भलिबलको प्रमुख प्रशिक्षकमा सिंह नियुक्त


काठमाण्डौं । भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आइतबार सिंहलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

राखेपले यही असार १० गते सचिव स्तरीय निर्णयानुसार उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

काठमाडौं जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बहादुर विकद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

२०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए ।

ब्रम्ह स्पोर्ट्स क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना समयका निकै उत्कृष्ट खेलाडी मानिन्थे ।