म्यान यु शिर्ष चारको दौडमा,ब्राईटन पराजित

एजेन्सी । ईङ्गलिश प्रिमियर लिगमा ब्राईटन एण्ड होव आल्भियन्स्लाई हराउँदै म्यान्चेस्टर युनाईटेडले शिर्ष चारको दौडलाई कायम राखेको छ ।

ब्राईटनको घरेलु मैदान फाल्मर स्टेडियममा म्यान्चेस्टर युनाईटेडले ३–० को फराकिलो जित निकालेको हो । यो जितसँगै म्यान यु ले प्रिमियर लिगमा एक स्थान उक्लदै आफ्नो शिर्ष चारको दौडलाई जारी राखेको छ ।

म्यान यु को महत्वपूर्ण जितमा मेसन ग्रिनउडले एक र ब्रुनो फर्नान्डेजले दुई गोल गरे ।

खेलको १६औं मिनटमा ग्रिनउडले गोल गर्दै म्यान युलाई पहिलो अग्रता दिलाए । यसपछि २९औं मिनटमा पोल पोग्बाको सटिक पासमा फर्नान्डेजले गोल गर्दै रेड डेभिल्स्लाई दोश्रो अग्रता दिलाए ।

पहिलो हाफमा २–० को अग्रता बनाएको म्यान यु ले दोश्रो हाफमा थप एक गोल गर्याे । यसपटक पनि म्यान यु को लागि फर्नान्डेजले गोल गर्दै ३–० को जित सुनिश्चित गरे ।

यो म्यान यु को सबै प्रतियोगितामा १५औं जित समेत हो । ३२ खेलमा ५२ अंक जोडेको म्यान यु एक स्थान उक्लदै पाँचौ स्थानमा आएको छ । म्यान युले चौथो स्थानमा रहेको चेल्सीसँगको अंक दूरी २ मा घटाएको छ । यता हारको सामना गरेको ब्राईटनको ३२ खेलमा ३३ अंक छ । ब्राईटन १५औं स्थानमा छ ।