खाली खुट्टा दौडिने म्याराथन किङ्ग गोपीचन्द्र पार्कीको ओलम्पिकसम्मको यात्रा

लक्ष्मी शाक्य

काठमाण्डौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सका स्वर्णधारी गोपीचन्द्र पार्की टोकियो ओलम्पिक खेल्नका लागि छनोट भएका छन् । सागमा ५ हजार मिटर दौडमा स्वर्ण जितेका पार्कीले अब अर्को वर्ष जापानमा हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । कोरोना भाइरस महामारीको कारण छनोट प्रतियोगिता गर्न सम्भव नदेखिएपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मान्यता दिएको नेपालगञ्ज म्याराथन जित्दै पार्कीले ओलम्पिकसम्मको यात्रा तय गरे ।

नेपालगञ्ज म्यारथनलाई ओलम्पिक छनोटको माध्यम बनाइएको थियो । त्यसैले निकै मेहनत गरेको पार्की सुनाउँछन् ।

‘ओलम्पिक छनोटका रुपमा हेरिएको प्रतियोगितामा राम्रो गर्नुपर्छ भन्ने मलाई थाहा थियो’, पार्कीले भने, ‘लकडाउनपछि पनि राम्रो दौडिन सकें । यो निरन्तर अभ्यासको प्रतिफल हो ।’

पार्कीले शनिबार सम्पन्न छैटौं नेपालगञ्ज म्याराथनको विजेता बन्न आर्मीका कृष्ण बस्नेतलाई पछि पारे । पार्कीले निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गर्न सफल भए । यो नेपालमा भएका म्याराथनमध्धे कुनै पनि खेलाडीले दौड पूरा गर्न लागाएको छोटो समय मध्धे हो ।

ओलम्पिकमा छनोट भएकोमा खुसी लागेको भन्दै पार्कीले कोरोना महामारीको बेला हरेकदिन अभ्यास गरेको सुनाए ।

‘महामारीको बेला पनि अभ्यास गरिरहेँ, म आज पनि अभ्यास गरिरहेको छु । त्यसैले सफल बन्नसकें जस्तो लाग्छ ।’ पार्कीले भने ।

अबको लक्षरेकर्ड तोड्ने’
सागमा स्वर्णको सपना पुरा गरेका पार्कीले ओलम्पिकमा कीर्तिमान राख्ने सपना भएको बताए ।   ‘अबको लक्ष कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको रेकर्ड तोड्नु हो’ उनी सुनाउँछन् ।

‘सागमा स्वर्ण जित्ने सपना पुरा भएसँगै मेरो सपना ओलम्पिक खेल्ने थियो, ओलम्पिक खेल्नको लागी छनौट भएसंगै अब कीर्तिमानका लागि खेल्नेछु’, उनले भने ।
मानन्धरले अन्तर्राष्ट्रिय म्याराथनमा २ घण्टा १५ मिनेटमा दूरी पूरा गर्दै आफ्नो नाममा राष्ट्रिय कीर्तिमान राखेका छन्।   ‘सो कीर्तिमान अहिलेसम्म कसैले तोडेको छैन, सन् २०२१ भित्र म उहाँको कीर्तिमान आफ्नो नाममा गर्न चाहान्छु’, पार्कीले भने ।

‘ओलम्पिकमा छनोट हुनु मेरा लागि सुखीसँगै चुनौतीको विषय पनि हो । मरो आगामी तयारी भनेको ओलम्पिकमा पदककै लागि हुनेछ । त्यसपछि बैकुण्ठ मानन्धर गुरुको नाममा रहेको ३५ वर्षे इतिहास तोड्ने हुनेछ । यो त्यत्ति सहज त छैन, तर पनि म कोसिस गर्नेछु ।’ आफ्नो योजना सुनाउँदै पार्कीले भने ।

कीर्तिमानी धावक मानन्धरले सन् १९८७ मा भएको ओलम्पिकमा निर्धारित दुरी २ घण्टा १५ मिनेट ३ सेकेण्डमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान राखेका थिए । मानन्धरले बनाएको उक्त रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

खालि खुट्टा दौडिएका पार्कीको सफलताको सुत्र
धावक पार्की निकै संघर्षपछि यो स्थानसम्म पुगेका खेलाडी हुन् । अर्का धावक राजेन्द्र भण्डारीबाट प्रेरित पार्कीका सुरुवाती दिनहरु निकै अभावमा बितेका थिए । विद्यालयस्तर हुँदै जिल्ला, जिल्लाहँुदै अञ्चल र अञ्चल हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा वर्चस्व जमाउन थालेका पार्की सुरुवाती दिनहरुमा खालि खुट्टा नै दौडिन्थे ।

‘अभावमा खालि खुट्टा दौडिएको सम्झना छ, त्यसैले केही गर्नुपर्छ जस्तो संधै लागि रहन्छ’, पुरा दिन स्मरणगर्दै पार्की सुनाउँछन् ।

‘म गाउँको सामान्य परिवारमा हुर्केको व्यक्ति, मैले दौडन सुरु गर्दा आवस्यक जुत्ता र ड्रेस जुटाउन सक्ने अवस्था म र मेरो परिवारको थिएन’, पार्कीले सम्झिए, ‘सानैदेखी दौडमा रुचि भएकोले खाली खुट्टा नै दौडिन सुरु गरेको थिएँ ।’

