राजनितिक हलचलले खेलकुद गतिविधि प्रभावित बन्यो : प्रशिक्षक थापामगर

काठमाण्डौ । नेपाल बक्सिङ संघले राष्ट्रिय टिमका खेलाडीहरुको औपचारिक प्रक्षिण सुरु गरेको छ । विश्वब्यापी कोरोना कहरका कारण नेपालमा पनि सरकारले गत चैत्रदेखि नै सम्पूर्ण खेल गतिविधि ठप्प हुने गरी लकडाउन गरेयता बक्सिङ्गको कुनै पनि गतिविधि हुन सकेको थिएन ।

यद्यपी बक्सिङका खेलाडीहरुले सरकारले गत असोज अन्तिममा पछिल्लो पटक राष्ट्रिय खेलकुद परिषद राखेप मार्फत खेल र खेलाडीहरुको प्रशिक्षण शुरु गर्न अनुमति दिएसँगै ब्यक्तिगत प्रशिक्षण भने थालनी गरिसकेको छ ।

संघले खेलाडीको औपचारिक प्रशिक्षण भने गत साताबाट सुरु गरेको हो । ‘लामो समय सम्म खेलाडीहरु प्रशिक्षण विहिन रहेकोले खेलाडीको फिटनेशमा समस्या देखिएको छ ।’ नेपाल बक्सिङ संघका प्रशिक्षक प्रकाश थापामगरले भने, ‘अहिले खेलाडीको फिटनेसमै ध्यान दिएको छु, विस्तार–विस्तार खेलाडीको खेल कौशलमा पनि सुधार आउँदैछ ।’

प्रशिक्षक थापाका अनुसार सातदोबाटोमा हुँदै आएको प्रशिक्षणमा अहिले राष्ट्रिय टिमका सुनिल गुरुङ, सनिल शाहि र सुस्मा तामाङ लगायत ८ जना खेलाडीहरु सहभागी छन् । समय अनुकुल बन्दै गएपछि प्रशिक्षणमा अन्य खेलाडीहरु पनि थपिने संघले बताएको छ ।

नेपाल बक्सिङ संघको तत्कालै प्रतियोगिता नभएपनि खेलाडीलाई फिट राख्नको लागी प्रशिक्षणलाई निरन्तरता दिएको प्रशिक्षक थापामगरले बताए । तर अहिलेको राजनीतिक प्रवृत्तिले खेलकुद गतिविधि प्रभावित हुने हो कि भन्नेमा थापाले चिन्ता ब्यक्त गरे छ ।

‘संसद विघटनसँगै देशमा अहिले चुनावी माहोल छाएको छ, थापामगरले भने, यस्तो उथल पुथल राजनितिक गतिविधिले अहिले देशमा खेल संघहरुलाई नियमित प्रशिक्षण संचालन गर्न, प्रतियोगिताहरु आयोजना गर्न समेत वाधा पुर्याएको छ ।’

बक्सिङले गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) मा ३ स्वर्ण, ६ रजत र ६ कास्य पदक जितेको थियो । यो पदक संख्या नेपालले सागमा बक्सिङ्गतर्फ जितेको अहिलेसम्मकै उच्च हो ।

यो पनि पढ्नुहोस्ः  विश्वमा चर्चित नेपालमा गुमनामः रग्बी,तीनवर्षमा अन्तराष्ट्रिय स्तरको रंगशाला बन्दै

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :