विश्वमा चर्चित नेपालमा गुमनामः रग्बी,तीनवर्षमा अन्तराष्ट्रिय स्तरको रंगशाला बन्दै

लक्ष्मी शाक्य

काठमाण्डौं । विश्व खेलकुदमा आर्थिक पाटो केलाउँदा अहिले सबैभन्दा बढी राजस्व संकलन गर्ने खेलमा रग्बीको नाम शिर्ष स्थानमा आउँछ । अमेरिकाको ‘द नेशनल फुटबल लिग’ अर्थात रग्बीको लिगले २०२० मा सबैभन्दा बढी राजस्वमा सहयोग गरेको तथ्यांक सार्वजनिक समेत भएको छ । यसबाहेक विश्वका ८ वटा सबैभन्दा बढि राजस्व संकलन गर्ने क्लबहरुमा पनि रग्बी कै वर्चस्व छ ।

सन् २०२० मा कुल पुँजीका आधारमा सबैभन्दा ठूला क्लबहरुको शिर्ष ८ सूचीमा ५ टोली विभिन्न देशका रग्बीका क्लबहरु नै छन् । स्पेनिस ला लिगा क्लब रियाल मड्रिड पछि सबैभन्दा महङ्गो क्लब इङ्गल्याण्डको रग्बी क्लब न्यु इङ्गल्याण्डस् प्याट्रियट्स हो । २०२० मा उक्त क्लबको कुल पुँजी ४ दशमलव ०२ बिलियन अमेरिकी डलर रहेको तथ्यांक छ ।

अमेरिका र युरोपियन मुलुकहरुमा अत्यधिक चर्चित खेल रग्बी नेपालमा पनि खेलिने गर्छ भने सायदै खेलप्रेमिहरुलाई थाहाँ भएको विषय हो । नेपालमा रग्बीको शुरुवात २५ वर्षअघि भएपनि यसको चहलपहलको बारेमा जानकारी नगण्य मात्रा छ । कारण हो यसको प्रचार प्रसारमा कमि र यसलाई संचालन गर्ने नेपाल रग्बी संघको गतिविधिमा कमि ।

विश्वमा महङ्गो खेलको रुपमा बर्चस्व कायम गरिरहेको खेल रग्बी भने नेपालमा गुनाम अवस्थामा छ । नेपाली रग्बीको कुरा गर्ने हो भने अहिले नेपालमा रग्बी खेल भ्रुण अवस्थामै छ भन्दा फकर पर्दैन । नेपालमा हाल रग्बी खेल जेनतेन रुपमा चल्दै आएको छ ।

२५ वर्ष पहिले रग्बीको आधिकारिक निकाय नेपाल रग्बी संघको स्थापना भएपनि यसको पहिलो राष्ट्रिय प्रतियोगिता भने २०७२ सालमा मात्र आयोजना भयो । अहिलेसम्म रग्बी संघले ४ पटक राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ भने सोही सालबाट नेपालले अन्तराष्ट्रियप्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ ।

एक त नेपालको परिपेक्षमा नितान्त नयाँ खेल त्यो माथि एशियाली मुलुकमा निक्कै कम चर्चित रग्बी प्रति आम खेल प्रेमिहरुको कम रुचीका कारण यसमा प्रत्यक्ष संलग्न भएर सहभागिता जनाउने युवा पुस्ताको निक्कै कम संख्या रहनु र त्यसमाथि यसको प्रचार प्रसार नहुनुले यस खेललाई ‘विश्वमा चर्चित तर नेपालमा गुमनाम’ को उपनाम दिदाँ उपयुक्त नै हुन्छ ।

२०५२ सालमा शुरु भएको रग्बीको आफ्नै राष्ट्रिय टोली भने सन् २०१५ अर्थात २०७२ सालमा गठन भएको हो । सन् २०१६ मा पहिलोपटक भारतमा भएको एशियाली क्षेत्रको ओलम्पिक छनौटमा पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेको नेपालले अब भने अन्तराष्ट्रिय स्तरको रग्बी स्टेडियम बनाउने थालनी गरिसकेको छ ।

रग्बी संघका अनुसार अहिले देशभरिमा पुरुष र महिला गरी ५ हजार भन्दा बढी रग्बी खेल्ने खेलाडीहरु तयारी गरिसकेको छ ।

