मनलाग्दी गरिएको वर्गिकरण !

काठमाण्डौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार चितवनमा बोर्ड बैठक राख्दै नेपाली राष्ट्रिय खेलाडीहरुको वर्गिकरण सार्वजनिक गर्यो । बैठकपछि क्यानले पहिलो पटक महिला खेलाडीहरुको वर्गिकरण प्रकाशित गरेको थियो भने पुरुष खेलाडीहरुको पनि नयाँ वर्गिकरण आएको थियो । क्यानले १८ पूरुष र १९ महिला खेलाडीलाई सम्झौतामा राखेको थियो, तर पहिलो पटक महिला खेलाडीको वर्गिकरण गरेर क्यानले जति राम्रो गर्यो त्यो भन्दा धेरै त्रुटी पुरुष खेलाडीहरुको वर्गिकरणमा गर्यो ।

क्यानको निर्वाचन भएको झण्डै १ बर्षको अवधिमा भएको बोर्ड बैठकमा महत्वपूर्ण ९ निर्णय भएका छन् । जसमध्धे सबैभन्दा महत्वपूर्ण मानिएको खेलाडीको वर्गीकरण पनि हो, तर क्यानले खेलाडीलाई २०२०बाट पारिश्रमिक दिनेगरी गरेको वर्गिकरणमा भने धेरै यूवा खेलाडीको मनोभावना गिर्ने पक्का छ ।

क्यानले सन् २०१९ मा नेपालले खेलेका अन्तर्राष्ट्रिय क्रिकेटका नियमित सदस्य ललित राजबंसीलाई वर्गिकरणमा समावेस गर्न आवस्यक ठानेन । २०१९ मा गरिएको वर्गीकरणमा ग्रेड ‘बि’ मा रहेका क्रिकेटर बसन्त रेग्मीलाई ‘ए’ ग्रेडमा बढुवा गर्यो । नेपाली क्रिकेटका भरपर्दा र नियमित बलर तथा ‘ए’ ग्रेडका सोमपाल कामीलाई ‘बी’ ग्रेडमा झारिदियो । सोमपाल घाइते हुँदा अघिल्लो बर्ष विश्वकप लिग–२ र एसीसी इस्टर्न रिजन टि–२० मा टिममा पर्न सकेका थिएनन् । यस्तै पछिल्लो समय नेपाली टोली बाहिर रहँदै आएका सुवास खकुरेललाई ‘सी’ ग्रेडमा मौका दिँदा यूवा क्रिकेटर अभिनास बोहोरालाई ‘बी’ बाट ‘सी’ मा झारियो । अर्थात वर्गिकरणमा मनलाग्दी देखियो ।

क्यानले बसन्तलाइ बढुवा गर्दै कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, सन्दिप लामिछाने, बिनोद भण्डारी, शरद भेसावकर, करन केसी र दिपेन्द्र ऐरीलाई ‘ए’ ग्रेडमा राखेको छ । घटुवा गर्दै ‘बि’ ग्रेडमा सोमपाल सहित सुशन भारि, आरिफ शेख र पवन सर्राफलाई मात्र समेटेको छ ।  यस्तै ‘सी’ ग्रेडमा सुबास खकुरेललाई समावेस गर्दै रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अविनाश बोहरा र कमल ऐरीलाई राखिएको छ । खकुरेलले विश्वकप लिग–२ मा शरद भेसावकर घाइते हुँदा राष्ट्रिय टिममा मौका पाएका थिए । क्यानले सम्झौताबाट ‘सी’ ग्रेडका इशान पाण्डे, कुशल भुर्तेल, प्रदिप ऐरी र राजु रिजाललाई हटाएको छ । यस्तै सन्दीप जोरा पनि क्यानको सम्झौताबाट बाहिरिएका छन् ।

यो पनि पढ्नुहोस्ः  पुरुष क्रिकेटरको नयाँ सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक

सन् २०१९ को पारिश्रमिकका लागि गरिएको यसअघिको वर्गिकरणमा बसन्त रेग्मीलाई ‘बि’ ग्रेडमा राखिँदा जतिधेरै आलोचना भएको थियो त्यो भन्दा धेरै आलोचना क्यानले यो वर्गिकरणमा सहनु पर्नेछ ।  क्यानले खेलाडीको ग्रेड निर्धारणका लागि भन्दै कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा गठन गरेको समितिको सिफारिसको आधारमा खेलाडीलाई वर्गिकरण गरेको हो । वर्गिकरणको अन्तर्राष्ट्रिय मान्यता खेलाडीको बर्षभरीको प्रदर्शनको आधारमा तय हुने हो, तर क्रिकेट संघले भने जथाभावि वर्गिकरण गरेको छ ।

क्यान दाबी गर्छ, ‘खेलाडीको प्रदर्शनका आधारमै वर्गिकरण सार्वजनिक गरिएको हो ।’

‘समितिको सिफारिसमा खेलाडीको बर्गिकरण सार्वजनिक गरेका हौं’, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘खेलाडीहरुको प्रदर्शनलाई आधार मानेरै वर्गिकरण भएको छ ।’

