खेलाडीको दसैं :फुर्सदिलो भए पनि मन खुसी छैन

लक्ष्मी शाक्य । 

काठमाण्डौं । सधैं खेल अभ्यास र प्रतियोगितामा व्यस्त रहने खेलाडीले परिवारसँग बसेर दसैं मनाउने अवसर कमै पाउछन् । यद्यपि, यो वर्षको दसैंमा भने सम्पुर्ण खेलाडी फुर्सदिला छन् । कोरोना महामारीले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा नहुँदा खेलाडीहरुसंग पर्याप्त समय छ ।

तर महामारीले गर्दा फुर्सदिलो नै भएपनी खेलाडीले दसैं भने खुलेर मनाउने छैनन् । मेरो खेलसंगको कुराकानीमा अधिकांश खेलाडीले यसपालिको दसैं जीवनकै फरक हुने बताए । अघिल्ला वर्षहरुमा आफन्तज भेटघाट गर्ने र परिवारसंग घुमफिर गर्ने योजना हुन्थ्यो तर अहिले त्यस्तो कुनै योजना पनि नरहेको कतिपयको भनाइ छ ।

सन्तोषी श्रेष्ठ (एथलेटिक्स खेलाडी)
गत वर्षहरुमा दसैं विशेष धेरै प्रतियोगिता हुन्थे । प्रतियोगिता सक्नासाथ म मेरो घर धादिङ जान्थे । अन्य बेला पढाइ अनि खेलको व्यस्तताले गर्दा घर जान पाइन्नथ्यो । दशैंको बिदामा वर्षमा एकपटक घर पुगिन्थ्यो । परिवार र आफन्त सबैलाई भटेर रमाइलो हुन्थ्यो । यो वर्ष कोरोनाले गर्दा म घर जान पाउदिन, अहिले न खेल भयो न त अभ्यास नै त्यसैले पनि मलाई दसैं आएको जस्तो नै लागेको छैन । जीवनकै सबैभन्दा फरक दसैं अनुभव गरेकी छु । यो वर्ष कुनै हर्ष पनि छैन र प्लानिङ पनि छैन ।

नविता श्रेष्ठ (टेबलटेनिस खेलाडी)
मेरो यसपालि दसैं छैन । हजुरबुबा बित्नुभएकोले यो वर्ष बरखी छ । पोहोरको दसैंमा साग गेमको तयारीमा क्याम्पमै हुदा दुईदिन मात्र बिदा थियो । राम्ररी दसैं मनाउन पाइन । अहिले महामारीले कुनै टुर्नामेन्ट पनि भएन त्यसैले दसैंको मजा पनि छैन । कोरोनाले धेरै कुरामा असर पुर्यायो । सामान्य समय भएको भए दसैंमा हामी परिवारका सबै सदस्य जम्मा भइन्थ्यो । नेवारहरुको दसैंसुरु भएपछि भोजै–भोज लाग्थ्यो । अब अहिले त्यस्तो हुदैन, फुर्सदिलो भएपनि मन खुसी छैन ।

आयशा शाक्य (तेक्वान्दो खेलाडी)
गत वर्ष दसैंको बेला साग गेमको तयारीमा व्यस्त थिएँ । दसैंमा पनि ट्रेनिङ चलिरहेको थियो । त्यत्ती रमाइलोसंग दसैं मनाउन पाइएन । यसपालि कोरोनाले कुनै प्रतियोगिता पनि भएको छैन । हामी सबै घरमै छौं । बच्चा बच्ची पनि स्कुल जानु परेको छैन । भर्खरै खेल सामाग्री विषेश नयाँ पसल सञ्चालनमा ल्याएका छौं, पसल जाने आउने मै समय वितेको छ ।

पहिला दसैंमा सुदुरपस्चिमको धनगढीमा रहेको घर जान्थ्यौ । पोहोरको साल साग गेमको कारण घर गइन यो वर्ष पनि कोरोनाले गर्दा जान पाउँदिन । बुबा आमालाई नै काठमाडौ बोलाएका छौं । घरमा पनि धेरै मान्छे जम्मा नभई नजिकको आफन्तहरु जम्मा भएर बुबा आमाको हातको टीका लगाउने आशिर्वाद थाप्ने योजनामा छु । फुर्सदकै समय भएपनी घुमफिरको कुनै योजना बनाएका छैनौं । अहिले जसरी हुन्छ भाइरसबाट सुरक्षित रहनेप्रती नै केन्द्रित छु ।

मण्डेकाजी श्रेष्ठ (कराँते खेलाडी)
कोरोनाले विश्वनै आक्रान्त भइरहेको बेला यसपालिको दसैं पक्कै पनि विगतका वर्षमा भन्दा फरक हुनेछ । पहिले यो समय विभिन्न प्रतियोगितामा व्यस्त भइन्थ्यो । प्रतियोगिता सक्काउनै धौधौ पर्थ्यो, तर अहिले तेस्तो छैन ।

दसैं भन्ने बित्तिकै छुट्टै हर्ष हुन्थ्यो । ठुलावडाको हातको टीका लगाउने आशिर्वाद लिने, चङ्गा उडाउने, साथीभाइ मिलेर पिङ्ग बनाउने, खेल्ने र घुमफिर गरेर निकै रमाइलो गरिन्थ्यो । अहिले कोरोनाले गर्दा त्यो सबै सम्भव छैन । आफन्तजनको हातको टीका पनि भिडियोकल मार्फत नै लगाउने सोचमा छु । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परिवासङ्ग ससुराली हेटौंडा चै जाने योजनामा छु । अरु तेस्तो कुनै योजना छैन ।

 पनि पढ्नुहोस्ः ‘खेलाडीलाई खेलकै चिन्ता’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :