पुलिसका अजितले पाए अप्रिलियाको स्कुटर

पोखरा । गत चैतमा सम्पन्न भएको आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताका उतकृष्ट खेलाडी अजित भण्डारीलाई ईटालियन मोटर बाईक कम्पनी अप्रिलियाले स्कुटर प्रदान गरेको छ ।

१८औं संस्करणको आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित नेपाल पुलिस क्लबका खेलाडी अजित भण्डारीले आईतबार पुरस्कार बापतको अप्रिलिया स्कुटर प्राप्त गरेका हुन् ।

अप्रिलियाको पोखरास्थित आधिकारिक विक्रेताले सहारा क्लबका अध्यक्ष केशव थापाको रोहवरमा अजितलाई स्कुटर हस्तारन्तरण गरेको हो ।

‘हामीले अलि अघि नै अजितले पाउनुपर्ने पुरस्कार बापतको स्कुटर दिने सोचेका थियो तर कोभिड १९ का कारण हिजोमात्र दिन पायौ । ढिलै भएपनि दिएका छौ, यसले खेलाडीलाई हौसला मिल्छ भन्ने लिएका छौ’सहारा क्लबका अध्यक्ष केशवबशादुर थापाले भने ।

पोखरामा सम्पन्न १८औं संस्करणमा नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ्ग मस्र्याङ्गदी क्लबले उपाधि जितेको थियो ।

मनाङ्गले ६ पटक आहा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ भने पुलिसले पनि ६ पटक नै उपाधि हात पारेको छ ।