उसोभए ललित राजबंसीको प्रदर्शन सम्झौतामा पर्न लायक थिएन र ? भन्ने प्रश्नमा चन्दले भने, ‘उनको बारेमा केही सोच्न सकिन्छ । हामीले बर्गिकरण सार्वजनिक गरेपछि धेरै कमेन्टहरु आए । त्यसमा पुर्नविचार गर्ने पाटो अझै खुल्ला छ ।’

स्पिनर ललित राजबंसीलाई क्यानले सम्झौताबाट बाहिर राखेको छ । यसअघि ‘बी’ ग्रेडमा रहेका स्पिनर ललितले सन् २०१९ मा नेपालले खेलेका सबै खेलमा सहभागिता जनाए पनि सम्झौतामा अटाउन सकेनन् । ललितले सन् २०१९ मा १८ अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका थिए । ती सबै खेलमा उनको प्रदर्शन पनि राम्रो थियो । क्यानले सन् २०१९ मा नेपालले खेलेका अन्तर्राष्ट्रिय क्रिकेटका नियमित सदस्य ललित राजबंसीलाई वर्गिकरणबाट बाहिर मात्र राखेको छैन कुनै पनि खेल नखेलेका ‘बी’ मा रहेका क्रिकेटर बसन्त रेग्मीलाई ‘ए’ ग्रेडमा बढुवा गरेको छ । नियमित बलर तथा ‘ए’ ग्रेडका सोमपाल कामीलाई ‘बी’ ग्रेडमा झारिएको छ ।

यसलाई हामीले कसरी बुझ्ने ? वर्गिकरण मनलाग्दी जस्तो देखिएको छ, खेलाडीको आत्मबल कमजोर हुँदैन ? चन्द भन्छन्, ‘केही कमि कमजोरी भए होलान् । यी सबै बिषयमा छलफल गर्ने बाटा खुल्ला छन् ।’

क्यानले २०१९ मा अन्तर्राष्ट्रिय खेलमा सहभागिता नजनाएका सुवास खकुरेल र तीव्र गतिका युवा बलर कमलसिंह ऐरीलाई सम्झौतामा बाँध्ने आवस्यकता ठान्दा घाइते भएर केही प्रतियोगिता नखेलेका सोमपाललाई ‘ए’ ग्रेडमा राख्न उपयुक्त ठानेन । नियमित बलर, डेथ ओभरका किंग तथा प्रदर्शनको आधारमा अझै प्रोत्साहनको खाँचोमा रहेका अभिनाशको पनि ग्रेड घटुवा भयो । वर्गिकरण अनुसार ‘बी’ ग्रेडमा जम्मा चार खेलाडी मात्र राखेर ‘ए’ उक्लिने खेलाडीहरुको प्रतिस्पर्धा कम गरिएको छ । यी खेलाडी वर्गिकरणमा प्रत्यक्ष देखिने त्रुटी हुन् । यसबाहेक मंगलबार शार्वजनिक भएको बर्गिकरणमा खेलाडीको प्रर्दशन हेरिएको छैन । उनीहरुको अन्तर्राष्ट्रिय सहभागिता र क्षमता पनि ख्याल राखिएको छैन ।

यो पनि पढ्नुहोस्ः  महिला खेलाडी पहिलो पटक क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा

क्रिकेट विकासका लागि खेलाडी वर्गिकरणको भुमिका अपरिहार्य छ । वर्गिकरणले खेलाडीमा प्रतिस्पर्धाको भावना जगाउँछ । मिहेनतको अवस्था सृजना गर्छ । क्यानका अध्यक्ष चन्दले केही कमिकमजोरी भए होलान्, हामी सच्याउँछौं भनिरहँदा क्यानको निर्णयलाई लिएर उदाउँदा खेलाडीहरुमा पैदा हुने वितृष्णता प्रति पनि उनले जवाफदेही हुनुपर्छ । क्रिकेटमै भविष्य खोजि रहेका नेपाली यूवा क्रिकेटरहरुलाइ यसरी मनलाग्दी र भाका नपुर्याएर गरिएको वर्गिकरणले प्रोत्साहन भन्दा पनि हतोत्साहीत बनाउने पक्का छ । त्यसैले नेपाली क्रिकेटको अविभावक भएको नाताले पनि क्यानले खेलाडीको मनोभावना खस्कन  दिनुहुँदैन ।  कुरा कुन खेलाडीको कुन ग्रेड भन्ने मात्र हैन, हामी कस्तो क्रिकेट संस्कार बसाउँदै छौं भन्ने पनि हो ।

नयाँ वर्गिकरण अनुसार कुन खेलाडी कुन ग्रेडमा र कति पारिश्रमिक पाउँछन् त ?

‘ए’ ग्रेड  ( मासिक ५० हजार )  ज्ञानेन्द्र मल्ल, पारस खड्का, बसन्त रेग्मी, शरद भेसावकर, बिनोद भण्डारी, करन केसी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी

‘बि’ ग्रेड ( ४० हजार मासिक ) सोमपाल कामि, सुशन भारि, आरिफ शेख, पवन सर्राफ

‘सी’ ग्रेड (३० हजार मासिक ) सुबास खकुरेल, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, राशिद खान र कमल सिंह ऐरी

यो पनि पढ्नुहोस्ः पूर्व कप्तान खड्कालाई कार दिलाउन क्यानले सहयोग गर्ने

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :