बुबा आमा नभएपनि उहाँहरुको शिर झुकाउने काम गर्दिनः फुटबलर हिरा

लक्ष्मी शाक्य

काठमाण्डौ । ‘बच्चा छँदा मलाई थाहा थिएन फुटबल नै मेरो जीउने आधार बन्ने छ, एथलेटिक्स गेमहरु नै खेल्थे रुची पनि त्यसैमा थियो, जब एक दिन मैले बजारमा केटीहरुले पनि फुटबल खेल्छ रे भन्ने सुने । त्यसपछि बजारको केटीले खेल्ने फुटबल गाउँको केटीले पनि खेल्न सक्छ नी भन्ने लाग्यो ।

स्कुलमा टिफिन टाईममा केटाहरुलाई मात्र फुटबल खेलाईन्थो र केटाहरुले फुटाएको बलको छालामा केटी साथाीहरुसँग कुरा गरेर ५–५ रुपैयाँ पैसा उठाएर ब्लाडर भरेर हामी केटीहरु पनि फुटबल खेलौँ भनेर स्कुले दिनबाट फुटबल खेल्न सुरु गरेको थिएँ । त्यसपछि मैले जस्तो सुकै कठिक परिस्थितामा पनि फुटबल खेल्न छोडिन, समस्याहरु त धेरै थिए, समस्याका वावजुत पनि खेल्न छोडिन अहिले फुटबल नै मेरो जीउने आधार बनेको छ ।’ यो भनाई हो,नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर हिरा भुजेलको ।

वि.स.२०५२ सालमा उदयपुर जिल्लाको सानो गाउँमा जन्मिएकी हिरालाई फुटबल खेल्नु र फुटबलमै आफ्नो भविष्यको रेखा कोर्नु पहाड फोर्नु भन्दा कम सहज थिएन । दुई वर्षको कलिलै उमेरमा आमा अर्कैसँग पोईल गईदिनुको पिडा र पाँच वर्षको उमेरमा बाबुको निधनको शोक सैह्य थिएन । तर, जे हुन्छ राम्रो कै लागी हुन्छ भन्ने नेपाली उखानलाई आत्मसाथ गर्दै त्यसपछि हिरा आफ्नो भाग्य रेखा कोर्न अघि बढिन् । बुबा आमा नभएपनि उहाँहरुको शिर झुकाउने काम कहिल्यै गर्दिन भन्ने अठोटका साथ हिराले खेल्न थालिन् ।

बाबु, आमा नभएपछि उनको परिवारमा दुई दाजु, दुई दिदि र उनी गरी पाँच जना बच्चाको बिजोक हुने अवस्था भएपछि उनीहरुको साहरा बनिन्, उनको फुपु । फुपुले नै उनीहरु सबैको स्याहार सुसार गरिन् र हुर्काईन् ।

जिन्दगीमा धेरै समस्या झेलेकी हिराले स्कुल पढ्दै गर्दा पहिलो पटक जिल्ला बाहिर जनकपुर जिल्लामा गएर खेलेकी थिईन् फुटबल । उनको खेल कौशले नै गर्दा जनकपुर जिल्लाको प्रशिक्षकले उनलाई हप्तामा एक पटक प्रशिक्षण दिने वातावरण मिलाई दिए । उनै प्रशिक्षकको सहयोगमा हप्तामा हिराले जिल्ला बाहिर गएर प्रशिक्षण लिन थालिन् ।

कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा भएको छैटौं राष्ट्रिय खेल खेल्न जान पैसा नभए पछि दाईसँग धेरै रोएको, दाईले चार सय ऋण खोजेर गेम खेल्न पठाएको, छैटौं राष्ट्रिय गेम खेलेर पहिलो पटक तीन हजार पुरस्कार स्वरुप कमाएको र त्यो पैसाबाट दाई, दिदि लाई चिनो किनेर ल्याईदिएको र घर आएर बचेको पाँच सय पैसा दाईलाई दिएको त्यो दिन हिरालाई आजै जस्तो लाग्छ ।

