सीताको उपचारमा खेलाडी कोषबाट सहयोग

काठमाण्डौं ।  राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई १ लाख २५ हजार रुपैयाँ आर्थिक उपलब्ध गराइएको हो ।

कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीता उपचाररत अस्पाताल ट्रमा सेन्टरमा गइ सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

सीताको प्रशिक्षणका दौरान घुडामा चोट लागेको थियो । डा. सरोज राईको नेतृत्वमा उनको शल्यक्रिया पनि भइसकेको छ । सीतालाई आइतबार डिस्चार्ज पनि गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसअघि सिता राईको खुट्टाको उपचारका लागि नेपाल ब्याडमिन्टन संघले समेत आर्थिक सहयोग गरेको थियो । दुई दिन अघि खेलाडी सिताको उपचारका लागि संघले ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

गत असोज ८ गते घर नजिकैको ब्याडमिन्टन हलमा ट्रेनिङ गर्ने क्रममा उनी घाईते भएकी थिईन् । कोरोना प्रभावकाबीच राष्ट्रिय व्याडमिन्टन खेलाडीको औपचारिक प्रशिक्षण सुरु हुनु तीनदिन पहिले कोरियन प्रशिक्षक चोई सिउन कुकको निर्देशन अनुसार ब्यक्तिगत ट्रेनिङमा सहभागि भएकी सिताले सोही क्रममा दाहिने खुट्टामा चोट बोकेकी थिईन् ।

अभ्यासको क्रममा चोटग्रस्त बनेकी सिताले चिरायु अस्पतालमा उपचार गराएकी थिईन् भने गत बिहीबार सल्याक्रिया समेत गराएकी थिईन् । उपचारमा कठिनाई भएपछि सिताले अघिल्लो साता ब्यक्तिगत अपिल गर्दै उपचारका लागि आर्थिक सहयोगको माग राखेकी थिइन् । राई राष्ट्रिय ब्याडमिन्टन संघको ८ औँ बरियताकी खेलाडी हुन् ।

यो पनि पढ्नुहोस्ः सिताको उपचारमा संघको ५० हजार