गाउँबाट काठमाण्डौँ आएर पनि केही समय खाली खुट्टनै दौडीएको पार्कीको अनुभव छ ।
पार्की भन्छन्, ‘तीनै कठोर दिन सम्झिएर मैले निरन्तर मेहनत गरिरहेको छु । त्यही मेहनत मेरो सफलताको सुत्र हो जस्तो लाग्छ ।’

सहयोगि बिद्यालय/परिवार र प्रेरणा राजेन्द्र
कैलालीको धनगढीस्थित गौरीपुरमा वि.स. २०४६ साल साउन १० गते जन्मिएका पार्की परिवारका छैटौँ सन्तान हुन् । उनको परिवारमा बुबा–आमा, दुई दिदीसहित पाचँ दाजुभाई छन् । सामान्य परिवारमा जन्मिएका कारण पार्कीलाई धेरै कुरा सहज थिएनन् । परिवारको जीविकोपार्जनको स्रोत कृषि भएको कारण पनि उनले सहजै दौडन पाउँछु भन्ने सोचेका थिएनन्, तर उनलाई आफू अध्यनरत बिद्यालय र दाजु तथा परिवारको सहयोग रहयो ।

धनगढीकै भगवती मा.वि. बाट विद्यालय जीवन सुरु गरेका पार्कीले सोही विद्यालयमा अध्ययनसँगै खेल क्षेत्रमा लाग्ने अवसर पाए । उनी अध्ययनकै क्रममा विभिन्न विद्यालयस्तरीय दौड प्रतियोगितमा सहभागी हुन थाले । सहभागी धेरै प्रतियोगितामा उनी विजयी समेत हुन्थे । त्यसैले पारिवारिक आयस्रोत कम्जोर भएका पार्कीलाई दौड प्रतियोगितामा सहभागी हुन विद्यालयले पनि महत्वपूर्ण सहयोग दिएको थियो । यसबाहेक उनका दाजु गणेश पार्की पनि राष््िटरय स्तरका खेलाडी भएकोले परिवारमा माहौल बनेको थियो ।

पार्कीले राष्ट्रिय स्तरको खेलाडी बन्ने र देशका लागि स्वर्ण जित्ने कल्पना कक्षा आठ पढ्दाबाट सुरु गरेका हुन् । उनी कक्षा ८ मा अध्ययनरत रहँदा सन् २००६ मा श्रीलंकामा भएको दसौं सागमा नेपालका लागि धावक राजेन्द्र भण्डारीले स्वर्ण जितेका थिए, तर राजेन्द्रले प्रतिबन्धित औषधी प्रयोग गरेको भन्दै केहिदिनमै उनको स्वर्ण खोसिएको थियो । पार्कीले यो खबर रेडियोमार्फत सुनका थिए ।

‘यो खबर सुन्ना साथ देशका लागि स्वर्ण जित्ने कल्पना आयो’, पार्कीले भने, ‘भण्डारीको बारेमा रेडियोमा बजेको समाचार कानमा पर्नासाथ साग गेम खेल्ने, नेपाललाई स्वर्ण पदक दिलाउने सपना बुनियो । भण्डारीनै मेरो प्रेरणाका स्रोत हुन् ।’

(पार्की १३ औं सागमा १४ वर्षपछि खोसिएको ५ हजार मिटर दौडको राजेन्द्र भण्डारीको स्वर्ण फिर्ता ल्याउन सफल भए)

स्कुलदेखि ओलम्पिकसम्मको यात्रा
जापान ओलम्पिकका लागि छनोट भएका पार्की सुरुवाती दिनमा स्कुलस्तरिय प्रतियोगिता खेल्थे । उनी त्यसपछि जिल्ला, अञ्चनल र राष्ट्रिय स्तरको प्रतियोगितहरुमासमेत सहभागी हुन थाले । आफु सहभागी धेरै प्रतियोगितामा सफलता हात पारेका उनले वि.स.२०६६ साल फागुन १८ गते विभागीय टिम शशत्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध हुने मौका पाए । यो बीचमा उनले २०७२ सालमा भएको प्रधानसेनापति कप, ८ औँ राष्ट्रिय खेलकुद लगायत धेरै राष्ट्रिय प्रतियोगितामा उपाधि जितेका छन् ।

पार्कीले सन् २०१४ मा कोरियामा भएको एसियाली खेलकुदमा अन्तर्राष्ट्रिय खेलमा पाइला टेकेका थिए ।  यस्तै पार्कीले घरेलु भुमीमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेका थिए । पार्कीले सागमा ५ हजार मिटर दौडमा स्वर्ण जित्दै कीर्तिमान राखेका थिए । १३ औं सागमा उनले १४ वर्षपछि सागमा खोसिएको ५ हजार मिटर दौडको स्वर्ण फिर्ता ल्याउन सफल भए । राजेन्द्रपछि सागमा ५ हजार मिटर दौडमा स्वर्ण जित्ने पार्की दोस्रो धावक हुन् ।

यो पनि पढ्नुहोस्ः  ब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली दुबई प्रस्थान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :