कराते प्रशिक्षण अनिश्चित समयका लागि स्थगित

काठमाण्डौं । टोक्यो ओलम्पिक तयारीमा रहेका नेपाली राष्ट्रिय कराते खेलाडीहरुको प्रशिक्षण अनिश्चित समयका लागि स्थगित भएको छ । कोरोना भाइरस (कोभिड१९) महामारीको जोखिम बढ्दै गएपछि नेपाल कराते संघले मंगलबारदेखि प्रशिक्षण स्थगित गरेको हो ।

एक सूचना प्रकाशित गर्दै ओलम्पिक तयारीमा रहेका खेलाडीको प्रशिक्षण स्थगित भएको संघले जानकारी दिएको छ ।

केहि दिन अगाडिमात्र खेलक्षेत्रका व्यक्तिलाई पनि कोरोना संक्रमण खेखिएको भन्दै आफ्ना खेलाडी तथा सम्बन्धीत सबैलाई कोरोनाको सम्भावित संक्रमण खतरा हुन नदिन प्रशिक्षण स्थगित गरिएको प्रशिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

संसारभर फैलिरहेको कोरोनाको जोखिम नेपालमा दिनदिनै बढेर गएको तथा भयावह अबस्था आउन थालेको भन्दै सचेत रहन प्रशिक्षण स्थगित गरिएको जनाईएको छ ।

प्रशिक्षक दिपक श्रेष्ले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘काठमाडौँमा पनि पछिल्लो समय संक्रमितको संख्या बढेको र केहि दिन अगाडिमात्र खेलक्षेत्रका ब्यक्तिमा पनि कोरोना देखिएको कारण सबै नागरिक सचेत रहनुपर्ने अवस्थाले गर्दा र नेपाल सरकारको निर्देशनलाई समेत पालना गर्दै सातदोबाटो कराते एकेडेमीमा प्रशिक्षणरत टोक्यो ओलम्पिक तयारीमा रहेका कराते खेलाडीहरुको प्रशिक्षण केहि दिनको लागि स्थगित भएको जानकारी गराउँछु ।’

ओलम्पिक तयारीमा रहेका खेलाडीहरु सरकारले लकडाउन घोषणा गर्नु अघिदेखिनै प्रशिक्षणमा थिए, तर असारदेखि भने सम्बन्धीत सबैको मौखिक स्विकृती सहित कराते खेलाडीहरुले प्रशिक्षण थालेका थिए ।