आइपीएलमा वार्नरको ५ हजार रन पुरा

एजेन्सी ।  अष्ट्रेलियन क्रिकेटर तथा सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नरले इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा ५ हजार रन पुरा गरेका छन् । आइतबार कोलकत्ता नाइट राइडर्सविरुद्धको खेलमा अविजित ४८ रन बनाएका ब्याट्सम्यान वार्नरले ५ हजार रन पुरा गरेका हुन् ।

वार्नर आइपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो विदेशी खेलाडी हुन् भने समग्रमा चौथो खेलाडी हुन् । युएईमा जारी १३ औं संस्करणको आइपीएलमा यसअघि रोहित शर्माले पनि ५ हजार रन पुरा गरेका थिए ।

कोलकत्ताविरुद्ध अविजित ४८ रन बनाएका वार्नरले कुल ५ हजार ३७ रन बनाएका छन् । वार्नरले आइपीएलमा अहिलेसम्म १ सय ३५ खेलमा ब्याटिङ गर्दै यो सफलता हात पारेका हुन् । उनले आइपीइलमा बनाएको सबैभन्दा उच्च स्कोर १ सय २६ रन हो ।

यस्तै उनले ५ हजार रनको आंकडा पार गर्न ४ वटा शतक र ४६ अर्धशतक हिर्काएका छन् । सन् २००८ मा आइपीएल डेब्यु गरेका वार्नरले अहिलेसम्म १ सय ८९ छक्का र ४ सय ८५ चौका प्रहार गरेका छन् ।

आइपीइलमा वार्नर भन्दा अघि विराट कोहली, सुरेश रैना र रोहित शर्माले यो किर्तिमान बनाएका छन् । रोहितले यही संस्करण ५ हजार रन पुरा गरेका हुन् भने कोहली आइपीएल इतिहासकै सर्वाधिक रन बनाउने खेलाडी हुन् । कोहलीको नाममा ५ हजार ७ सय ५९ रन छ । दोस्रो स्थानका सुरेस रैनाले ५ हजार ३ सय ३८ रन बनाएका छन्, तर रैनाले यो सिजन आइपीएलमा सहभागिता जनाएका छैनन् । रोहित शर्माले ५ हजार १ सय ५८ रन बनाएका छन् ।

डेभिड वार्नरसंगै १३ औं संस्करणको आइपीएलमा ५ हजार रन पुरा गर्नसक्ने खेलाडी सिखर धवन पनि हुन् । धवनले अहिलेसम्म ४ हजार ९ सय ३८ रन बनाका छन् ।

यो पनि पढ्नुहोस्ः पञ्जाबको नाटकीय जित