क्रिकेट खेलाउनेहरुको फुर्सदको कथा

सुवास रोकाया

काठमाण्डौ । नेपाली क्रिकेटका सक्रिय अम्पायर मञ्जुल भट्टराईले कोरोना भाइरस (कोभिड–१९ को महामारीअघि लुम्बिनीमा आयोजित एउटा स्थानीय प्रतियोगीतामा अम्पायरीङ गरेका थिए । त्यसलगत्तै सुरुभएको कोरोना महामारीले भट्टराईको दैनिकी पुर्णरुपले फेरीएको छ । लुम्बिनीमा खेलाएको प्रतियोगितापछि भट्टराईले कुनै पनि प्रतियोगिता खेलाउन पाएका छैनन् । लकडाउनपछि भट्टराई अहिलेसम्म घरमै समय बिताउन बाध्य छन् ।

कोरोना महामारीका कारण रोकिएको नेपाली खेलकुद तत्काल सुरुहुने संकेत नहुँदा अझै कहिलेसम्म क्रिकेट खेलाउन पाउदिन भन्ने उलाई थाहाछैन । नेपालमा दिन–प्रतिदिन कोरोना संक्रमितकोे संख्या बढ्दै जाँदा सरकारले तत्काल घरेलु प्रतियोगिता सुरुगर्न अनुमती दिने सम्भावना पनि उनले देखेका छैनन् । लामो समय क्रिकेट खेलाउन नपाउने अनुमान सहित वैकल्पिक उपायहरुलाई प्राथमिक्ता राख्ने उनको योजना छ ।

त्यसो त भट्टराई क्रिकेटमात्र खेलाउँदैनन् । क्रिकेट खेलाउने बाहेक पनि उनी एउटा ओभरसिज कम्पनीमा काम गर्छन् ।

भट्टराई भन्छन्, ‘देशमा अरुबेला क्रिकेट नहुँदा त्यही कम्पनी सहारा थियो, तर यसपटक दुबै काम ठप्प छन् ।’

‘कोरोनाका कारण न क्रिकेट छ न अफिस’ उनले भने, ‘केहीकाम नहुदा दिनभर घरमै बरेर बिताउनु पर्छ, साँच्चै सकसपूर्ण छन् आज भोलि दिनहरु ।’

कोरोनाका कारण उनको महत्वपूर्ण आम्दानीको स्रोत मानिएको अफिस पनि संकटमा छ, त्यसपछि उनले अम्पायरीङ् गर्ने क्रिकेट पनि बन्द छ ।

‘तत्काल अफिस सञ्चालन हुने अबस्था छैन, क्रिकेट सुरुहुन पनि समय लाग्ने भयो ।’ उनले जानकारी दिए ।

कोरोना महामारीले केही खेल तथा खेलाडीहरुको व्यक्तिगत अभ्यास बाहेक अन्य गतिविधि प्रभावित छन् । महामारीले समग्र खेलकुद प्रभावित हुँदा नेपाली क्रिकेटमा पनि यसको चर्को असर छ । नेपाल क्रिकेटसंघ (क्यान) देखि क्रिकेटमा आवद्धहरको दैनिकीमा कोरोनाको प्रभाव कठोर देखिएको छ । क्रिकेटमा आवद्ध धेरै अम्पायरको दैनिकी नराम्रोसँग प्रभावित छ ।

विश्वभर कोरोनाको त्रास कायम रहँदा सम्भावित संक्रमणको खतराबाट बच्न नेपाल सरकारले अघिल्लो बर्षको चैत्रबाट लकडाउन सुरुगरेको थियो । त्यो भन्दा अघिनै खेलकुद गतिविधि रोक्न सरकारले निर्देशन दिइसकेको थियो । सोही अनुसार क्रिकेटका घरेलु प्रतियोगिता रोकिए । त्यसपछि क्रिकेटका कुनै पनि गतिविधि हुन पाएनन्, जसको असर अहिलेसम्म कायमै रहँदा क्रिकेट अम्पायरहरुको अबस्था पनि प्रभावित बन्यो ।

क्रिकेट गतिविधि नहुँदा सबैभन्दा फुर्सदिला बनेका भट्टराई जस्तै अर्कां अम्पायर हुन् सञ्जय गुरुङ । कोरोनाले क्रिकेट प्रभावित नबनाएको भए उनले कम्तिमा २ वटा प्रतियोगिता खेलाउँथे तर नेपाली क्रिकेटका चर्चित अम्पायर मध्धेका एक गुरुङ लकडाउन पछि घरमानै बस्न बाद्यछन् । महामारीपछि उनी निकै फुर्सदिलो बनेको सुनाउँछन् ।

‘क्रिकेट भएन, घरेलु क्रिकेट नहुँदा फर्सदिलो बनियो’, गुरुङले भने, ‘क्रिकेटका नियमहरुकोबारे पुनः अध्य्यन गर्ने मौका बाहेक अरु अवसर मिलेन ।’

पेशाले शिक्षक गुरुङ केहीदिन यता अनलाईन अध्यापन गराईरहेका छन् । यसबाहेक सातामा एकदिन जुम एपमार्पmत अन्य अम्पायरसंग क्रिकेट र क्रिकेटका नियमहरुबारे छलफल समेत गरीरहेका हुन्छन्, तर कोरोनाका कारण क्रिकेट नहुदा उत्पन्न भएको असहज परिस्थितीको सामना गरेको अनुभव चाहिँ उनले राम्रोसँग संगालेका छन् ।

