बिमल,सन्तोष र दिनेश टिममा किन फर्कदैछन् ?

काठमाण्डौं ।  विगत एक वर्षदेखी नेपाली राष्ट्रिय फुटबल टिमबाहिर रहँदै आएका यूवा स्ट्राइकर बिमल घर्ती मगर बन्द प्रशिक्षणमा फर्किने भएका छन् । नेपाली टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले बिमलसहितका ३ खेलाडीलाई फिर्ता बोलाउने तयारी गरेपछि उनीहरु फर्कने आधार सृजना भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासनको कारबाहीमा परेका बिमल एक वर्षदेखि टिम बाहिर रहदै आएका छन् । गत वर्ष मंसिर ३ गते हुने विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको घरेलु खेलका लागि भुटान प्रस्थान गर्नु अघिल्लो रात एन्फाको अनुशासन नियम तोडेपछि विमल कारवाहीमा परेका थिए । भुटान जानु अघिल्लो रात नियम विपरित बिमलसहित अन्य केही खेलाडी ‘डिस्को’ गएको पाईएपछि एन्फाले उनीहरुलाई कारबाही गरेको थियो ।

बिमलसंगै सन्तोष र दिनेश पनि फर्कने
नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक बाल गोपाल महर्जनका अनुसार बिमलसहित सन्तोष तामाङ र दिनेश राजवंशीलाई पनि टोलिमा बोलाउने तयारी भइरहेको छ । यो बिषयमा एन्फामा छलफल जारी छ । सन्तोष र दिनेश पनि बिमलसँगै डिस्को काण्डमा मुछिएपछि एक वर्षदेखी टिमबाहिर रहँदै आएका छन् । उनीहरुसंगै डिस्को काण्डमा मुछिएका अर्का एक खेलाडी भने अहिले टिममा सामेल छन् । उनीहरुसबैले कारबाहीको अवधि पुरा गरिसकेका छन् ।

‘नेपालले बंगलादेशसँग खेलेको दुई खेलको आधारमा राष्ट्रिय टिममा केहि खेलाडीहरु थपघट गर्नुपर्ने देखिएको छ,’ प्रशिक्षक महर्जनले भने, ‘ टिमको आवश्यकताका आधारमा हामी खेलाडी छनौटको तयारीमा छौँ, बिमल, सन्तोष र दिनेश सहित अन्य खेलाडीलाई पनि प्रशिक्षणमा बोलाउने योजनासहित हामी अहिले छलफलमा छौँ ।’

प्रशिक्षक महर्जनका अनुसार स्ट्राइकर बिमल, मिडफिल्डर सन्तोष र डिफेन्डर दिनेशलाई टिमको आवश्यकता हेरेर फिर्ता बोलाउने तयारी भएको हो । उनीहरुसंगै अन्य केही नयाँ तथा पुराना खेलाडीले पनि टिममा मौका पाउने सम्भावना रहेको महर्जनले बताए ।

गल्ती नदोहोर्याउने बिमलको प्रतिबद्धता
लामो समयपछि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा फर्कन पाउँदा खुसी लागेको बिमलले मेरोखेल डटकमलाई बताए ।

बिमलले भने, ‘लामो समयदेखी टिमको प्रशिक्षणबाट बाहिर रहेकोले टिममा फर्कन पाउनु मेरो लागी खुसीसँगै चुनौतीको विषय पनि हो’ ।

‘अहिले नेपाली राष्ट्रिय फुटबल टिममा नयाँ ६ खेलाडी थपिएका छन्, राष्ट्रिय टिममा पर्नको लागी मैलै आफ्नो प्रदर्शनलाई थप सुधार गर्नुपर्ने चुनौती थपिएको छ, घरमा रहँदा सामान्य अभ्यास गर्दै आएको थिएँ त्यो अब पर्याप्त छैन ’ ,बिमलले सुनाए ।

लामो समयपछि टिमको बन्द प्रशिक्षणमा फर्कने खबर सुनेपछि उत्साहित भएको भन्दै बिमलले अब पुरानो गल्ति नदोहोरिने प्रतिवद्धता व्यक्त गरे ।

प्रदर्शन सुधारको अपेक्षा
हाल कोरोना भाइरस संक्रमण र चोटका कारण राष्ट्रिय टिमका कतिपय खेलाडी टिम बाहिर छन् । कोरोना र चोटकै कारण टिमका महत्वपूर्ण खेलाडीले समेत नेपालले गत कार्तिक २८ र मंसिर २ गते बंगलादेशसँग खेलेको दई मेत्रीपूर्ण खेल गुमाएका थिए भने बंगलादेशविरुद्धको मैत्रीपूर्ण सिरिजका दुबै खेलमा नेपालको प्रदर्शन सोचे अनुसारको हुन सकेन ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० गोल अन्तरको हार व्यहोर्यो भने दास्रो खेल गोलरहित बराबरी खेलेको थियो ।  त्यसैले प्रशिक्षक बालगोपाल महर्जनले टिममा आवश्यक सुधारका लागि तथा अपेक्षित प्रदर्शनका लागि उनीहरुलाई फिर्ता बोलाउनु उपयुक्त ठानेको बताए ।

यो पनि पढ्नुहोस्ः ‘फिफा द बेस्ट अवार्ड’को मिति तय