निराशामा बितेको क्यानको एक बर्ष

रेवन दाहाल

काठमाण्डौं ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले लगाएको प्रतिबन्ध फुकुवाको पहिलो प्रयास स्वरुपमा नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन भएको बर्षदिन पुरा भएको छ । एक बर्ष अघि क्यानले चुनावी प्रक्रिया पुरा गर्दैनयाँ नेतृत्व पाएको थियो ।

२०७० सालदेखि नेतृत्व विहिन र २०७३ मा आईसीसीबाट निलम्वित क्यानले उक्त निर्वाचनबाट चतुरबहादुर चन्दको रुपमा नयाँ नेतृत्व पाएको थियो । चन्द क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए ।

नेपाल क्रिकेट संघ ले लामो समयपछि पाएको नयाँ नेतृत्वबाट नेपाली क्रिकेटमा जुन आशा, अपेक्षा र उल्शाह थियो नयाँ नेतृत्वले त्यसलाई सम्बोधन गर्न सकेको छैन । आंसिक निलम्वन फुकुका भै नयाँ नेतृत्व पाएको केहि घण्टा नबित्दै नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले राजिनामा दिँदा यो नेतृत्वप्रति संका उत्पन्न हुने प्रसस्त आधार थिए । त्यसपछि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीको प्रभाव पनि क्यानको नियमित काम कारबाहीमा देखियो । जे जति योजना थिए त्यसको कार्यन्वयनका लागि कोरोनाको प्रभावले निकै सकस भएको क्यान स्वीकार्छ ।

क्यानको नयाँ नेतृत्वले एक बर्षमा गरेका कामहरु:

१.महिला र पुरुष खेलाडीको केन्द्रीय सम्झैता
क्यानको असोज ६ गते बसको बोर्ड बैठकले १८ पुरुष र १९ महिला खेलाडीहरुलाई तिन श्रेणीमा बर्गिकरण गर्दै केन्द्रीय सम्झैता सार्वजनिक गरेको थियो । क्यानले पहिलो पटक महिला खेलाडीहरुलाई केन्द्रिय सम्झौतामा समावेश गरेको हो भने परुष खेलाडीहरुको सम्झौतालाई पनि हेरफेर गरेको हो ।
यस्तै अनुबन्धनमा रहेका पुरुष खेलाडीरुको १० हजारका दरले तलब बढाउनु पनि क्यानको सकारात्मक कदम हो । यसअघि १०१९ को पारिश्रमिकका लागि क्यानले आईसीसीलाई खेलाडीको १० हजारका दरले पारिश्रमिक वृद्धीगर्न राजि गराएको थियो ।

नयाँ सम्झौता अनुसार ‘ए’ श्रेणीमा रहेका पुरुष खेलाडीहरुले मासिक ५० हजार, ‘बी’ श्रेणीमा खेलाडीले ४० र ‘सी’ श्रेणीकाले खेलाडीले ३० हजार प्राप्त गर्नेछन् । साथै महिला ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीका खेलाडीहरुले क्रमशः १५ , १२ र १० हजार मासिक तलब प्राप्त गर्नेछन् ।

२.महामारीबीच महिला र पुरुष खेलाडीसहित ग्राउण्ड स्टाफ को कोरोना वीमा
क्यानले भदौ ६ गते नेपाली क्रिकेट टिमका २५ खेलाडीसहित पदाधिकारी र ग्राउण्ड स्टाफ गरी ५१ जनाको कोरोना बिमा गरेको थियो भने भदौ ९ मा १८ जना महिला क्रिकेटरको पनि कोरोना बिमा गरेको थियो ।

३.क्यान मातहतका विभिन्न कमिटिलाई पूर्णता दिनु
क्यानले असार १५ गते विभिन्न ४ वटा कमिटिहरु गठन गरेको थियो । प्रशान्तविक्रम मल्लको संयोजकत्वमा टुर्नामेन्ट कमिटि, संजयराज सिंहको संयोजकत्वमा टेक्निकल कमिटि, रोशनकुमार सिंहको संयोजकत्वमा आर्थिक कमिटि र अशोकनाथ प्याकुरेलको संयोजकत्वमा मिडिया कमिटि गठन भएको थियो । यसअघि निलम्बन फुकुवा भएपछि गत वर्ष कार्तिक ३ गते बसेको क्यानको पहिलो बैठकले अन्य तीन कमिटिलाई पूर्णता दिएको थियो ।

४.ग्रासरुट सुरु गर्न जिल्ला र प्रदेशलाई बजेट
क्यानले ग्रासरुट क्रिकेट संचानका लागी भन्दै आफु मातहतका ३४ जिल्ला संघहरुलाई ५० हजारका दरले तथा सातवटै प्रदेश संघलाई एक लाखका दरले रकम उपलब्ध गराएको थियो । यो रकम ग्रासरुट क्रिकेट सु्रु गर्न हात्तिको मुखमा जिरा जस्तै भएपनि नयाँ कामको थालनी भने पक्कै भएको हो ।

५.वार्षिक क्यालेन्डर सार्वजनिक
क्यानले दुई दिवसीय पुरुष क्रिकेट, महिला पुरुष र यु– १९ एक दिवसीय क्रिकेट आयोजना गर्ने तयारीसहित वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो । यद्दपी कोरोना भाइसर महामारीका कारण क्यानको यो सिजनको घरेलु क्यालेन्डर ह्वाइट वास हुने प्रवल सम्भावना छ ।