‘कोरोनाले विश्वनै प्रभावित छ भने म सहित सबै अम्पायर प्रभावित छन् । अवस्थानै यस्तै छ, यसको सामना गर्नुपर्छ । क्रिकेटका नियमहरुको बारेमा पुनः अध्ययन गर्नु पनि क्रिकेटमा सकृय हुनु जस्तै हो, तर मैदानमा गएर क्रिकेट खेलाए जस्तो हुँदैन ।’ महामारीबाट संसारले सकेसम्म चाँडै छुटकारा पावस् भन्दै गुरुङले सुनाए ।

क्रिकेट गतिवीधी नहुदा गुरुङको क्रिकेट बापतको आयस्रोत बन्द भयो । यो बेला कम्तिमा २ ठुला प्रतियोगितामा उनले अम्पायरको भुमिका निर्वाह गरेका हुन्थे । एउटा सिंगो प्रतियोगितामा अम्पायरको भुमिका निर्वाह गरे बापत ७५ हजारदेखि १ लाख रुपैयाँसम्म पारिश्रमिक लिने गुरुङलाई कोरोनापछिको अवस्थाले नोक्सानी गर्यो ।

‘कोरोनाका कारण क्रिकेटबाट प्राप्त हुने आयस्रोत बन्द भयो । त्यसले घाटा त हुन्छनै’, गुरुङले भने, ‘त्यो भन्दा ठुलो चिन्ता त क्रिकेट नहुँदा र खेलाउन नपाउँदा घरेलु क्रिकेटको अबको अवस्था कस्तो होला भन्ने सोचेर लाग्यो ।’

अम्पायरहरु क्रिकेट पुनः सञ्चालनको प्रतिक्षामा छन्, तर सरकारको पछिल्लो निर्देशन अनुसार तत्काल घरेलु क्रिकेट सुरुहुने अबस्था छैन । केही देशहरुमा जुलाईबाट कोरोनाले प्रभावित क्रिकेट फर्कदैछ तर नेपालमा समय लाग्ने पक्का देखिन्छ ।

‘विभिन्नि देशको क्रिकेट तयारीले जतिसुकै खुसी दिए पनि आफ्नो देशमा क्रिकेट नहुँदाको पीडा क्रिकेटमा आवद्ध सबैलाई हुन्छ, हामीलाई पनि चिन्ता छ’, अम्पायर रबिन्द्र गुप्ता भन्छन्, क्रिकेट मैदानमा जान नसक्दा खेलाडीहरुजस्तै हामी पनि निराश छौँ ।’

नेपाली घरेलु क्रिकेटमा अम्पायरिङ गर्ने गुप्ता पेशाले पुस्तक प्रकासन गृह सञ्चालन गर्ने व्यवसायी हुन् । कोरोनाको कारण न प्रकाशन गृहमा भने जस्तो काम भएको छ न क्रिकेटमा संलग्न हुने अवसर पाएका छन् ।

‘कुनै काम नहुदा फजुलमा समय बितेको जस्तो भयो’, लकडाउनमा चिन्ता थपिएको भन्दै उनले सुनाए, ‘क्रिकेट मात्र होईन संसारका हरेक क्षेत्र प्रभाबित छन् भनेर चित्त बुझाउने बाटो बन्यो, तर अब क्रिकेट सुरुनगर्ने हो भने क्रिकेट अम्पायर मात्र हैन आवद्ध धेरैको तनावपूर्ण अवस्था सृजना हुन सक्छ ।’

एक खेल खेलाए बापत ५-१५ हजारसम्म पारिश्रमिक लीने गुप्ता अभै ५ देखि ६ महिना क्रिकेट नभए ठुलो आर्थिक नोक्सानीको सामना गर्नु पर्ने बताउछन् ।

‘अहिलेसम्म क्रिकेट नहुदाको पीडा त सामना गर्न सकिएला तर अझै केही महिनामा घरेलु क्रिकेट फर्किएन भने आवद्ध धेरैलाई ठुलो घाटा हुनेछ’, गुप्ता भन्छन्, ‘सकेसम्म चाँडो घरेलु क्रिकेट सुरुगर्नुनै अहिलेको उक्तम विकल्प हो ।’

कोरोनापछि प्रभावित क्रिकेट अझै केही महिना सुरुहुने अबस्थामा छैन । सरकारको प्रस्ट निर्देशनको अभावमा क्रिकेट खेलाडीहरुले ब्यक्तिगत बाहेक अभ्यास समेत सुरुगर्न सकिरहेका छैनन् भने घरेलु क्रिकेट सुरुहुने र अम्पायरहरुले खेलाउन पाउने कुरा त तत्काल सम्भावना भन्दा बाहिर छन् ।

क्रिकेट गतिविधि सञ्चालनका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रयास गरिरहेको बताएको छ, तर राष्ट्रिय खेलकुद परीषद (राखेप) ले क्रिकेट सञ्चालनका लागि क्यानले गरेको पत्राचारको तत्काल उत्तर फर्काउने संकेत दिएको छैन ।