जर्ज प्रिन्स अब आर्मीको क्याप्टेन

काठमाण्डौं । नेपाली फुटबल फरवार्ड जर्ज प्रिन्स कार्कीको बढुवा भएको छ । नेपाली सेनामा आवद्ध जर्ज सह सेनानी (क्याप्टेन) पदमा बढुवा भएका हुन् । आर्मी टिमका नियमीत स्ट्राईकर प्रिन्सको सोमबार बढुवा भएको आर्मीले जानकारी दिएको छ ।

‘मैले २ नम्बर राजदल गण सुर्खेतबाट दर्ज्यानी चिन्ह प्राप्त गरें’, मेरो खेलसँग जर्जले भने ।

प्रिन्स २०७२ सालदेखि नेपाली सेनामा खेलिरहेका छन् । त्यसअघि उनले सी डीभिजन लिगको छनोट स्थानीय क्लब बनेपा बोइजबाट र ए डिभिजन फ्रेण्ड्सबाट खेलेका छन् ।

प्रिन्सले आर्मीबाट खेल्दा ससत्त प्रदर्शन गरेको आधारमा पटकपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउँदै आएका छन् । जापानी प्रशिक्षक ग्योतोकु कोजीको प्रशिक्षणमा घरेलु मैदानमा विश्वकप छनोट अन्तर्गत ताजिकिस्तानविरुद्धको खेलमा प्रिन्सले डेब्यूको मौका समेत पाएका थिए ।

उनले यो संस्करणको सहिद स्मारक ए डिभिजन लिगमा १ गोल गरेका थिए ।

प्रिन्सले दोस्रो चरणको विश्वकप छनोटको घरेलु प्रतियोगिताका लागि घोषणा भएको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका छन् । नेपालले असोजमा विश्वकप छनोटका घरेलु खेल खेल्नेछ । नेपालले अब अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग घरेलु भुमीमा खेल्न बाँकी छ । कोभिड–१९ को महामारीका कारण फुटबल रोकिएपछि प्रिन्स सेनाको ड्युटी गरिरहेका छन् ।