स्पोर्ट्स अवार्डका लागि धनगढी उप-महानगरपालीकाद्वारा बजेट विनियोजन

धनगढी । धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च (कैलाली)ले आयोजना गर्ने सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि बजेट विनियोजन गरेको छ । धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक बर्ष २०७७/७८ मा आयोजना हुने स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेको हो । स्पोर्ट्स अवार्डका लागि एक लाख पचास हजार रुपैयाँ छुट्ट्याइएको छ ।

धनगढीकी उपमेयर सुशिला मिश्र भट्टले पाँचौं नगर सभा मार्फत आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्पोर्ट्स अवार्डलाई बजेटको व्यवस्था मिलाईएको जानकारी दिईन् ।

‘उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न आवश्यक बजेट व्यवस्था मिलाईएको छ ।’ उपमेयर भट्टले भनिन्, ‘यसपाली कोरोनामा अधिकांश कार्यक्रमहरु केन्द्रित भएकोले कम बजेट नै विनियोजन भएको छ । आगामी बर्षदेखि बजेट वृद्धि गर्दै स्पोर्टस अवार्ड कार्यक्रमको बजेटलाई निरन्तरता दिनेछौं ।’

नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दैआएको छ । उपमहानगरपालिकाले स्पोर्ट्स अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको व्यवस्था मिलाइएको सुदूरुपश्चिमा यो सम्भवतः पहिलो हो ।

धनगढी उपमहानगरपालिकाले उपमहानगरको मात्रै नभएर समग्र प्रदेशकै प्रतिनिधित्व गर्ने खेलाडीको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गर्दै आएको मेयर नृप ओडले बताए ।

निति तथा कार्यक्रममा समावेश गरेर उपमहानगरपालिकाले त्यसको लागि बजेट विनियोजन गरेर स्पोर्टस अवार्डको आयोजना थालेकोमा स्थानीय सरकारको तर्फमा सहयोग गरेको उनको भनाई छ ।

‘यहाँको प्रदेश सरकारले पनि केही नगरेको भन्ने कुरा आयो । अन्य स्थानीय तहहरुले पनि सहयोग नगरेको पाएँ ।’ मेयर ओडले भने, ‘राम्रो काममा सवैले सहयोग र साथ दिनुपर्छ भनेर स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरिएको हो ।’

प्रदेश सरकारले गत मंसीरमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने तयारी गरेको छ, तर आफुहरुले आयोजना सुरु गरेको स्पोर्टस अवार्डका भने सरकारी सहयोग नभएको खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले बताए ।

‘सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई हौसला वढाउन स्पोर्टस अवार्डको सुरुवात गर्दा आजसम्म एक रुपैयाँ पनि प्रदेश सरकारको तर्फबाट सहयोग भएको छैन् । अधिकांश स्थानीय तहले सहयोग गरेका छैनन् तर हामी यो अवार्डलाई बर्षेनी आयोजना गर्न पछि हट्नेछैनौ ।’ महासचिव पाठकले भने, ‘धनगढी उपमहानगरपालिकाले स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद दिन चाहन्छौ । यसले हाम्रो हौसला बढेको छ ।’

सुदूरपश्चिम प्रदेशमा अघिल्लो बार्षदेखि अवार्डको थालनी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :