पुरुष अफ्रिका कप अफ नेशन्स् एक वर्ष सर्याे,महिला संस्करण रद्द

एजेन्सी ।
अफ्रिका कप अफ नेशन्स् फुटबल एक वर्ष सारिएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण २०२१ मा हुनुपर्ने प्रतियोगिता २०२२ सम्मका लागि सरेको हो । यस्तै महिला संस्करण भने रद्द गरिएको छ ।

क्यामरुनमा तय भएको अफ्रिका कप अफ नेशन्स्को ३३ औँ संस्करण २०२१ को जनवरी ९ देखि फेब्रुवरी ६ सम्म तय भएको थियो । अब प्रतियोगिता २०२२ को जनवरी अघि हुनेछैन ।

अफ्रिकन फुटबल महासंघले मंगलबार प्रतियोगिता सारेको बीबीसीमा उल्लेख छ ।

अफ्रिकन फुटबल महासंघले खेलभन्दा माथि जनस्वास्थ्य रहेको कारण तथा वार्षिक क्यालेण्डर मिलाउनुपर्ने भएकोले प्रतियोगिताहरुको मिति हेरफेर गर्नुपरेको बताएको छ ।

केही विदेशी समाचार माद्यमका अनुसार अन्तराष्ट्रिय जगतमा विश्वकप फुटबल २०२२ केही समय पछि सार्न पनि अफ्रिका कप अफ नेशन्स्को यो मिति तय भएको टिप्पणी गरिएको छ ।

यसबाहेक अप्रिलमा स्थगित गरिएको अफ्रिका नेशन्स् च्याम्पियनसिप भने सन् २०२१ को जनवरीमा हुने भएको छ ।

अफ्रिका कप अफ नेशन्स् र अफ्रिका नेशन्स् च्याम्पियनसिप दुबै प्रतियोगिता क्यामरुनले आयोजना गर्नेछ ।

महासंघले महिला संस्करण भने रद्द गरेको जनाएको छ ।