जब उनी जिल्ला बाहिर गएर खेल्न थालिन्, त्यसपछि उनले जमुना लामा र अनु लामा जस्ता अग्रज महिला फुटबलरहरुको नाम पत्र पत्रिकामा छापिएर आएको, टेलिभजनमा उनीहरुको खेलको बारेमा चर्चा भएको समाचार देख्न र सुन्न थालिन् । त्यसपछि हिरामा अनु लामा जस्तै राष्ट्रिय खेलाडी बन्ने भोक जाग्दै गयो ।

जिल्ला स्थरमा अब्बल डिफेन्डरको रुपमा चर्चा कमाउँदै जिल्ला र अञ्चल स्थतका खेलहरु खेल्दै आएकी हिराले वि.सं २०७० साल बाट एपीएफ क्लबमा आबद्ध भएर एपीएफ बाट घरेलु प्रतियोगिताहरु खेल्न थालेकी थिईन् ।

दुई वर्षसम्म एपीएबाट कन्ट्रयाक्टमा रहेर खेलेकी हिराले ७२ सालमा पहिलो पटक राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । ‘जब म राष्ट्रिय टिममा परेँ भन्ने खबर पाएँ, खेल राम्रै भए पनि म सँग खेल्ने धेरै दिदिहरु हुनुहुन्थ्यो, उहाँहरु पनि राष्ट्रिय टिममा पर्नको लागी धेरै अभ्यास गरीरहनु भएको थियो, राष्ट्रिय टिममा मेरो नाम पर्यो भन्ने सुचना सुन्दा मैले पहिले त विश्वास नै गर्न पनि सकेको थिईन र पछि आधिकारीक सुचना नै आएपछि म धेरै खुसी भएको थिएँ ।’ राष्ट्रिय टिममा पर्दाको त्यो क्षण सम्झँदै हिराले सुनाईन् ।

२०७२ सालमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) गेमबाट हिराले राष्ट्रिय टिमको ६ नम्बरको जर्सी लगाएर खेल्न थालेकी हुन् । त्यसयता उनी निरन्तर राष्ट्रिय टिमबाट खेल्दै आएकी छिन् ।

खेलेरै धेरै कुरा पाएकी हिरालाई अझै ४–५ वर्ष राष्ट्रिय टिमबाट खेल्ने योजना छ । जब आफ्नो स्थानमा आफुभन्दा राम्रो खेल्ने बहिनीहरु आउँछन् त्यसपछि आफुले स्वतः राष्ट्रिय टिमबाट सन्यास लिने पनि हिराले मेरो खेलसँग बताईन् । फुटबलबाटै नाम, दाम र इनाम कमाएकी हिरा खेलसँगै पढाईलाई अघि लैजान नसकेको प्रति भने दुःख व्यक्त गरिन् ।

‘बुबा, आमा भइदिएको भए अहिले म अर्कै स्थानमा हुने थिए होला पढाईलाई धेरै अघि बढाईसकेको हुने थिए होला ।’ हिराले भनिन्,‘पढाईलाई राम्रो गर्ने बेला पारिवारिक कारणले अन्तै सोच्नु पर्यो, अहिले खेलसँगै पढाई नहुँदा अहिले कतिपय ठाउँमा कतिपय मान्छेसँग फेस गर्न पनि डर लाग्छ ।’

नेपाली फुटबलमै अझै योगदानको खाँचो देखेकी हिराले विहेको बारेमा भने अहिले कुनै योजना नभएको बताईन् । गत महिना मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय खेलाडीहरुको तलब बृद्धि गरेको थियो । एन्फा महिला र पुरुष खेलाडिलाई समान १८–१८ हजार तलब दिने निर्णय गरेको छ । एन्फाको यो कार्य स्वागत योग्य हो र यो कार्यले खेल सामाग्री लगायत सम्पूर्ण दैनिकी संचालनमा धेरै सहज हुने समेत बताइन् ।

एन्फाले खेलाडीप्रति गरेको यो ऐतिहासिक कार्यलाई प्रमाणित गर्न आफ्नो खेलमा अझै सुधार गर्ने हिराले बताईन् ।

यो पनि पढ्नुहोस्ः  ‘उत्कृष्ट ब्याटस्म्यान तर अभागी खेलाडी’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :