साउथह्याम्पटन विजयी,वाटफर्डको रेलिगेशन खतरा बढ्दो

एजेन्सी । साउथह्याम्पटनसँग पराजित भएसँगै वाटफर्डको ईङ्गलिश प्रिमियर लिगमा रेलिगेशन जोनमा पर्ने खतरा बढेको छ ।

घरेलु मैदान भिकारेज रोड स्टेडियममा भएको खेलमा वाटफर्ड साउथह्याम्पटनसँग ३–१ गोल अन्तरले पराजित भएको हो । साउथह्याम्पटनको जितमा ड्यानी ईङ्गस्ले दुई तथा वार्ड प्राउजले एक गोल गरे । यस्तै वाटफर्डका निम्ति साउथह्याम्पटनका जान बेडनारेकले आत्मघाति गोल गर्दै वाटफर्डलाई एउटा उपहार गोल दिए ।

खेलको १६औं मिनटमा विल स्मलबोनको क्रसमा ईङ्गस्लले २० यार्डबाट गरेको गोलको मद्दतमा साउथह्याम्पटनले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । यसपछि खेलको ७०औं मिनटमा पुनः ईङ्गस्ले नै गोल गर्दै साउथलाई दोश्रो अग्रता दिलाए । यो ईङ्गस्को यस सिजन १८औं गोल समेत थियो ।

यसपछि ७९औं मिनटमा डि बक्स्भित्रको बल क्लियर गर्न खोज्दा बेडनारेकको प्रयास आफ्नै पोष्टमा गोलमा परिणत भयो । यसको तीन मिनटपछि नै वार्ड प्राउजले गोल गर्दै साउथलाई ३–१ को जित दिलाए ।

पछिल्लो ११ खेलमा जम्मा एक जित मात्र हासिल गरेको वाटफर्ड रेलिगशनमा रहेका तीन क्लबभन्दा जम्मा एक अंकले मात्र माथि छ । १५औं स्थानमा रहेको वाटफर्डको ३२ खेलमा २८ अंक मात्र छ ।

यता जित दर्ता गरेको साउथह्याम्पटनले दुई स्थान सुधार गर्दै १३औं स्थानमा उक्लिएको छ । उसको ३२ खेलमा ४० अक छ ।

प्रिमियर लिगमा ३१ खेलबाट ८६ अंक जोडेको लिभरपुलले सिजनको उपाधि आफ्नो नाममा दर्ता गरिसकेको छ ।