नेपालगञ्ज । छैठौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि गोपीचन्द्र पार्कीले जितेका छन् ।
शनिबार बिहान नेपालगन्जमा भएको म्याराथनको उपाधि गोपीले हात पारेका हुन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १८ मिनट १९ सेकेण्डमा पूरा गरे ।
यो उपाधि जितेसँगै गोपी आगामी वर्ष जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदका लागि छनौट भएका छन् ।
गोपी नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण विजेता खेलाडी समेत हुन् ।
यस्तै महिलातर्फको हाफ म्याराथनको उपाधि विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले जितेकी छिन् ।
उनले निर्धारित २१.०९७ किलोमिटरको दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । पुष्पाले १३ औं सागमा रजत पदक जितेकी थिइन् ।
कोरोना महामारीका कारण यस पटकको म्याराथनमा पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रनमात्र समावेश गरिएको थियो ।