धोनीको उत्तराधिकारी बन्न सक्ने ५ भारतीय खेलाडी

सुवास रोकाया

काठमाण्डौ । भारतीय टिमका पूर्व कप्तान र विकेटकीपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश पाएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) उनको उत्तराधिकारीको खोजीमा छ । टेस्ट क्रिकेटमा ऋद्धिमान साहले आफ्नो प्रदर्शनको दममा धोनीको स्थान ओगटेका छन् भने सिमित ओभर क्रिकेटमा कुनै पनि खेलाडीले निश्चित रुपमा धोनीको स्थान ओगट्न सकेका छैनन् ।

हालै सम्पन्न ईण्डियन प्रिमियर लीग (आईपीएल) मा लोकेश राहुल, सन्जु स्यामसन, ऋषभ पंत र ईशान किशन जस्ता खेलाडीहरूले धोनी जस्तै विकेटकिपर ब्याट्सम्यान बन्न सक्ने संकेत देखाएका छन् ।

आईपीएलमा विकेटकीपरको भुमिकामा कमै देखिएका केही खेलाडीहरुले शानदार ब्याटीङ्ग गर्दै छनौटकर्ताहरुलाई समेत प्रभावित पारेका छन् ।

आईपीएलको प्रदर्शनका आधारमा ५ विकेटकिपर ब्याट्सम्यानले भारतीय टिममा आफ्नो दावेदारी पेश गरेका छन् । जसमा चार खेलाडीहरु अष्ट्रेलियाविरुद्धको श्रृंखला खेल्ने भ्रमण टोली स्थान बनाईसकेका छन् । यसबाहेक एकजना भने डेब्युको पर्खाईमा छन् ।

लोकेश राहुल यी ५ जना उम्मेदवारहरूमध्ये अग्रपंक्तिकमा छन् । यसबाहेक ऋद्धिमान शाह, सन्जु स्यामसन, ऋषभ पंत र ईशान किशनले राम्रो प्रदर्शन गर्दै आफ्नो दावी पेश गरेका छन् । इशान किशन बाहेक सबैलाई अष्ट्रेलिया भ्रमणका लागि टिममा समावेश गरिएको छ ।

सन्जु स्यामसनलाई एकदिवसीय र टि २० मा टिममा सामेल गरिएको छ । लोकेश राहुल तीनै फम्र्याटको क्रिकेटमा समावेश भएका छन् । यसैबीच, ऋद्धिमान शाह र ऋषभ पंतलाई टेस्ट टिममा समेटिएको छ ।

यो पनि पढ्नुहोस्ः महेन्द्र सिंह धोनी पोल्ट्री फार्म ब्यावसायमा

यी ५ दावेदारहरुको प्रदर्शनमा एक नजर राखौ ।

लोकेश राहुल
लोकेश राहुल अष्ट्रेलिया भ्रमणको लागि भारतीय टिमको तीनै फर्म्याटमा समावेश गरिएका खेलाडी हुन् । पछिल्ला केही अन्तराष्ट्रिय खेलहरूमा राहुल भारतको एकदिवसीय र टी २० टोलीमा विकेटकिपरको रूपमा पनि खेलिरहेका छन् । राहुलले अहिलेसम्म भारतका लागी कुल ३२ एकदिवसीय खेल खेलेका छन् । जसमा उनले ४७ दशमलव ६५ को औसतले १२३९ रन बनाएका छन् । यस दौरान उनले ४ शतक र ७ अर्धशतक समेत बनाएका छन् । राहुलले ४२ टि २० मा २ शतक र ११ अर्धशतकको सहयोगमा १४६१ रन बनाएका छन् ।

भारतका लागी ३६ टेस्ट खेलिसकेका राहुलले ३४ दशमलव ५८ औसतमा २००६ रन बनाउदा ५ शतक र ११ अर्धशतकहरू प्रहार गरेका छन् । आईपीएलमा किङ्गस ११ पंजाबका कप्तान समेत रहेका राहुलले यस सिजन १४ खेल खेल्दै ५५ दशमलव ८३ को औसतले ६७० रन बनाए भने विकेटकीपरको रुपमा १० वटा क्याच समेत समाएका छन् ।

ऋद्धिमान शाह
भारतीय टेस्ट टिममा ऋद्धिमान साहको स्थान पक्का छ । तर यस सिजनको आईपीएलमा उनको प्रदर्शन हेर्दा उनलाई सिमित ओभर क्रिकेटमा समेत मौका मिल्ने देखिन्छ । सनराइजर्स हैदराबादका लागि शाहले यस सिजन ४ खेल खेल्दै ७१ दशमलव ३३ को औसतमा २१४ रन बनाउँदा २ अर्धशतक समेत लगाए ।