कसरी भयो नेपालमा रग्बी खेलको सुरुवात
नेपालमा रग्बीको खेल औपचारिक स्थापना २०५२ सालमा भएपनि यसलाई पुनः स्थापना २०६९ सालमा गरियो । सो समयमा रग्बीका लागि खेलाडी खोज्न समेत हम्मे हम्मे परेको थियो । आफ्नै खेलाडी नहुँदा संघले फुटबल, बास्केटबल र भलिबल लगायतको अन्य खेलका खेलाडीलाई बटुलेर नेपालमा रग्बी खेल खेलाउन शुरु गरेको ईतिहास छ ।

खेलको सुरुवाती दिनमा खेलाडीलाई यो खेलको बारेमा बुझाउन नै निक्कै समय खर्चिुन परेको नेपाल रग्बी संघका महासचिव चेतनराज गीरीले मेरो खेल डटकमलाई बताए । नेपाल रग्बी संघले सन् २०१८ मा एसियन रग्बी महासंघको मान्यता प्राप्त गरेको थियो । यस्तै नेपाल रग्बी संघ रग्बीको विश्व नियामक निकाय विश्व रग्बीको एसोसिएट मान्यता भने सन् २०२० मा नोबेम्बर बाट पाएको हो ।

नेपाली राष्ट्रिय रग्बी टिम तयारी
सन् २०१२ सालमा स्थापना भएको रग्बी संघलाई सुरुवाती दिनमा आफ्नै खेलाडी नहँुदा सामान्य प्रतियोगिता गर्न समेत कठिन अवस्था सिर्जित भएको थियो । संघले २०१२ मा रग्बीलाई नेपालमा उठाउने प्रयास पुनः शुरु गरेपनि राष्ट्रिय प्रतियोगिता संचालन गर्न खेलाडीहरुको खोजि कार्यलाई तिव्रता दिएको थियो । संघले शुरुवात कालिन अवस्थानमा विद्यालयष् स्तरको प्रतियोगिताबाट खेलाडीको खोजि कार्य शुरु गर्याे भने अर्काेतर्फ फुटबल,भलिबल र बास्केटबलमा लागेर राष्ट्रिय टोलीमा पर्ने आकांक्षा बोकेका युवाहरुलाई यस खेलको बारेमा बुझाएर खेलतर्फ डोहोर्याउने प्रयास समेत गर्याे ।

नेपाल रग्बी संघले सन् २०१५ मा पहिलो पटक राष्ट्रिय रग्बी प्रतियोगिता आयोजना गरेको थियो । दशरथ रंगशालामा भएको उक्त प्रतियोगितामा ५ वटा क्षेत्रिय र १ विभागीय टिम आर्मी गरी ६ वटा टिमको सहभागीता रहेको थियो । यस प्रथम राष्ट्रिय रग्बी प्रतियोगितालाई संघले राष्ट्रिय टिम निर्माणको यात्राको रुपमा शुरु गरेको संघका महासचिव गिरी बताउँछन् ।

यसै प्रतियोगिताबाट उत्कृष्ट १५ खेलाडी छनौट गरी रग्बी संघले नेपाली राष्ट्रिय पुरुष रग्बी टिम तयार गरेको थियो । यस्तै नेपाली राष्ट्रिय महिला रग्बी टिम भने सन् २०१६ मा तयार भएको थियो ।

रग्बी खेल ७ र १५ जनाको टिम गरी दुई तरिकाले खेल्ने गरेको पाईन्छ । अन्य मुलुकले १५ जनाको टिममा रग्बी खेल्दै आएपनि नेपालले भने अहिले ७ जनाको टिम (सेभेन्स) प्रतियोगिता बाहेकका प्रतियोगितामा सहभागीता जनाएको छैन । ७ खेलाडीमा खेलाईने खेल १५ मिनेटको हुन्छ भने १५ खेलाडीमा खेलाइने खेल ८० मिनेटको हुने गर्दछ ।

रग्बी संघले अहिले राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागीता जनाउँदै आएको छ ।

