फाँसीमा झुण्ड्याईए ईरानी रेस्लर

एजेन्सी । ईरानका च्याम्पियन रेस्लर नाविद अफकारीलाई शनिबार फासी दिईएको छ । २७ बर्षे अफकारी २०१८ मा सरकार विरोधी कार्यमा संलग्न भएको र एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा दोषी ठहरिएका थिए ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रेस्लर नाविद अफकारीलाई फासी दिएको विषयमा आश्चर्य र शोक व्यक्त गरेको छ ।

दक्षिणी ईरानको शिराज शहरको आदिलाबाद जेलमा नाविदलाई झुण्ड्याईएको थियो ।

उनलाई दिईएको फासीको सजाय प्रती दुख ब्यक्त गर्दै आईओसीले ट्वीटमा उल्लेख गरेको छ ,‘हामी र रेसलिङ्गसंघ लगायत धेरै संघले नाविदको ज्यान जोगाउन यथाशक्य प्रयास गर्यौं र ईरानी सरकारलाई समेत अपील गर्यौं । तर हामी सबैको हाम्रो प्रयास असफल बन्न पुग्यो । नावीद प्रति हामी अत्यन्तै दुखित छौ ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर नाविदलाई माफ गर्न अपील गरेका थिए ।

ट्रम्पले आफ्नो ट्विटमा भनेका छन्,‘यदि ईरानी नेताहरूले नाविदलाई माफी दिएर उहाँलाई झुण्ड्याएन भने म ईरानी नेताहरूलाई धन्यवाद भन्नेछु ।’

ईरानी अदालतका अनुसार नावीदलाई पानी विभागको गोर्ड हुसेन तोरम्यानको हत्याको अभियोगमा दोषी ठहराइएको थियो । रेसलर र उनका अन्य साथीहरूले २ अगस्त २०१८ मा हुसेनको हत्या गरेका थिए ।

विदेशी सञ्चारमाध्यमहरुका अनुसार ईरान सरकारले नाविदलाई यातना दिएर जबरजस्ती आरोप स्वीकार गर्न लगाईएको थियो । बास्तवमा उनले सरकारविरुद्ध गरेको प्रदर्शन ईरान सरकारलाई मन परेको थिएन ।

नाविद एक फ्री स्टाइल र ग्रीको रोमन रेस्लर थिए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धेरै पदकहरू जितेका थिए । सोही हत्याको मुद्दामा उनका भाई वाहिदलाई ५४ र हबीबलाई २७ बर्षको जेल सजाय सुनाइएको छ ।

यो पनि पढ्नुहोस्ः श्रीलंकाली क्रिकेटर ओपाथाको निधन