सागका पदकधारी खेलाडीद्वारा लाखेलाई सम्मान

काठमाण्डौ । १३ औं दक्षिण एशियाली खेलकुद सागका पदकधारी खेलाडी तथा विभिन्न खेलकर्मीहरुले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य पुरेन्द्र विक्रम लाखेलाई शुभकामना,बधाई तथा सम्मान ब्यक्त गरेका छन् ।

सागका पदकधारी खेलाडीहरुले बुधबार राखेपमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त रोखप सदस्य लाखेलाई बधाई तथा शुभकामना ब्यक्त गरेका हुन् । लाखेलाई कार्यक्रमको संयोजक समेत रहेका मण्डेकाजी श्रेष्ठ नेतृत्वको टोलीले खादासहित मायाको चिनो प्रदान गरेको थियो ।

लाखेलाई सम्मान गर्नेमा सागका पदकधारी खेलाडीबाहेक प्रशिक्षकहरु गोपाल महर्जन, दिपक श्रेष्ठ, राजु श्रेष्ठ, गंगाराम महर्जन र रेफ्रीहरु रहेका थिए ।

लाखे सन् १९९१ मा नेपालमा आयोजना भएको शिखर एसियाली कराँते च्याम्पियनसिपका स्वर्ण पदिक विजेता समेत हुन् । लाखे दोश्रो पटक राखेपको बोर्ड सदस्यमा नियुक्त भएका हुन् ।

लाखे यसअघि २०६३ मा सदस्य नियुक्त भएका थिए भने पछिल्लोपटक २०७७ असोज १९ गते पुनः सदस्यमा नियुक्त भएका हुन् ।

लाखेले सम्मान कार्यक्रममा बोल्दै आफ्नो पदिय जिम्मेवारी र कराँते खेलका खेलाडीहरुको हकहितका लागी सधै अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।

यस्तै कार्यक्रमका प्रम्ख अतिथिको रुपमा आमन्त्रित राखेप सदस्य सचिव रमेशकुमार सिलवालले लाखेलाई सम्मान गर्दै नेपाली करातेमा एकताको खाँचो रहेको औल्याँए । उनले बिगतमा देखिएको कराँते विवाद स्मरण गराउँदै सबैलाई एकजुट भएर सकारात्मक र अपेक्षाकृत नतिजाका निम्ति जुट्नपर्ने जिकिर गरे ।

कार्यक्रममा २०२१ मा जापानमा हुने टोकियो ओलम्पिकका लागि तयारी गरिरहेको कराँतेका खेलाडीहरु अनु अधिकारी र नवीन रसाईली र प्रशिक्षक दिपक श्रेष्ठलाई शुभकामना दिईएको थियो ।  सो अवसरमा खेलाडीहरु अनु अधिकारी र नवीन रसाईली र प्रशिक्षक दिपक श्रेष्ठलाई  ट्रयाकसुट प्रदान गरियो ।

यो पनि पढ्नुहोस्ः अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा सुदेशनालाई रजत