नेपाली राष्ट्रिय पुरुष क्रिकेटरको कोरोना परिक्षण भोली

काठमाण्डौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरुको कोरोना परिक्षण भोली (सोमबार) हुने भएको छ । बन्द प्रशिक्षणको तयारीमा रहेका सबै खेलाडीहरुको पीसीआर भोली हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो ।

सोमबार बन्द प्रशिक्षणका लागि बोलाइएका २२ खेलाडीको कोरोना परीक्षण हुनेछ । राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको बन्द प्रशिक्षण मंसिर १० गतेदेखि काठमाडौंमा सुरु गर्ने योजना अनुसार क्यानले सोमबार पीसीआर परिक्षण गराउन लागेको हो ।

‘सोमबार सबै खेलाडीहरुको पीसीआर परिक्षण हुनेछ’, क्यानमा सचिव अशोकनाथ प्याकुरेलले भने, ‘त्यसपछि अन्य योजना अघि बढ्नेछन् ।’ प्याकुरेलका अनुसार पीसीआरको नतिजाको आधारमा खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने योजना अघि बढाईनेछ ।

पीसीआर परिक्षणपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजर गर्दै सुरु हुन लागेको क्रिकेट टोलीको पशिक्षणको मुख्य तयारी सुरुहुनेछ । अहिले घर घरमा रहेका खेलाडीहरु पीसीआर परिक्षणपछिनै क्यानले व्यवस्था गरेको होटलमा बस्नेछन् ।

क्यानले नेपाल सरकारको स्वास्थ्य प्रोटोकलको पालना गर्दै खेलाडीहरुलाई प्रशिक्षणमा सामेल गराउनेछ । कोरोना परिक्षणपछि रिपोर्ट नेगेटिभ आउने खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा समावेश गरिने छ भने पोजेटिभ नतिजा आउने खेलाडीले १४ दिन क्वारेन्टिन बस्नु पर्नेछ ।

यो पनि पढ्नुहोस्ः पाकिस्तान क्रिकेट बोर्ड द्वारा सिनियर खेलाडिको फिमा बृद्दी

बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप–कप्तान) पारस खड्का, सन्दीप लामिछाने, सरद भेषावकर, करण केसी, सोमपाल कामी, वसन्त रेग्मी, विनोद भण्डारी, सुशन भारी, ललितनारायण राजवंशी, पवन सर्राफ, रोहितकुमार पौडेल, कुशल मल्ल, कमलसिंह ऐरी, अभिनाश बोहोरा, सन्दीप जोरा, भुवन कार्की, आरिफ सेख, सुवास खकुरेल, रासिद खान र किशोर महतो