बार्सिलोना र एथ्लेटिको खेल्दै

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा मंगलबार राती बार्सिलोना र एथ्लेटिको मड्रिड खेल्दैछन् । उपाधि दाबेदार बार्सिलोना च्याम्पियन्स लिग छनोटको होडमा रहेको मड्रिडसँग खेल्न लागेको हो । खेल बार्सिलोनाको घरेलु मैदानमा नेपाली समय अनुसार राती १ः४५ मा सुरुहुनेछ ।

रियल मिड्रडसँगको उपाधि होड बचाएर राख्न बार्सिलोनाका लागि खेल महत्वपूर्ण छ । क्याम्पनाउमा एथ्लेटिकोको स्वागत गर्दा बार्सिलोना शिर्ष स्थानको रियललाई दबाबमा राख्न जसरी पनि जित निकाल्ने दाउमा हुनेछ ।

ला लिगाको निकै महत्वकासाथ हेरिएको यो खेलले बार्सिलोनाको उपाधि यात्रा कोर्ने छ । यदी एथ्लेटिकोसँग बार्सिलोना पराजित भए रियलको उपाधि यात्रा सहज हुनेछ भने बार्सिलोना विजयी भए रियललाई दबाब थपिने निश्चित छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी पछि पुनः सुरुभएको लिगमा बार्सिलोना २ खेलमा बराबरीमा रोकिएपछि उपाधि यात्रा सहज छैन । रियलले भने सबै खेलमा जित निकालेको छ ।

अघिल्लो खेलमा सेल्टिाभिगोसँग २–२ गोलको बराबरीमा रोकिएपछि बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनको खेलाडीहरुबाटै आलोचना भएको थियो । त्यसकारण पनि आज उनको रणनीतिले खेलमा फरक पार्न सक्नेछ । अघिल्लो खेलबाट लुईज स्वारेज टिममा फर्किएको कारण उनको प्रदर्शनले पनि बार्साको जित निश्चित गर्न सक्नेछ । अघिल्लो खेलमा स्वारेजले २ गोल गरेका थिए तर बार्सिलोनाले बराबरीमा चित्त बुझाउनु परेको थियो ।

कोरोनापछि सुचारु भएको लिगमा स्वभाविक लय देखाउन नसकेका कप्तान लियोनल मेस्सीको प्रदर्शनमा पनि बार्सिलोना निर्भर रहनेछ । उनी करियरको ७ सय गोलको प्रतिक्षामा छन् तर पछिल्ला ३ खेलमा गोल विहिन छन् ।

यता एथ्लेटिको मड्रिड पनि खेल जित्ने लक्ष सहित बार्सिलोना भ्रमणमा हुनेछ । ला लिगाका पछिल्ला १९ खेलमा बार्सिलोनालाई हराउन नसकेको एथ्लेटिको नयाँ इतिहास कोर्ने दाउमा छ । एथ्लेटिको कोरोनापछि सुचारु भएको लिगमा निकै लयमा छ । कोरोनापछि एथ्लेटिकोले सबै खेल जितेको मात्र छैन धेरै गोल अन्तरमा विजयी पनि भएको छ । कोरोना अघि छैटौ स्थानमा रहेको एथ्लेटिको ससक्त प्रदर्शन सहित तेस्रो स्थानमा उक्लिएको छ । यसअघि भएको स्पेनिस सुपरकपमा बार्सिलोनालाई सेमिफाईनलमा नकआउट गरेको एथ्लेटिको उच्च मनोबलकासाथ मैदान उत्रने छ । उसका स्ट्राईकर डिएगो कोस्टा लयमा छन् । पछिल्ला ४ खेलमा उनले २ गोल र २ गोलको अवसर मिलाएका छन् ।

यी दुई बीचको पछिल्ला ५ खेलमा ३ खेलमा बार्सिलोना विजयी भएको छ भने एक खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ ।

लिगमा बार्सिलोनाले ३२ खेलमा ६९ अंक जोडेको छ । तेस्रो स्थानको एथ्लेटिकोको ५८ अंक छ । पहिलो स्थानको रियलको ७१ अंक छ ।

यस्तै स्पेनिस ला लिगा अन्तर्गत ३३ औ चरणका खेलमा आजै रेलिगेसन ब्याटलमा रहेको सेल्टा भिगोले १८ औ स्थानको मालोर्काको सामना गर्दैछ । खेल नेपाली समय अनुसार ११ः१५ मा मालोर्काको घरेलु मैदान इबेरोस्टार स्टाडीमा हुनेछ । यस्तै अर्को खेलमा रेलिगेसन जोनमा रहेको लेगानेजले चौथो स्थानमा रहेको सेभिल्लाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार रातीको १२ः४५ मा लेगानेजको घरेलु मैदानमा हुनेछ ।