नेपाली रग्बी खेलाडीले खलेको अन्तराष्ट्रिय प्रतियोगिताहरु


नेपाली राष्ट्रिय रग्बी खेलाडीरुहरुले पहिलो पटक सन् २०१६ मा भारतको चेन्नईमा भएको ओलम्पिक क्वालिफायर प्रतियोगिताबाट अन्तराष्ट्रिय प्रतियोतिामा सहभागीताको शुरुवात गरेको थियो । नेपालले उक्त प्रतियोगितालाई रग्बीको अन्तराष्ट्रिय अनुभव बटुल्ने अवसरको रुपमा लिएको थियो । उक्त प्रतियोगितामा नेपालले सोचे अनुसारको प्रदर्शन गर्न नसकेपनी एउटा मिठो अनुभव भने बटुल्न सफल बन्यो ।

त्यस्तै सन् २०१७ मा कतारमा भएको एसियन रग्बी टुर्नामेन्ट (एसआरटी), सन् २०१८ मा सिङ्गापुरमा भएको एसआरटी र भारमा भएको प्रतियोगिता गरी नेपाली राष्ट्रिय रग्बी टोलीलले अहिलेसम्म चार वटा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाईसकेको छ । नेपालले आहिले सेभेन्स लेभलको प्रतियोगितामा मात्र सहभागीता जनाएको छ । सन् २०१८ मा ब्रुनाइमा भएको एसियन रग्बी सेभेन्स गेममा नेपाली महिला टोलीले राम्रो प्रदर्शन गरेको थियो ।

नेपालमा रग्बीको अन्तराष्ट्रिय स्तरको रंगशाला बन्दै


नेपालमा रग्बी खेल विस्तारै विकासको गतिमा लम्कदै छ । विश्व चर्चित खेल रग्बीलाई नेपालमा प्रचुर सम्भावनाको खेलको रुपमा विकसित गर्दै लैजाने नेपाल रग्बी संघको सोच रहेको छ । कहिले दशरथ रंगशालामा त कहिले नेपाल प्रहरीको र नेपाल सेनाको मैदानमा त कहिले खाली उपयुक्त स्थानमा खेल खेलाउन बाध्य रग्बी संघ अहिले अन्त्राष्ट्रिय स्तरको आफ्नै रग्बी रंगशाला बनाउने कार्यमा अघि बढीसकेको छ ।

निर्वतमान युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले एक वर्षअघि निर्माणाधिन रग्बी रंगशालाको स्थलगत निरिक्षण समेत गरेका थिए। उक्त अवसरमा उनले रग्बीको अन्तराष्ट्रिय रंगशाला निर्माणको निम्ति सरकार समक्ष सहयोगको प्रस्तावना लग्ने र सहयोग गर्ने समेत बताएका थिए ।

एक वर्षअघि रंगशालाको विस्तृत परियोजना प्रतिवेदन तयार पारी मैदान सम्याउने काम समेत भईसकेको छ । संघका अनुसार करिब् ३० करोडको लगानीमा भक्तपुरको चाँगुनारायण नगरपालिकामा विं.सं २०८० सम्ममा नेपालले आफुनै अन्तराष्ट्रिय स्तरको रंगशाला प्राप्त गर्नेछ ।

भक्तपुरस्थित चाँगुनारायण नगरपालिकामा १० हजार दर्शक क्षमताको अन्तराष्ट्रिय रंगशाला निर्माणको काम सुरु भईसकेको छ । संघका अनुसार अबका ३ वर्षभित्र रंगशाला निर्माणको कार्य पुरा हुने संघका महासचिव चेतनराज गिरीले बताए ।

गिरीले कुनै शुभकार्य र विकासको गति अघि बढाउन सबैभन्दा पहिले सकारात्मक सोच र ईच्छाशक्ति हुनेपर्छ, त्यसपछि सबै कार्यले बिस्तारै गति लिने बताए। उनले तोकिएको समयमा रंगशाला निर्माणका लागि आर्थिक जोहो जसरी पनि हुने दाबि गरे ।

बागमती प्रदेश सरकारको १० लाख आर्थिक रहसोगमा रंगशालाको डिपिआर निर्माण कार्य सम्पन्न भइसकेको छ । रंगशाला निर्माणका लागी ३० करोड आर्थिक लागतको अनुमान गरिएको छ । अहिले सुरुवाती समयमा आर्थिक संकलनमा केहि समस्या भएको गिरीले बताए । आर्थिक सहयोगको लागी नेपाल सरकार, नगरपालिका, विश्व रग्बी र एसियन रग्बी महासंघमा समेत रंगशालाको डिपिआरसहित पहल गरेको गिरीले बताए ।
सम्पूर्ण पक्षबाट सकारात्मक प्रतिक्रिया आएको र आर्थिक सहयोग आउने र रंगशाला निर्माको काम सोचेको अवधिमै निर्माण हुनेमा आफु विश्वस्त रहेको समेत गिरीले बताए ।