यो पनि पढ्नुहोस्ः महिला क्रिकेटरको पहिलो वर्गिकरणमै चुकेको क्यान

क्यानले गर्न नसकेका कामहरु
१. प्रशिक्षको नियुक्ति
विश्व क्रिकेट लिग दुई अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको घरेलु सिरिज लगत्तै उमेश पटुवालले मुख्य प्रशिक्षक पदबाट राजिनामा दिएसँगै राष्ट्रिय क्रिकेट टिम प्रशिक्षक बिहिन रहँदै आएको छ । क्यानले आन्तरिक लविङको आधारमा प्रशिक्षक नियुक्त गर्न खोजेपनि असफल भई खुल्ला दर्खास्त आह्वान गरेको छ । यद्दपी अब नयाँ प्रशिक्षकमा को नियुक्त हुनेछन् भन्ने विषयको टुङ्गो लागेको छैन ।

२.मुख्य प्रायोजक खोज्न नसक्नु
नयाँ नेतृत्व पाएको एक वर्ष वितिसक्दा पनि क्यानले प्रायोजक भने खोज्न सकेको छैन । चरम आर्थिक अभावको सामना गरीरहेको क्यान पूर्ण रुपमा आईसीसीमा आश्रीत छ । नेपालमा लोकप्रिय खेलको रुपमा रहेको क्रिकेटले प्रायोजक नै नपाउनु क्यानको असफलताको स्पष्ट उदाहरण हो ।

३.घरेलु प्रतियोगिता विहिन
हाल नेपालको घरेलु प्रतियोगिता भनेको महिला र पुरुष प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट मात्र हो । दुई दिवसीय पुरुष क्रिकेट र उमेर समूहको घरेलु क्रिकेट आयोजना गर्ने क्यानको योजना फगत योजनामा मात्रै सिमिति भएको छ । घरी आर्थिक अभाव त घरी कोरोना महामारीलाई दोषदिने क्यानको नियतले प्रतियोगिता गर्न क्यान नेतृत्व असक्षम रहेको स्पष्ट पार्दछ छ । यसका लागि कोरोना प्रभावले पनि प्रत्यक्ष असर गरेको छ ।

४.घरेलु मैदानमा अन्तराष्ट्रिय प्रतियोगिता गर्न नसक्नु
क्यानले नयाँ नेतृत्व पाए पश्चात् नेपालले घरेलु मैदानमा एकमात्र अन्तराष्ट्रिय सिरिज खेलेको छ । विश्व क्रिकेट लिग दुई अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको घरेलु सिरिज बाहेकका अन्य सिरिज खेलेको छैन । यस्तै एक दिवसीय मान्यता प्राप्त गरेको तीवर्ष वितिसक्दा नेपालले जम्मा १० वटा मात्रै एक दिवसीय अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छ ।

५. भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नती गर्न नसक्नु
अन्तराष्ट्रिय क्रिकेट मैदानका रुपमा रहेको टियु क्रिकेट मैदानको स्तरोन्नती गर्न क्यानले कुनै सकारातमक प्रयासनै गरेको छैन । मुलपानी क्रिकेट मैदानको जग्गा विवादपछि निर्माण सम्पन्न हुन नसक्नु क्यानको टाउको दुखाईको विषय बनेको छ । एक दिवसीय मान्यता पाउँदा समेत खेलाडीहरुलाई स्तरीय मैदान उपलब्ध गराउन क्यानले सकेको छैन ।

६.क्यान खेलाडीबीच विवाद
क्यान खेलाडीबीचको विवाद बेला बेलामा सतहमै आउने गरेको छ । निलम्बन पश्चात् आंसिक रुपमा फुकुवा भई क्यानले नयाँ नेतृत्व पाएको केहि घण्टा नवित्दै निवर्तमान कप्तान पारस खड्काको राजीनामाले नेपाल क्रिकेट संघ को नयाँ नेतृत्वप्रति खेलडीहरुको असन्तुष्टि प्रष्ट पारेको थियो ।

क्यान र खेलाडबीचको असमझदारीले नेपाली क्रिकेट स्तरलाई निरन्तर खस्काउनमात्र सघाएको छ । हालै मात्र नयाँ केन्द्रिय सम्झौता सार्वजनिक गर्दा अवैज्ञानिक तरिकाले निर्णय गरेको भन्दै खेलाडीहरुले क्यानको सार्वजनिक रुपमै आलोचना गरेका छन् । त्यस्तै निर्णय पुनर्बिचार गर्न ज्ञापन पत्र समेत बुझाएका छन् ।

आईसीसीले सशर्त ससत्र्त निलम्बन फुकुवा गरेपछि सक्रिय देखिएको क्यानले यो बर्ष दिनको अवधिमा केही काम गरेको छ भने अझै धेरै काम गर्न बाँकी छ । तर खेलाडीको वर्गिकरणमा गरेका कम्जोरी, नयाँ प्रशिक्षक नियुक्तिमा ढिलाई लगायतका कम्जोरीका घटनाहरुले क्यान र खेलाडीबीचको सम्बन्ध अझै चिसो रहन सक्ने आसंका छ ।

यो पनि पढ्नुहोस्ः मनलाग्दी गरिएको वर्गिकरण !