो । यो सिजन एफए कपको निकै प्रभावशाली र दुई उस्तै टोलीबीचको प्रतिस्पर्धामा कुनै एकको अनुमान लगाउन मुस्किल भए पनि खेल रोचक हुने अनुमान गरिएको छ । यो सिजन प्रिमियर लिगमा पनि तेस्रो र चौथो स्थानमा रहेका दुबै टोलीको प्रदर्शन लगभग उस्तै छ ।

लेस्टर घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेशका लागि आतुर रहनेछ । प्रशिक्षक ब्रेन्डन रोडसले खेलमा जित निकाल्न आफ्ना खेलाडीहरु सक्षम रहने विश्वास व्यक्त गरेका छन् ।

‘कुनै नयाँ र फरक रणनीति भन्ने हुँदैन । हामीलाई जित चाहिएको छ । हाम्रो लक्ष उपाधि हो त्यसैले हामी क्वाटरफाइनलमा चुक्नु हुँदैन’, रोड्सले भनेका छन् ।

लेस्टरका लागि खेलमा रिकार्डो परेराको अनुपस्थिती टाउको दुखाई बन्न सक्छ । चोटका कारण उनी पछिल्ला केही खेलमा टिममा उपलब्ध छैनन् । यस्तै डिफेन्डर डयानिएल अमार्टे पनि चोटका कारण अनुपस्थित हुनेछन् ।

यता प्रिमियर लिगका पछिल्ला खेलमा ससक्त प्रदर्शन गरेको चेल्सीले एफए कपमा पनि स्वभाविक लयलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । चेल्सी एफए कपको उपाधि जित्ने अभियानमा छ किनभने प्रशिक्षक फ्रांक लाम्पार्डले टिमलाई पहिलो उपाधि दिने योजना बनाएका छन् ।

खेलअघि प्रशिक्षक लाम्पार्डले भनेका छन्, ‘म सकारात्मक छु, सेमिफाइनल हाम्रो पहिलो लक्ष हो ।’

खेलमा चेल्सीका लागि डिफेंडर तोमोरीको आगमन हुने सम्भावना छ । यस्तै मिडफिल्डर हड्सन ओडोईले पनि खेलमा स्थान बनाउन सक्छन् । चोटका कारण पछिल्ला खेल गुमाएका ओडोई ट्रेनिङ फर्किएका छन् । यस्तै पुलिसिचको फर्म पनि चेल्सीकालागि सकारात्मक पक्ष हो ।

लेस्टर र चेल्सीबीचका पछिल्ला एफए कप भिडन्तमा चेल्सीको दबदबा छ । एफए कपमा लेस्टरले पछिल्ला ८ खेलमा चेल्सीलाई हराउन सकेको छैन । यसबाहेक यी दुई टोलीबीच भएका पछिल्ला ५ खेलमा दुबैले एक एक जित निकाल्दा ३ खेल बराबरीमा सकिएका छन् ।

यस्तै एफए कप फुटबलको अन्तिम क्वाटरफाइनमाल म्यान्चेस्टर सिटीले न्युक्यासलसँग खेल्दैछ । प्रिमियर लिगमा ससक्त प्रदर्शन गरिरहेको सिटी न्युकासललाई हराएर प्रतियोगिताको अन्तिम चारमा पुग्ने लक्ष सहित मैदान उत्रने छ । न्युक्यासल पनि घरेलु मैदानमा सनसनीपूर्ण नतिजाको पर्खाईमा हुनेछ ।

एफए कपमा यसअघि म्यान्चेस्टर यु्नाईटेडले सेमिफाइनलमा स्थान बनाइसकेको छ । शनिबार राती भएको खेलमा नर्विच सिटीलाई २–१ले पराजित गर्दै युनाईटेडले सेमिफाइनलमा स्थान बनाएको हो ।