मण्डेले सम्मानबाटै कमाए ५० लाख बढी रकम,भन्छन्–मिहिनेतको फल पाउँदै छु

लक्ष्मी शाक्य

भक्तपुर । १३औं दक्षिण एशियाली खेलकुद (साग) सम्पन्न भएको करिब ९ महिना भईसक्यो । यसबिचको करिब ५ महिना सरकारको कोरोना न्युनिकरणका लागि भएको लकडाउनका कारण केही हौसिएको खेल क्षेत्र पूर्ण रुपमा सुस्तायो । कुनै पनि खेल गतिविधि हुन सकेन । खेल गतिविधि नभएपनि खेलाडीहरुलाई विभिन्न संघसंस्थाले सम्मान गर्ने कार्य भने चलि नै रह्यो । साउन ७ गतेबाट सरकारले औपचारिक रुपमा लकडाउनको अन्तय भएको घोषणा गरेसँगै खेल गतिविधि सूचारु हुने टुङ्गो नलागने पनि सम्मानको कार्यक्रमले अझै निरन्तरता पाई नै रहेको छ ।

मंसिरमा नेपालमा आयोजना भएको सागमा नेपालका लागि कराँतेको कातातर्फ एकल र सामूहिक स्पर्धामा दोहोरो स्वर्णै दिलाएका मण्डेकाजी श्रेष्ठ सम्भवत सबैभन्दा बढी सम्मान पाउने खेलाडीमा पर्छन् ।

मण्डेले सागमा सातदोबाटोस्थित कराँतेको एकेडेमी हलमा पाकिस्तानका नैयम तुल्लाहलाई हराउँदै एकलतर्फ पहिलो स्वर्ण थापे भने माल्दिभ्स्लाई हराउँदै सामूकि तर्फ दोश्रो स्वर्ण हात पारेका हुन् । उनको यही दाहोरो स्वर्णले अहिले मण्डेलाई विभिनन संघसंस्थाको सम्मान थाप्न भ्याई नभ्याई भईरहेको छ ।

उनी अहिले यति ब्यस्त छन् की देशभित्रको सम्मान पाउने कार्यक्रमको तालिका अझै केही समय नरोक्किएला भने कोरोनाका कारण बाहिर देशमा हरेका नेपालीले गर्ने सम्मान कार्यक्रममा जान पाएका छैनन् ।

मण्डेले देशभित्र अहिलेसम्म ६० संघसंस्थाबाट सम्मानित हुने अवसर पाईसकेका छन् भने करिब एक दर्जन संघसंस्थाहरु सम्मान गर्न लाईनमा बसेका छन् । यसबाहेक उनलाई विदेशमा अष्ट्रेलिया,थाईल्याण्ड र हङ्गकङ्गमा समेत कुरा पक्का भईसकेको थियो । तर कोरोनाका कारण अन्तिम समयमा हवाई टिकट रद्द गर्नु परेको थियो ।

मेरोखेल डटकमसँग कुरा गर्दै मण्डेले भने,‘अहिलेसम्म ५० लाख बढी रकम संघ संस्थाबाट सम्मान गर्न बोलाउनु भईसकेको छ । खेलाडी जिवनको सबैभन्दा आनन्ददायी क्षण बिताईरहेको छु । विश्वास लाग्दैन यतिका धेरै मानिसहरुमाझ चिनिएको छु र निरन्तर माया र सद्भाव पाईरहेको छु । यही हो मेरो कमाई ।’

मण्डले अहिलेसम्म नगद सम्मान करिब ६० लाख पाईसकेका छन् । सागमा जितेको स्वर्णको मद्दतमा मण्डे चाँडै नै नारायणी स्टिल्स् कम्पनीसँग विज्ञापनको माध्यमबाट जोडिदैछन् ।

‘मैले यो भन्दा पहिले केही रकम कोरोना प्रभावितको राहत वितरणमा खर्च गरिसकेको छु, बाकी रकम मैले बैंकमै राखेको छु । यो भनेको मेरो निरन्तर मिहिनेत फल हो । सम्भवत उपलब्धि मुलक क्षेत्रमै खर्च गर्ने सोचमा छु’,मण्डे भन्छन्,‘कोरोना प्रभावले गर्दा तत्कालै आफुसङ्ग भएको रकम यसैको लागि खर्च गर्छु भन्ने निश्चित योजना छैन ।’

मण्डे थप बताउँछन्,‘नारायणी स्टिल्स् कम्पनीसँग करिब फाईनल भईसक्यो,चाँडै नै विज्ञापनको होर्डिङ्ग बोर्डमा राख्ने कुरा भएको छ ।’

मण्डे चाँडै नै कराँतेको नयाँ पुस्ता उत्पादनमा लाग्ने बताउँछन् । आफू सिकेको सिप र ज्ञान बाड्न प्रशिक्षण शुरु गर्ने योजना रहेको मण्डे बताउँछन् ।

मण्डेले प्राप्त गरेको ६० लाख सम्मान बापतको रकममध्ये सरकारले दिएको २५ लाख सबैभन्दा बढी रकम हो ।