भर्चुअल तेक्वान्दोलाई पूर्वखेलाडीको साथ

काठमाडौं । आगामी कार्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा आयोजना हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’लाई पूर्व राष्ट्रिय खेलाडीहरुले सहयोग गरेका छन् । पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी, राष्ट्र राई, देउकाजी गुरुङ, रविनकुमार नाल्बो र प्रदीप व्यञ्जनकारले च्याम्पियनसिपलाई सहयोग गरेका हुन् ।

च्याम्पियनसिपको पपुलर खेलाडी विधाको पुरस्कारको प्रायोजन सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक एवं एनआरएनए बेलायतका पूर्व उपाध्यक्ष राष्ट्र राईले गरेका छन् । यस्तै उत्कृष्ट पुरुष खेलाडीको पुरस्कारको प्रायोजन देउकाजी गुरुङ र उत्कृष्ट महिला खेलाडीको पुरस्कारको प्रायोजन रविनकुमार नाल्बोले गरेका छन् ।

देउकाजी होराइजन तेक्वान्दो संघ हङकङका संस्थापक हुन् भने नाल्बो एभरेष्ट तेक्वान्दो एकेडेमी हङकङका अध्यक्ष हुन् । अमेरिकाको पोर्टल्यान्डमा रहेका पूर्व राष्ट्रिय खेलाडी प्रदीप व्यञ्जनकारले पनि दुवै विधामा सहयोग गर्ने प्रतिवद्धता जनाएको च्याम्पियनसिप संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना हुन लागेको हो ।  च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको छ ।

प्रतियोगितामा सहभागी हुन अक्टोबर ३१ तारिखसम्म रजिस्ट्रेसन गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । यसैगरी नोभेम्बर ५ र ६ तारिखभित्र दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ । प्राप्त भिडियोहरुको मूल्यांकन नोभेम्बर ७ र ८ तारिखमा हुने र त्यसपछि नतिजा प्रकाशन गरिने प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए ।

यो पनि पढ्नुहोस्ः सागका पदक विजेता तेक्वान्दो खेलाडी सम्मानित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :