फुटबल सुचारु गर्न ‘शुभ संकेत’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय टोलीको प्रशिक्षण सुरुगर्न ग्रिन सिग्नल मिलेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रशिक्षणका लागि कार्यविधि बनाउन निर्देशन दिएसँगै प्रशिक्षणको तयारीमा रहेको अखिल नेपाल फुटबल संघ एन्फालाई शुभ संकेत मिलेको हो ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई प्रशिक्षणको कार्यविधि बनाउन र अघि बढ्न भनेका छन् । एन्फाले पछिल्लो समय विश्वकप छनोटदेखि मैत्रीपूर्ण खेलाडीको प्रशिक्षण गराउने वातावरण मिलाउन सिलवालसँग अनुरोध गरेको थियो ।

बुधबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली र सदस्य सचिव सिलवालबीच राष्ट्रिय टोलीको प्रशिक्षण सञ्चालनका बिषयमा गम्भीर छलफल भएको थियो । छलफलका क्रममा शेर्पाले अनुमती पाए शुरक्षितरुपमा अभ्यास थाल्न तयार रहेको बताएका थिए भने सिलवालले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), विश्व फुटबल महासंघ (फिफा) र  नेपाल सरकारको स्वास्थ्य प्रोटोकलअनुसारको कार्यविधि खोजेका थिए । अभ्यास सुरुगर्नु पर्ने बिषयमा निकै लचक तथा सकारात्मक देखिएका सिलवावले कार्यविधि बनाएर अघि बढ्न आग्रह गरे ।

‘एन्फालाई रोकिएका केही लिग र बाँकी रहेका प्रतियोगिता सुरु गर्न कार्यविधि बनाएर अघि बढौं भनेको हुँ’, सिलवालले मेरोखेलसँग कुरा गर्दै भने, ‘हामीले ठप्प रहेको फुटबल सुरुगर्न प्रयास थालेको लामो समय भएको छ । यो पनि त्यसकै प्रयास स्वरुप हुनेछ ।’

‘रोकिएको ‘बी’ डिभिजन लिग, बाँकी रहेको ‘सी’ डिभिजन लिग, महिला लिग र राष्ट्रिय लिग सञ्चालनको योजनामा छौं’ , सिलवालले भने । उनका अनुसार फुटबल सुचारु गर्नेबारे मन्त्रालयमा कुरा पुगिसकेको छ ।

एन्फाले राखेप समक्ष कोरोना प्रभावका कारण रोकिएका प्रतियोगिता, राष्ट्रिय टोलीको अभ्यासका साथै केही मैत्रीपूर्ण खेल सञ्चालनको अनुमती मिलाईदिन अनुरोध गरेको छ । एन्फामा बंगलादेश सहितका तीन देशले मैत्रीपूर्ण फुटबल खेल्न प्रस्ताव राखेका छन्, जसका लागि पनि अनुमती मिल्ने एन्फाको विश्वास छ । यस्तै एन्फा बर्ष २०७६ को फुटबल सर्कल पुरा गर्न रोकिएको ‘बी’ डिभिजन र सुरु हुन नसकेको ‘सी’ डिभिजन लिगतत्काल सञ्चालनको अनुमती माग्दैछ । त्यस लगत्तै राष्ट्रिय लिग गर्ने एन्फाको योजना छ , तर अहिलेसम्म सरकारले फुटबल सुचारुका लागि वेवास्था गर्दा समस्या भएको छ ।

‘राखेपले मन्त्रालयसँग छलफल गरेको छ, अब मन्त्रालयको अनुमती प्राप्त हुनेछ’, सदस्य सचिव सिलवालले भने, ‘बाँकी प्रतियोगिता सञ्चालनका लागि छलफल सकारात्मक छ । अब प्रशिक्षण, प्रशिक्षण सुरु हुनु १५ दिन अघि खेलाडीको आवागमन, खेलाडी र सम्बन्धित सबैको स्वास्थ्य परिक्षण, क्वारेन्टिनको व्यवस्था लगायतका प्रकृया कसरी सुरुगर्ने भन्नेबारेमा एन्फाले बनाएको कार्यविधिले महत्तवपूर्ण भुमिका निर्वाह गर्ने छ ।’

