राखेपमा झोले संघहरुको भिड

लक्ष्मी शाक्य

काठमाण्डौ । नेपाली खेलकुद विकास क्रमलाई फर्किएर हेर्दा नेपाली खेलकुदको विकास राणा शासन कालदेखी शुरु भएको पाईन्छ । राणा शासन समयमा काठमाण्डौबाट शुरु भएको खेलकुद विकासको दायरा विस्तारै फराकिलो बन्दै गयो । त्यस समय खेल संघहरु दार्ताक्रम ज्यादै न्युन थियो । नेपालमा २००४ सालमा पहिलो पटक नेपाल एमेच्योर एथलेटिक्स संघ र नेपाल क्रिकेट संघ दर्ता भएको थियो ।

त्यसपछि २००७ मा नेपाल ब्याडमिन्टन संघ, २००८ मा अखिल नेपाल फुटबल संघ र अखिल नेपाल टेबलटेनिस संघ दर्ता भएको थियो भने २०११ मा नेपाल हक्कि संघ, २०१३ मा अखिल नेपाल लनटेनिस संघ दर्ता भएको हो । यस्तै २०३३ मा आएर नेपाल बक्सिङ संघ, नेपाल भलिबल संघ र नेपाल कबड्डी संघ दर्ता भए ।

नेपालमा खेल संघ गठनको सुरुवाती दिनका तुलनमा अहिले खेल संघ दर्ता हुने दरमा आकाश पातलको फरक छ भन्दा फरक पर्दैन । तर नेपालमा खेलिने खेलको विषयमा कुरा गर्दा आम मानिसको मुखमा सुरुवाती दिनमा दर्ता भएका खेलहरुको नाम कण्ठष्त छ । फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, टेबलटेनस, बक्सिङ, हक्कि र कबड्डी बाहेक अरु खेलका बारेमा कमै मानिसलाई मात्र जानकारी होला ।

राणा, पञ्चायती, गणतन्त्र, लोकतन्त्रहुँदै नेपाल अहिले संघिय राजनितिक संरचनामा अघिबढि रहँदा नेपाली खेलकुद विकास क्रमले सोचेअनुसारको फड्को मार्न भने सकेको छैन । खेलकुद नेपालका सरकारको प्राथमिकतामा पर्न नसक्दा जति खेल संघहरु दर्ता संख्या बढ्यो त्यो अनुसार नेपाली खेलको विकास हुन सकेन । नेपालमा खेलकुल विकास भन्दा पनि खेल संघहरु दर्ता गर्ने र संघ मार्फत विदेश भ्रमण गर्ने परिपाटि मात्रै बढ्दो छ ।

अहिले विश्वमा खेल संघले धनी राष्ट्रमा गनिने मध्यमा नेपाल पनि पर्छ । तर जति खेल संघले धनि छ नेपाल त्यो अनुसार विकास छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा २ सय ९ वटा खेलकुद संघ दर्ता भएकोमा हाल २३ वटा संघहरु खारेज भई १ सय ८६ संघहरु अस्तित्वमा छन् ।

राखेप बाट खारेज भएका संघहरु
नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जीन कराते संघ, नेपाल लागु पदार्थ तथा एड्स विरुद्ध खेलकुद संघ, नेपाल कार्पोरेट खेलकुद संघ, गोरखा एक्शन मार्शल आर्ट संघ नेपाल, नेपाल लठ्ठी खेलकुद संघ, नेपाल आर्मस रेस्टलिङ्ग संघ, नेपाल आसिहारा काईकन कराते डो संघ, नेपाल जेनुईन मार्शल आर्ट एण्ड एशोसियसन, नेपाल फ्युजन मार्शल आर्ट संघ राखेपबाट खारेज भईसकेका छन् ।

यस्तै एभियसन स्पोर्टस एशोसियसन नेपाल, नेपाल एमेच्योर किड् बक्सिङ संघ, नेपाल खेलकुद योग संघ, विद्यालय बास्केटबल महासंघ नेपाल, राष्ट्रिय विद्यालयस्तरीय व्याडमिन्टन महासंघ, नेपाल विद्यालय फुटबल संघ, राष्ट्रिय जिम्न्यास्टिक महासंघ, नेपाल विद्यालय ह्याण्डबल संघ, राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघ, मोर्डन पेन्टाथलन एशोसियसन नेपाल, नेपाल विद्यालय कवड्डी संघ र राष्ट्रिय विद्यालय क्रिकेट संघ पनि हाल राखेपबाट खारेज भएका छन् ।

हाल राखेपमा १ सय ८६ वटा खेलकुद संघहरु दर्तामा रहिरँहदा धेरै नाम मात्राका संघहरु बेकामे छन् । राखेपमा कामन काजका झोले प्रकृतिका संघहरु दर्ता हुने प्रविृत्तिले वास्तविक संघ मर्कामा पर्दै आएका छन् । राखेपमा एउटै प्रकृति र परिपाटिका खेल संघहरु पनि अहिले छुट्टा– छुट्टै नाममा दर्ता हुने गरेको छ ।

योङमुदो, ओकिनावा सुुरिकेन सोलिन कराँते,च्यानवारा, हाप्किडो, रोलबल, उडबल, गोरखा खुुकुरी मार्सल आर्ट, परेवा उडान संघ, लाठी संघ, साम्बो, आइस हक्कीलगायत एक सयभन्दा बढी संघ खेलसंघहरु दर्ता मात्र सिमित छन् । यी खेल संघहरुले अहिलेसम्म राष्ट्रिय प्रतियोगिता समेत आयोजना गर्न सकेको छैन । यस्ता संघहरुले निश्चयनै वास्तविक खेल संघहरुको विकासमा बाधक बन्दै आएको छ ।

यो पनि पढ्नुहोस्ः महिला लिगको काया पलट गर्ने योजना बुन्दै एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :