बलियो टोटनहमलाई सिटीको टक्कर

एजेन्सी ।  प्रिमियर लिग फुटबल मा शनिबार (आज) म्यान्चेस्टर सिटी र टोटनहम खेल्दैछन । साताकै ठुलो भिडन्तको रुपमा हेरिएको सिटी र टोटनहमबीचको खेल आज हुन लागेको हो ।

लिगका बलिया दुई टोलीबीचको खेल टोटनहमको घरेलु मैदानमा हुनेछ । प्रिमियर लिग फुटबल मा टोटनहम स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ११ः१५ मा सुरु हुनेछ ।

घरेलु मैदानमा सिटीविरुद्ध जित निकाल्दै टोटनहम लिग तालिकाको शीर्ष स्थानमा उक्लिने योजनामा हुनेछ । लिगमा ८ खेल खेल्दा टोटनहमले १७ अंक जोडेको छ । ८ खेलमा उसले ५ खेलमा जित निकाल्दा २ खेलमा बराबरीमा चित्त बुझाएको छ । पछिल्ला ५ खेलमा १ खेलमा मात्र पराजित भएको टोटनहम सिटीविरुद्ध आफू अनुकुल नतिजाका लागि ईच्छुक छ ।

प्रशिक्षक जोसे माउरिन्हो सिटीविरुद्ध आफ्ना खेलाडीले स्वभाविक खेल प्रदर्शन गर्नेमा ढुक्क छन् ।  उनका लागि फर्वाड ह्यारी केनको उपस्थिती महत्वपूर्ण हुनेछ । केनले आफ्नो लयलाई निरन्तरता दिएको खण्डमा सिटीविरुद्ध टोटनहमले आफु अनुकुल नतिजाको अपेक्षा राख्न सकिन्छ । यस्तै सन् ह्युङ्ग मिनको प्रदर्शन पनि टोटनहमका लागि महत्वपूर्ण छ । मौसा सिसोको र टान्ग्यू एन्डेम्बेलेको पछिल्लो पनि प्रशिक्षक माउरिन्होका लागि प्लसपोइन्ट हो ।

‘हामी हाम्रो राम्रोका लागि खेल्दैछांै’, माउरिन्होले भने, ‘आफु अनुकुल नतिजाका लागि हामी तयार छौं, हामीलाई यो साता लिगमा नेतृत्व लिनु छ ।’  सिटीविरुद्ध प्रिमियर लिगको अघिल्लो सिजन टोटनहमले १ खेलमा जित निकाल्दा १ खेलमा बराबरी खेलेको थियो ।

यस्तै म्यान्चेस्टर सिटी पनि जित निकाल्दै अंक तालिका सुधारको योजनामा हुनेछ । सिटीले यो सिजन राम्रो सुरुवात गर्न सकेको छैन । उपाधिको दाबेदार सिटी यो सिजन ७ खेल खेल्दा मात्र ३ जित निकाल्न सफल छ । बाँकी ३ खेलमा बराबरी खेलेको सिटीले १ खेल गुमाएको छ । तर लिगका पछिल्ला ५ खेलमा सिटी कुनै पनि खेलमा पराजित भएको छैन ।

‘हामीलाई पछिल्ला ५ खेलको नतिजा हेर्दा लयमा आएको आभास हुन्छ, हामीले सुरुवात राम्रो दिन सकेनौं तर अबका खेलमा हाम्रो प्रदर्शन देखाउन चाहान्छौं ।’ सिटी प्रशिक्षक पेप ग्वार्डीओलाले भनेका छन् ।

केही दिनअघि मात्र सिटीले ग्वार्डीवालाको सम्झौता थप तीन बर्षका लागि बढाएको छ । त्यसैले नयाँ सम्झौतापछिको पहिलो खेलमा उनी आफ्नो टिमलाई तीन अंक दिलाउन प्रयासरत हुनेछन् ।

यो खेलमा उनका लागि प्रमुख हतियार भनेकै केभिन डि ब्रुइने र ग्याब्रियोल जिसस हुनेछन् । यस्तै फिल फोडेन, रोड्रि र फेरान टोरेसको प्रदर्शन पनि टिमका लागि महत्वपूर्ण हुनेछ ।

यसबाहेक पनि दुबै टोलीसंग स्टार खेलाडीहरु रहेका कारण आजको खेल रोचक हुने अनुमान गरिएको छ । दुई टिमबीचका पछिल्ला खेलको नतिजा नियाल्ने हो भने सिटीले टोटनहमविरुद्ध खेलेका पछिल्ला ८ खेलमा आफ्नो प्रभुत्व देखाएको छ । सिटीले एकअर्काविरुद्ध भएका ८ खेलमा ५ जित निकालेको छ ।

यो पनि पढ्नुहोस्ः ‘फिफा द बेस्ट अवार्ड’को मिति तय