कोरोना प्रभावका कारण गएको चैत्र महिनादेखि एन्फाले कुनै पनि फुटबल गतिविधि सुरु गर्न सकेको छैन । यो बीचमा राष्ट्रिय टोलीको अभ्यासको तयारी भएपनि सरकारको निर्देशनका कारण सुरु हुन सकेको छैन । एन्फा आसन्न विश्वकप फुटबल २०२२ र एएफसी एसियन कप छनोटका घरेलु खेलको तयारी थाल्ने योजना बनाउँदैछ । त्यतिमात्र हैन कोरोनाका कारण अस्तव्यस्त बनेको घरेलु फुटबलको तालिका मिलाउन तथा क्यालेन्डर अनुसारका प्रतियोगिता सक्न एन्फा हतारोमा छ । अझै केही महिना ढिला भए एन्फाले बर्ष २०७७ को ‘ए’ डिभिजन लिग सञ्चालन गर्न नपाउने खतरा पनि उत्तिकै छ ।

‘कोरोना प्रभावित फुटबल सुरु गर्न ढिला भयो । त्यसैले सुरुमा राष्ट्रिय टोलीको प्रशिक्षण सञ्चालन गर्न आवस्यक पहल गरिदिन अनुरोध गर्यौ’, छलफलमा सहभागी उपाध्यक्ष पराजुलीले भने, ‘सिलवालले सकारात्मक संकेत दिनु भएको छ ।’

‘हामीले सुरक्षित अभ्यास गराउन तथा प्रस्तावमा आएका केही मैत्रीपूर्ण खेल खेलाउन सक्षम छौं भनेर प्रस्ताव गर्यौ, उहाँले कार्यविधि माग्नु भयो’, पराजुलीले भने ।

एन्फाले भदौ १ गतेदेखि प्रशिक्षण सुरुगर्ने भनेर साउनको अन्तिमदेखि तयारी थालेको थियो । अभ्यासकै तयारी स्वरुप खेलाडीहरुको पीसीआर परिक्षणको काम पनि सम्पन्न भएको थियो, तर सरकारले कोरोनाको जोखिम बढेको भन्दै दोस्रो चरणको लकडाउन घोषणा गरेपछि सुरु नहुँदै प्रशिक्षण स्थगित भएको थियो, तर अब राखेपले कार्यविधी मागेसँगै एन्फाले कस्तोखाले कार्यविधि बनाउँछ भन्ने विषयमा फुटबल सञ्चालनको साँचो अडिएको छ । त्यतिमात्र हैन अब सिलवालले भनेअनुसार मन्त्रालयले अनुमती दिए फुटबल सञ्चालनमा बाधा हुनेछैन । यसमा सम्बन्धित पक्षले कस्तो पहल गर्छन् र सरकारले फुटबललाई उच्च प्राथमिक्तामा राख्छ राख्दैन भन्ने प्रश्न पनि बाकीनै रहनेछन् ।

कोरोना महामारीका कारण नेपालमा झण्डै ७ महिनादेखि घरेलु तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधि ठप्प छ । कोरोनाकै कारण बी र सी डिभिजन लिग सहित महिला फुटबलका प्रतियोगिता, मोफासलका बिभिन्न गोल्डकप, नेपालले खेल्ने सबै अन्तर्राष्ट्रिय प्रतियोगिताका साथै फुटबल विकासका दर्जनौं कारर्यक्रम प्रभावित छन् ।

यो पनि पढ्नुहोस्ः नेपालसँग मैत्रिपूर्ण फुटबल खेल्न तीन राष्ट्र तयार