शाहले भारतका लागि ३७ टेस्टमा ३० दशमलव २ को औसतले १२३८ रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ३ शतक र ३ अर्धशतक समेत बनाएका छन् । शाहले विकेट पछाडिबाट ५२ क्याच र ११ स्टम्पिङ्ग गरेका छन् । यस बाहेक उसले ९ एकदिवसीय खेलमा १३ दशमलव ६६ को औसतमा ४१ रन बनाउँदा १७ क्याच र १ स्टम्पिङ्ग गरेका छन् ।

ऋषभ पंत
धोनी पछि भारतीय छनौटकर्ताहरुको पहिलो रोजाई ऋषभ पंत थिए । तर पंतले यस अवसरको अधिक सदुपयोग गर्न सकेनन् । पंतले अष्ट्रेलिया र ईङ्गल्याण्डमा शतक बनाएर टेस्टमा आफ्नो स्थान जोगाए । तर ऋद्धिमान साह भारतिय टेस्ट टिमको पहिलो रोजाईको विकेटकिपर हुन् । यद्यपी अष्ट्रेलिया भ्रमणको लागि पंतलाई टेस्ट टिममा सामेल गरिएको छ ।

यस सिजन दिल्ली क्यापिटल्सका लागि खेल्दै उनले १४ खेलमा ३१ दशमलव १८ को औसतले मात्र ३४३ रन बनाउन सफल भए ।

पंतले भारतका लागी १३ टेस्ट खेलेका छन् । जसमा उनले ३८ दशमलव ७६ को औसतले ८१४ रन बनाउँदा २ शतक र २ अर्धशतक प्रहार गरेका छन् भने विकेटकिपरको रुपमा ५९ क्याच र २ स्टम्पिङ्ग गरेका छन् ।

एकदिवसीय क्रिकेटमा पंतले १६ खेलमा २६ दशमलव ७१ को औसतमा ३७४ रन बनाउँदा मात्र १ अर्धशतक प्रहार गरेका छन् । उनले एकदिवसीयमा ८ क्याच र १ स्टम्पिङ्ग गरेका छन् ।

यस्तै हाल सम्म २८ टि २० खेलेका पंतले २० दशमलव ५० को औसतमा ४१० रन बनाएका छन् । जसमा एक अर्ध शतक सामेल छ भने उनले विकेटकीपरको रुपमा ७ क्याच र २ स्टम्पिङ्ग गरेका छन् ।

सन्जु स्यामसन
सन्जु स्यामसनलाई अष्ट्रेलियाबिरुद्धको एकदिवसीय र टि २० टिममा सामेल गरिएको छ । उनले यस सिजनको आईपीएलमा राजस्थान रोयल्सका लागि खेलेका १४ खेलमा २८ दशमलव ३४ को औसतमा ३ अर्धशतक सहित ३७५ रन बनाएका थिए । यस बाहेक उनले विकेट पछाडिबाट ९ क्याच र २ स्टम्पिङ्ग गरे ।

उनले भारतका लागी ४ टि २० खेलेका छन् । जसमा उनले ८ दशमलव ७५ को औसतले ३५ रन बनाउँदा २ क्याच र एक स्टम्पिङ्ग गरेका छन् ।

प्रथम श्रेणी क्रिकेटमा स्यामसनले ५५ खेलमा ३७ दशमलव ६४ को औसतमा ३१६२ रन बनाउँदा १० शतक र १२ अर्धशतक लगाएका छन् भने विकेट पछाडि रहँदा ७३ क्याच र ७ं स्टम्पिङ्ग गरेका छन् ।

ईशान किशन
विकेटकीपर ब्याट्सम्यान ईशान किशन अझै पनी भारतिय टिमबाट डेब्यु गर्ने प्रतिक्षामा छन् । ५ औं पटक मुम्बई इण्डियन्स च्याम्पियन बनाउन ईशान किशनले ठूलो योगदान दिएका थिए ।

किशनले आईपीएलको यस सिजन विकेटकिपीङ्ग गर्ने अवसर पाएनन् । तर ब्याट्सम्यानको रूपमा उनको प्रदर्शनले सबैको ध्यानाकर्षण गर्यो । उनले १४ खेलको १३ इनिङ्गमा ब्याटिङ्ग गर्दै ५७ दशमलव ३३ को औसतले ५१६ रन बनाउँदा ४ अर्धशतक समेत प्रहार गरे ।

धोनीकै राज्य झारखण्ंडबाट खेल्ने इशान किशनले ७२ लिस्ट ए खेल खेलेका छन् । जसमा उनले ३६ दशमलव ४६ को औसतमा २३३४ रन बनाउदा १२ अर्ध शतक र ३ शतक बनाएका छन् भने विकेटकीपरको रुपमा ८० क्याच र ७ स्टम्पिङ्ग गरेका छन् ।