दसैंमा खेलाडीले के–केमा ध्यान दिने ?

लक्ष्मी शाक्य

काठमाडौ । दसैंको आगमनसँगे नेपाली खेलकुद क्षेत्रका व्यक्तिहरुका लागि खानपान पनि चिन्ताको बिषय हो । अझ खेलाडीहरुले त झन आफ्नो लय कायमै राख्न तथा दसैंपछि पनि आफ्नो खेल जीवनलाई सशक्त ढंगले अघिबढाउन खानपानमा विशेष ध्यान पु¥याउनु पर्छ ।

दसैंलाई हर्षोल्लास र आफन्तजन भेटघाटको पर्वको रुपमा मनाउने प्रचलन छ । यो समय अन्य समयभन्दा अधिक मात्रामा मासुजन्य साथै मसलेदार परिकारको खपत बढी हुन्छ । त्यसैले खेलाडीका लागि पनि यो समय खानपानमा विशेष ध्यान दिनु पर्ने पर्व हो ।

खेलाडीले दसैंमा खानपानमा ध्यान नदिए पर्वपछि खेलमा फर्किदाँ कठिन हुने पक्का छ भने लयमा फर्किन निकै गाह्रो हुने छ । त्यसैले नेपाली खेलाडीले दसैैंमा नखाएर कहिले खाने भन्नु भन्दा पनि स्वाथ्यकर खानामा जोड दिन जरुरी छ ।

वर्ष २०७७ को दसैं अन्य बर्षहरुभन्दा अलि फरक पनि हुनेछ । किनकी यो बेला कोरोना भाइरस (कोभिड–१९) को महामारी पनि कायमै छ । दसैं यस्तो बेला परेको छ, जुन बेला खेलाडीले लामो समय प्रशिक्षण विहिन हुँदै घरमा बस्नु परेको छ । लामो समय प्रशिक्षण विहिन बसेका खेलाडीले दसैंमा खानपानमा ध्यान नदिए भोलीका दिनमा लयमा फर्किन उनीहरुलाई निकै नै गाह्रो अवस्य पर्नेछ । त्यसैले गत वर्षको तुलनामा यो वर्ष अलि बढीनै बिचार पुर्याउनु पर्ने बर्ष हो ।

दसैंमा खेलाडीले के–के कुरामा ध्यानदिने त ? के भन्छन्, खेल प्रशिक्षकहरु ?

बालगोपाल महर्जन (फुटबल प्रशिक्षक)
खेलाडीले सधैं खेल अभ्याससँगै डाइटिङमा विचार पु¥याउनुपर्छ । दसैंमा परिवारका सबैजना जम्माहुने मीठो मसिनो खाने प्रचलन छ । अहिलेको समयमा मीठो भन्दा पनि स्वाथ्यकर र शक्तिबर्धक खाना खानु जरुरी छ । खेलाडीले पनि यिनै कुरालाई ध्यानमा राखेर खानपान गर्दा राम्रोहुन्छ । सुरक्षित तरिकाले परिवारजनसँग भेटघाट गर्नुस्, खानपानसँगै केही समय अभ्यासमा पनि दिनुस् । महामारीलाई ध्यानमा राख्दै सुरक्षित रुपमा दसैं मनाउनुहोस् । खेलाडीसँगै सम्पुर्ण नेपालीमा विजया दशमीको शुभकामना ।

दिपक विष्ट (तेक्वान्दो प्रशिक्षक)
मौसम परिवर्तनको समय छ, प्रत्येक घरमा एक न एक व्यक्ती बिरामी हुनुहुन्छ । कोरोना महामारिमै दसैं मनाउँदै छौँ । यो वर्ष दसैं भन्दा पनि महामारी ठूलो भैदिएको छ । अलिकति मात्रै खानपानमा ध्यान दिनसके पनि खेलाडी केहि हद सुरक्षित रहन सकिन्छ । खेलाडीहरु कसैले पनि अनुसासनहिन तरिकाले खाने र बाहिर घुमफिरको लागि निस्कने काम नगरौं ।

महामारीलाई ध्यानमा राखी तातो पानी खाने, जङ्गफुड नखाने, झोलिलो ताजा खाने कुरा खाने र माछामासु ज्यादा मसलेदार भन्दा पनि मात्रा मिलाएर खाने । देशको गहनारुपी खेलाडीले आफू भाइरसबाट सुरक्षित रहि परिवारलाई पनि सुरक्षित राख्ने प्रयत्न गर्नुस् ।

खेलाडिको लागि अभ्यास जहिले पनि आवश्यक छ । चाडवाँडको समयमा खानपिनमा ध्यानदिँदै केही समय अभ्यासको लागि छुट्याउनु होस् । खेलाडी साथै सम्पुर्णमा दसैं को शुभकामना ।

हिरा थापा (स्क्वास प्रशिक्षक)
अहिले खेलाडीमात्र नभई सम्पुर्ण व्यक्तिले खानपानमा धेरै नै ध्यान पुर्याउनु पर्ने समय छ । खेलाडीले त खानपानमा जहिल्यै ध्यानदिनु पर्छ । कोरोनाकै कारण धेरै समयदेखि खेलकुद बन्द छ । स्वास्थ्य ठूलो कुरो हो । अहिले हामी जसरी हुन्छ स्वास्थ्य रहौ र खानपानमा ध्यान दिऔँ । दसैं अर्को वर्ष धुमधामका साथ मनाउँला, खेल अर्को वर्ष खेलौला ।
रोग लागेर कठिन परिस्थितिसँग जुध्नुभन्दा रोग लाग्नै नदिऔ । खेलाडी, प्रशिक्षक लगायत सम्पुर्णमा नेपाली स्क्वास परिवारको तर्फबाट दसैंको शुभकामना ।
( प्रशिक्षक थापाले यो बर्ष आफैं कोरोना भाइरसको संक्रमण अनुभव गरेका थिए )

भगवती राना मगर (महिला फुटबल प्रशिक्षक)
खेलाडीले आफुलाई फिट राख्न दसैंको बेला पनि थोरै समय भएपनी अभ्यासमा ध्यानदिनुपर्छ । खानामा पनि स्वास्थ्यकर खानामा जोड दिनुपर्छ । ताजा फलफूल, माछामासु पनि ताजा खाने, जङ्ग फुट नखादा राम्रो हुन्छ ।

दिनेशचन्द्र नकर्मी (बास्केटबल प्रशिक्षक)
दसैं भन्दैमा खेलाडीले जस्तो पायो तेस्तै खाने, अभ्यासलाई बेवास्ता गर्ने कार्य गर्नुहुदैन । खेलाडीले धेरै कुरालाई ध्यानदिनुपर्छ । खेलाडीले आफ्नो अनुसासनलाई विचार गरि चिल्लो जन्य खाना सक्भर नखाने र मदिरा सेवन नगरी दसै मनाउँदा राम्रो हुन्छ । अहिलेको दसैं कोरोनाले गर्दा त्यत्ती राम्रो पनि छैन ।

यो पनि पढ्नुहोस्ः निराशामा बितेको क्यानको एक बर्ष