नेपाललाई १६ स्वर्णसहित ३५ पदक

काठमाण्डौं । निशिमुरा कप अनलाईन कराते च्याम्पियनसिपको सातौं संस्करणमा नेपालले १६ स्वर्णसहित कुल ३५ पदक जित्न सफल भएको छ । फिलिपिन्स कराते लिगले आयोजना गरेको भर्चुअल प्रतियोगितामा नेपालले १६ स्वर्ण, १२ रजत र ७ कास्य पदक प्राप्त गरेको हो । प्रशिक्षक तथा अन्तराष्ट्रिय निर्णयक रबि शाहीले नेपालले १६ स्वर्णसहित कुल ३५ पदक जितेको जानकारी दिए ।

नेपालका लागि रविन्द्र मानन्धर, सन्जु देशार, सुभाष घटन, सुभाष कार्की, मनिस कार्की, शत्कर घर्ति मगर, अनुभा मग्रान्ति, सुबिता गौतम, गरिमा मगर, रोशमा राई र रिना श्रेष्ठले स्वर्ण पदक जिते । यस्तै जगत सिंह धनुक, सोनिम मानन्धर, न्यान्सी क्षेत्री, न्हुजः मान शाक्य, रुद्राक्ष देवकोटा र निता आचार्यले रजत पदक हात पारे । नेपालका जुलियाना मोक्तान, डिप्सन सापकोटा, हेरेन्जेन लामा र आरव देवकोटाले कांस्य पदक जिते ।

पुरुषको ३७–४५ वर्ष उमेर समूहको एडवाच मास्टर कातामा रविन्द्रले स्विडेनका एन्टोन कुमरलाई हराएर स्वर्ण जिते । पुरुषको १८–२५ वर्ष उमेर समूहको एडवाच कातामा नेपालकै जगतलाई हराएर सुभाष घटनले स्वर्ण जिते । पुरुषकै २५–३५ वर्ष उमेर समूहको एडवाच कातामा स्विडेनका केन्टारो एरिक्सनलाई हराएर सुभाष कार्कीले, मनिसले १३–१५ वर्ष उमेर समूहको मध्यवर्ती कातामा फिलिपिन्सका म्याथी बाल्डेटामोनलाई हराएर स्वर्ण जिते ।
शत्करले फिलिपिन्सको खेलाडी चाहतगट शिंगलाई हराएर ९ वर्ष मुनिको मध्यवर्ती कातामा स्वर्ण जिते । महिलातर्फ सुबिताले फिलिपिन्सकी मरिएल्ल उर्बनोलाई हराएर स्वर्ण जितिन् ।

महिलाको १०–१२ उमेर समूहमा नविक कातामा न्यान्सीले नेपालकै अनुभालाई हराएर स्वर्ण जितिन् । महिलाकै १३–१७ उमेर समूहको एडवाच कातामा सन्जुले इन्डोनेसियाको खेलाडी नबिला शकिला लिनोमेलाई पराजित गरे स्वर्ण जितिन् । यस्तै महिलाको १३–१५ वर्ष उमेर समूहमा गरिमाले स्विडेनकि खेलाडी नाथली कोमरलाई हराएर स्वर्ण जितिन् । यस्तै महिलाको १८–२५ उमेर समूहको एडवाच कातामा नेपालकै नितालाई हराएर रोशमाले स्वर्ण जिदा २६–३५ वर्ष उमेर समुहमा नेपालकी रिनाले फिलिपिन्सकी हन्जेलन्न बोर्ज्रेलाई हराएर स्वर्ण पदक जितेकी हुन् ।

च्याम्पियनसिप अक्टोबर ३० देखि नोभेम्बर १ सम्म संचालन भएको थियो । च्याम्पियनसिपमा १६ देशका २ सय ३२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो पनि पढ्नुहोस्ः भर्चुअल तेक्वान्दोलाई पूर्वखेलाडीको साथ