वेस्टइन्डिजको जर्सिमा ‘ब्ल्याक लाइभ्स् म्याटर’ लेखिने

एजेन्सी । वेस्टइन्डिजले इंग्ल्यान्डविरुद्ध टेस्ट सिरिज खेल्दा ‘ब्ल्याक लाइभ्स् म्याटर’ नारा सहितको जर्सी लगाउने भएको छ । सिरिजको क्रममा रंगभेदको विरोध गर्न वेस्टइण्डिजले ‘ब्ल्याक लाइभ्स् म्याटर’ अंकित जर्सी लगाउने भएको हो ।

वेस्टइन्डिजका कप्तान जेसन होल्डरले सिरिज अघि आयोजित पहिलो पत्रकार सम्मेलनमा रंगभेगविरुद्धको आन्दोलनलाई टिमले समर्थन जनाउने बताए ।

‘हामी कुनै न कुनै रुपमा रंगभेदविरुद्ध जोडिने छौँ’, होल्डरले भने, ‘मलाई विश्वास छ कि हाम्रो सानो प्रयासले रंगभेदविरुद्ध एकतावद्ध हुन सहयोग गर्नेछ ।’

होल्डरले आइतबार एक विज्ञप्ति निकाल्दै जर्सीमा ‘ब्ल्याक लिभ्स म्याटर’ लेखिने जानकारी गराएका थिए ।

अमेरीकामा अश्वेत जर्ज फ्लोयडको प्रहरी हिरासतमा निधन भएपछि विश्वभर रंगभेदविरुद्ध अभियान चलिरहेको छ । यसलाई खेलकुद क्षेत्रले पनि साथ दिएको छ । प्रिमियर लिग फुटबलमा सबैभन्दा पहिला ‘ब्ल्याक लाइभ्स् म्याटर’ अंकित जर्सीको प्रयोग भएको थियो ।

‘ब्ल्याक लाइभ्स् म्याटर’ को डिजाईन प्रिमियर लिग क्लब वार्टफोर्डका कप्तान ट्रोए डिनेकी प्रेमिका अलिसा होसानाले गरेकी हुन् । जर्सीमा यसको डिजाईन गरिदिन वेस्टइण्डिज क्रिकेट बोर्डले कप्तान ट्रोए डिनेमार्फत अलिसालाई प्रस्ताव पठाएको थियो । अलिसाले प्रस्ताव स्विकारेपछि बोर्डले इङ्गल्याण्डमा टिमले ‘ब्ल्याक लाइभ्स् म्याटर’ अंकित जर्सी लगाउने भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) लाई पनि प्रस्ताव गरेको थियो । त्यस लगत्तै जर्सी प्रयोग गर्न आईसीसीले अनुमति दिएको थियो ।

होल्डरले आफ्नो टिम युवा पुष्ताका लागि प्रेरणाको स्रोत रहेको भन्दै आउँदो पुस्ताका लागि खेलको अभिभावक बन्न चाहेको बताए ।

कप्तान होल्डरले समानताका लागि केही उपायहरू खोज्नु गलत नभएको बताएका छन् । उनले भनेका छन्, ‘कसैको छालाको रंग वा जातीय पृष्ठभूमिका आधारमा मुल्यांकन गर्न हुँदैन । मानिसहरूलाई विभिन्न रूपमा हेर्न हुँदैन, त्यसैले हामी सिरिजको क्रममा रंगभेदको विरोधगर्न चाहान्छौँ ।’

इङ्गल्याण्ड भ्रमणमा रहेको वेस्टइण्डिजले जुलाई ८ देखि टेस्ट सिरिज खेल्दैछ । तीन टेस्टको सृङ्खलामा सहभागी हुन इङ्गल्याण्ड पुगेको टिमले १४ दिनको क्वारेन्टिन पछि अभ्यास समेत थालिसकेको छ ।