‘फिफा द बेस्ट अवार्ड’को मिति तय

एजेन्सी । ‘फिफा द बेस्ट अवार्ड’ समारोह डिसेम्बर १७ मा आयोजना हुने भएको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘फिफा द बेस्ट अवार्ड’ को मिती घोषणा गरेको हो । फिफाले यसपटकको अवार्ड कार्यक्रम कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।

फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘सार्वजनिक स्वास्थ्य सावधानी र विश्व स्वास्थ्यलाई प्राथमिकता दिन फिफाको मार्गनिर्देशन सिद्धान्तको अनुरूप, यो पुरस्कार समारोह भर्चुअल रूपमा मात्र आयोजित गर्ने निर्णय गरिएको छ ।’

‘फिफा द बेस्ट अवार्ड’ अन्तर्गत फिफाले सर्वश्रेष्ठ पुरुष र महिला खेलाडी, प्रशक्षिक, गोलकिपर, बेस्ट ११, सर्वाेत्कृष्ट गोल र सर्वश्रेष्ठ दर्शकलाई समेत पुरस्कार प्रदान गर्दछ ।

विजेताहरूलाई सम्बन्धित राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक, २०० जना पत्रकारसँगै, फुटबल समर्थकहरुले गरेका अनलाईन मतको आधारमा मनोनित गर्ने गरिन्छ ।

अनलाईन मतदान नोभेम्बर २५ देखि सुरु हुनेछ र डिसेम्बर ९ मा समाप्त हुनेछ ।

कोरोना महामारीका कारण प्रत्येक बर्ष सेप्टेम्बरमा आयोजना हुने ‘फिफा द बेस्ट अवार्ड’ समारोह डिसेम्बर सम्म स्थगित गरिएको थियो ।

यो पनि पढ्नुहोस्ः बलियो टोटनहमलाई सिटीको टक्कर