ब्याडमिन्टन संघमा अवैधानिक पदाधिकारीतन्त्र

बिभा थापा

काठमाण्डौ । नेपाल ब्याडमिन्टन संघ (एनबीए)भित्र बेथिति र चरम लापरवाहीता देखिएको छ । एनबीए अध्यक्ष रामजी बहादुर श्रेष्ठको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको अवधि सकिक्एको भएपनि विश्वब्यापी कोरोना कहरका कारण कार्यसमितिको आयु लम्बिएको छ । तर लम्बिएको कार्यमितिको पदाधिकारीहरु भने अवैधानिक रुपमा आफ्नो अस्तित्वलाई जोगाउने दाउँमा देखिएका छन् ।

करिब एक दशक जापानमा बिताएर नेपाल फर्किएको अथवा भनौ सन् १९९७ मा आयोजना भएको जापान ओपन ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागि हुन गएका अहिलेको कार्यसमितिका सचिव नविन विक्रम शाहको पद माथि प्रश्न उठ्न शुरु भएको छ । उनी सो समयमा नेपालको प्रतिनिधित्व गर्दै जापान खेल्न गएका बेला करिब एक दशक लामो समय उतै हराएका थिए । पछि उनी सन् २००६–२००७ मा नेपाल फर्किएका थिए । सो समयमा उनी एनबीएको सदस्य समेत बन्दै संघभित्र प्रवेश गरेका थिए ।

यथार्थ के हो भने जुन समय उनी जापान अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुन गएका थिए,सो समयमा उनी राष्ट्रिय खेलकुृद परिषद (राखेप) मा स्थायी कर्मचारी (सहायक ब्याडमिन्टन प्रशिक्षक)पदमा कार्यरत थिए । उनलाई राखेपले पर्सा जिल्ला खेलकुद विकास समिति विरगंजमा खटाएको थियो ।

उनी जापान गएर हराएको समयमा राखेपलाई बिना जानकारी लामो समय कार्यालयबाट अनुपस्थित भएको हुदाँ उनलाई राखेपले विभागीय कारवाही समेत गरेको थियो । कारवाही स्वरुप राखेपले नविनलाई राखेपको स्थायी जाँगिरबाट बर्खास्त गरेको थियो ।

२००६–२००७ मा नेपाल फर्किएपछि नविन निरन्तर एनबीएको सदस्य हुँदै अहिलेको कार्यसमितिमा सचिव पद ओगट्दै बसेका छन् । तर यस वर्ष असारमा आएको खेलकुद विकास ऐन २०७७ ले खेलकुदबाट विदेश गई हराएका ब्यक्तिलाई कुनै पनि संघमा बस्न अयोग्य मानेको छ । त्यसर्थमा नविनमाथि एनबीएको सचिव पदमा बसिरहने नैतिक अधिकार छैन भन्दै यतिबेला एनबीए र एनबीएसँग सम्बद्ध जिल्ला संघबाट नै उनको अस्तित्वमाथि प्रश्न उठ्न थालेको छ ।

१३औं दक्षिण एशियाली खेलकुद सागमा खेलाडीको सामाग्री खरिद प्रक्रियामा देखिएको हिनामिनाको प्रकरण बाहिर आएपछि यस प्रक्रियामा मुछिएका संघका तत्कालिन उपमहासचिव लवभक्त श्रेष्ठले दिएको राजिनामा एनबीएले स्विकृत गरिसकेको छ भने एनबीएले भगौडा सचिव ज्ञानेन्द« सिपाईंको समेत राजिनामा स्विकृत गरिसकेको छ ।

राखेपको जाँगिर र संघको पदबाट राजिनामा दिएका लवभक्त माथि आर्थिक अनियमितताको छानविन हुँदैछ । उनीमाथि सागको समयमा खेलाडीको जुत्ता,खेल्ने सामाग्रीको रकम हिनामिना गरेको तथा खेल्ने म्याटको रकम पनि फर्जी बिल पास गराई अनियमितता गरेको आरोपमा छानविन हुँदैछ ।

२०७३ जेठमा भएको साधारणसभाले रामजी श्रेष्ठको नेतृत्वमा रहेको प्यानललाई नै सर्वसम्मति रुपमा निर्वाचित गरेको थियो । सोही प्यानलका सिपाईं सो समयमा सचिव बनेका थिए । सिपाईं अष्ट्रेलीयाको स्पोर्ट म्याटर्स नामक संस्थाले आयोजना गरेको सटल टाईम प्रोजेक्ट अन्तर्गत कल्चर एक्स्चेन्ज कार्यक्रम मार्फत उनी अष्ट्रेलीया गएका थिए । त्यहाँबाट उनी पनि नेपाल फर्किएनन् र दुई साता अघि उतैबाट एनबीएलाई सचिव पदबाट राजिनामा दिएको पत्र पठाएका थिए । एनबीएले राजिनामा स्विकृत त गर्याे तर उनीमाथि के कारवाही भयो भन्ने अझै बताउन सकेको छैन भने राजिनामा स्विकृत भएको जानकारी र के कारवाही गरियो भन्ने विवरण आफू मातहतको जिल्ला संघहरुलाई परिपत्र समेत गरेको देखिदैन ।

तत्कालिन समयमा एनबीए मार्फत २१ जना ब्यक्तिहरु अष्ट्रेलीया जाने सूचीमा थिए । त्यस मध्ये केही गए भने केही गएनन् । तर गएका सबै फर्किए भने सचिव पदमा आसिन भएका सिपाईं उतै विलिन भएका थिए ।

यी दुईजनाको राजिनामा स्विकृत गरेको एनबीएले राष्ट्रको नाममा विदेशीएर आफ्नो स्वार्थ पुरा भएपछि स्वदेश फर्किएका पात्र सचिव नविन विक्रम शाहलाई एनबीएले किन हटाउन सकेको छैन । किन उनीमाथि एनबीएले कुनै कारवाही गर्दैन ? उनलाई अहिलेको खेलकुद विकास ऐनले समेत मान्यता नदिने प्रष्ट हुँदा समेत किन एनबीए मौन छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :