नेपालगञ्ज म्याराथन आज

नेपालगञ्ज । छैठौं संस्करणको धारा नेपालगन्ज म्याराथन शनिबार हुँदैछ ।

आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीका अनुसार  बिहान ७ बजेबाट शुरु हुँदैछ । ‘बाँच्नका लागि हिडौं’ भन्ने नारासहित आयोजना हुने यस पटकको म्याराथनमा तीन इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ ।

कोरोना महामारीका कारण यस पटक पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रन समावेश गरिएको ठकुरीले मेरोखल डटकमलाई बताए ।

यस पटकको म्याराथनमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरण सिंह बोगटी, साविक विजेता नवराज साउद, सागकै स्वर्ण पदक विजेता गोपी पार्की लगायतका २० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिने आयोजकले जनाएको छ ।

नेपाल एथलेटिक्स संघबाट मान्यता प्राप्त नेपालगन्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनौटका रुपमा समेत लिएको छ ।

यस म्याराथनका विजेताले आगामी वर्ष जापानको टोकियोमा हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जानकारी गराएको छ ।

यो वर्षको धारा नेपालगन्ज म्याराथनमा पुरस्कार राशी समेत बढाईएको ठकुरीले बताए । उनका अनुसार यसपटकको म्याराथन विजेताले ७५, दोश्रोले ३०, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैठौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै महिला हाफ म्याराथनको विजेताले ३०, दोश्रोले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्ः कार्की ललितपुर देखि जनकपुरसम्म दौडने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :