भारतीय क्रिकेटर सिराजलाई पितृ शोक

एजेन्सी । चार टेस्टको आगामी श्रृंखलाका लागि अष्ट्रेलियामा रहेका भारतीय फास्ट बलर मोहम्मद सिराजका बुबा मोहम्मद गौसको निधन भएको छ ।

५३ वर्षीय गौस फोक्सोको रोगबाट ग्रसित थिए । सिराजका बुबाको शुक्रबार साँझ भारतको हैदराबादमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनका बुबाले क्रिकेटरको रूपमा सिराजलाई सधै साथ दिएका थिए । पेसाले अटो रिक्सा चालक गौसले सीमित स्रोतका बावजुद छोराको महत्वाकांक्षालाई समर्थन गरेका थिए ।

२६ वर्षिय सिराजलाई पितृ शोक परेकोमा उनको आईपीएल टोली रोयल च्यालेञ्र्जस बैंगलोरले दुख ब्यक्त गरेको छ ।

आरसीबीले ट्वीटमा भनेको छ ,‘मोहम्मद सिराजले बुबा गुमाउनु परेको थाहाँ पाउँदा हामीलाई दुख लागेको छ । हामी शोक सन्तप्त परिवारका लागि प्रार्थना र शोक ब्यक्त गर्दछौं । सम्पूर्ण आरसीबी परिवार यो कठिन समयमा तिमी संगै रहनेछ ।’

अष्ट्रेलियाविरुद्धको भ्रमणमा टेस्ट टिममा सामेल सिराज भारत फर्कने छैनन् । कोरोना महामारीका कारण आईसीसीले कुनै पनि श्रृंखला अघि १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने अनिवार्य नियम रहेको छ । यसै नियमका कारण सिराज हाल क्वारेन्टिनमा बस्ने र आफ्ना बुबाको अन्तिम संस्कार गुमाउने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो पनि पढ्नुहोस्ः दक्षिण अफ्रीकाका खेलाडीमा कोरोना संक्रमण