आफ्नै रंगशाला नहुँदा रग्बीले भोग्नुपरेको समस्या
नेपाल रग्बी संघको आफ्नै रंगशाला नभएको समयमा अहिले प्रतिगोगिताहरु संचालन गर्न समेत कठिनाई हुने गरेको छ । प्रतियोगिताका लागी अरु खेल संघहरुकोे रंगशालामा भर पर्नुपर्ने स्थिती रहँदै आएको छ । अरु खेलहरु नभएको मौका छोपेर रग्बीका प्रतियोगिताहरु गर्नुपर्ने अवस्था रहँदै आएको छ ।

नेपाल रग्बी संघले अहिलेसम्म दशरथ रंगशाला, भक्तपुरस्थित विरेन्द्र सैनिक महाविद्यालग लगायतका स्थानमा आफ्ना प्रतियोगिताहरु गर्दै आएको छ । आफ्नै रंगशाला निर्माण भएपछि अझै नेपालमा रग्बी खेल विस्तरमा धेरै सहज हुने गिरीले बताए ।

नेपालमा मूलधारका खेलहरुलाई मात्र खेल मानिने र अरु खेललाई खेल होइन जस्तो गरिने व्यबहार निकै दुःखदायी रहेको गिरिले बताए । यहि परिपाटिले गर्दा नै नेपालमा रग्बी जस्ता खेलहरुको विकास हुन नसकेको गिरीले जिकीर गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट नेपाल रग्बी संघलाई वार्षिक २ लाखका दरले आर्थिक अनुदान आउने गरेको भएपनि खेल विकासका लागि राज्यले थप जोडबल दिनुपर्ने गिरी गुनासो गर्छन् ।

‘नेपालमा अन्य खेलको तुलना रग्बीलाई निकै कम आर्थिक अनुदान आउने गरेको छ’,महासचिव गिरीले भने, ‘यो रकमले हामीलाई प्रतियोगिता संचालनमा धौ–धौ पर्ने अवस्था छ । जसोतसो हामीले प्रतियोगिताहरु संचालन गर्दै आएका छौँ । नेपालमा अन्य खेलको तुलनमा रग्बी जस्ता खेलको विकासमा पनि सरकारको ध्यान जानु नितान्त आवश्यकता छ ’ गिरीले थपे ।

रग्बी खेल्ने नेपालका सात क्लब

विस्तारै तङ्ग्रिदै गरेको नेपालको रग्बी अहिले केही हदसम्म अघि बढ्ने प्रयासमा छ । विगतको ८ वर्षमा रग्बी संघले एउटा विभागिय आर्मीको टोलिसहित ७ वटा नियमित क्लबहरु पाईसकेको छ ।

त्रिभुवन आर्मी क्लब,हिमालयन टाइगर,आकाश भैरव,गोर्खाली रग्बी क्लब,चितवन रग्बी,धनगढी रग्बी क्लब र पोखरा रग्बी क्लबले राष्ट्रिय रग्बी प्रतियोगिता लगायतका प्रतियोगिताहरुम सहभागिता जनाईरहेको छ । यी सबै क्लबले पुरुष र महिला दु्बै विधामा सहभागिता जनाउँदै आएको छ ।

संघका महासचिव गिरीले अन्य दुई विभागिय टोलि पुलिस र एपीएफसँग पनि कलब गठनको छलफल अन्तिम चरणमा पुगेको बताए ।

यी सबै क्लबहरुले राष्ट्रिय रुपमा १५ जना सहभागिता हुने पूर्ण साईजको रग्बी खेल खेलिरहेका छन् ।

भिडियो हर्न यहाँ क्लिक गर्नुहोस : विश्वमा चर्चित तर नेपालमा गुमनाम रग्बी खेलको अन्र्तराष्ट्रिय स्तरको रंगशाला यसरी बन्दै

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :