राष्ट्रिय खेलको पीडा: अभ्यास थाल्न पैसा छैन

लक्ष्मी शाक्य

काठमाण्डौँ । नेपालको राष्ट्रिय खेल भलिबलको प्रशिक्षण आर्थिक अभावका कारण तत्काल सुचारु नहुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि रोकिएको भलिबलको अभ्यास सरकारले खेलकुद गतिविधि सुचारु गर्न अनुमती दिएपछि पनि आर्थिक अभावका कारण तत्काल गर्न सकस देखिएको हो ।

केही साता अघि सरकारले ९ महिनादेखी बन्द रहेको खेलकुद गतिविधि संचालन गर्न निर्देशन दिइसकेको छ । कोरोना महामारीका कारण बन्द खेलकुद गतिविधि संचालन गर्न सरकारले अनुमति दिएसँगै केही खेलकुद संघले प्रशिक्षण सुरु गर्ने तयारीअघि बढाएका छन् । सरकारको निर्देशन आउनुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को अनुमतिमा नेपाल ओलम्पिक संघ, ब्याटमिन्टन संघलगायतले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई प्रशिक्षण नै थालिसकेका थिए । यो बीचमा राष्ट्रिय खेल भलिबलको भने अभ्यासको कुनै तयारी थिएन भने अब पनि कुनै तयारी छैन ।

भलिबलको अभ्यासको तयारी नहुनुका मुख्य कारण आर्थिक अभाव, प्रशासकीय निकायको तालिका नहुनु र राखेपले पत्र नदिनु रहेको संघका पदाधिकारी बताउँछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट राष्ट्रिय पुरुष तथा महिला भलिबल टोलीको प्रशिक्षण सुचारु गर्न कुनै औपचारिक पत्र प्राप्त नभएको र विश्व भलिबलको प्रशासकीय निकाय फेडरेसन अफ इन्टरनेसनल भलिबल (एफआइबिभी) तथा एसियन भलिबल कन्फेडरेसन (एभिसी) ले कोरोना भाइरस महामारीका कारण प्रतियोगिता स्थगित गरेकोले तत्काल प्रशिक्षण सुरु नभएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । राखेपको पत्र प्राप्त भए पनि तत्काल प्रशिक्षण सुचारु गर्न भने सकस हुने उनले जानकारी दिए ।

उनले भने, ‘सरकाले निर्देशन दिएपनि भलिबल प्रशिक्षण सुरु गर्न राखेपबाट संघलाई औपचारिक पत्र आएको छैन । राखेपबाट पत्र आएको खण्डमा पनि भलिबल संघ तत्कालै प्रशिक्षण सुरु गर्न सक्ने अवस्थामा छैन । किनकी हामी आर्थिक संकटबाट गुज्रिएका छौं ।’

लकडाउन अघि तथा अघिल्लो बर्ष नेपाली पुरुष भलिबल टोली फागुन पहिलो साताबाट बंगलादेशमा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप २०२० को तयारीमा थियो, तर कोरोना भाइरस महामारीका कारण प्रतियोगिता २०२१ सम्मका लागी रद्द भएपछि नेपाली टोलीको प्रशिक्षण रोकियो । त्यसपछि टोली प्रतियोगिता र प्रशिक्षण बिहिन छ । महिला टोलीले पनि अभ्यासको मौका नपाएको बर्षदिन पुग्न लाग्यो । कोरोनाको महामारी सुरुभएपछि भलिबल खेलाडीहरु व्यक्तिगत अभ्यासको भरमा छन् । सरकारले प्रशिक्षण लगायतका खेलकुद गतिविधि सुचारु गर्न अनुमती दिएपछि सबै खेलाडी अभ्यासमा फर्कन आतुर समेत छन्, तर भलिबल संघ भने तत्कालै अभ्यासमा फर्काउन कठिन रहेको बताउँछ ।

‘भलिबल खेल संचालन गर्न अन्य खेललाई जस्तो सहज छैन’, क्रिकेट र फुटबसंघको उदाहारण दिदै महासचिव चन्दले भने, ‘उनीहरुलाई प्रशिक्षण सुरु गर्न पनि फिफा र आइसीसीबाट छुट्टै आर्थिक सहयोग आउछ तर भलिबलमा त्यस्तो छैन ।’

‘राष्ट्रिय खेल भलिबल भएपनि सरकारको सहयोग न्युन छ, नेपाल भलिबल संघ यत्तिखेर आर्थिक संकटमा गुज्रिएको छ, जनावरीअघि भलिबल प्रशिक्षण सुरु हुदैन ।’ चन्दले सुनाए ।

गत वर्षहरुमा भलिबल संघले बिभिन्न प्रतियोगिता गरेको थियो । प्रतियोगिता संचालन गर्न प्रायोजक जुटाइन्थ्यो । प्रायोजककै भरमा धेरै प्रतियोगिता संचालन हुदैआएका थिए जसबाट संघको खातामा केही रकम समेत जम्मा हुन्थ्यो । यो वर्ष कोरोना महामारीले देशका सम्पूर्ण क्षेत्रमा प्रभावित छ, यस्तो समयमा भलिबल संघले प्रतियोगिता सञ्चालनदेखि प्रयोजक जुटाउन सकिरहेको छैन ।

‘हामीले स्पोन्सरहरुसंग  समन्वय गरीरहेका छौं । कोरोना महामारीले तत्कालै पाउन सकिरहेका छैनौं’, चन्दले भने, ‘अब हामी भलिबलका गतिविधि चलायमान बनाउन के गर्न सकिन्छ त्यो बारे छलफल गर्न राखेप समक्ष जाने तयारीमा छौँ ।’
चन्दका अनुसार संघको अवस्था दयनीय छ । उनी भन्छन्, ‘खेलाडीलाई प्रशिक्षणका लागि उपत्यका झिकाउन, सरकारको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रशिक्षणमा समेल हुन, प्रशिक्षण अघि सम्बन्धित व्यक्तिको कोरोना परिक्षण गराउन, उनीहरुलाई होटल क्वारेन्टिनमा राख्न भलिबल संघसँग आवश्यक बजेट छैन ।’

यो पनि पढ्नुहोस्ः  क्यानको निर्णयमाथि पूर्व सिईओको विरोध