के गर्दैछ परेवा उडान खेल संघ

लक्ष्मी शाक्य

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हाल २ सय ९ वटा खेलकुद संघ दर्ता भएकोमा २३ वटा संघहरु खारेज भई १ सय ८६ संघहरु अस्तित्वमा छन् ।

मुलधारका केहि खेल संघहरुलाई मात्र प्राथमिकता दिने नेपाली खेल परिपाटिले गर्दा धेरै खेल संघहरु अस्तित्व बिहिन बन्ने अवस्थामा पुगेका छन् । नेपालमा खेलकुद प्राथमिकतामा पर्न नसक्दा संचालनमारहि प्रतियोगिता संचालन गर्दै आएका धेरै खेल संघहरुका बारेमा कमै मात्र मान्छेलाई थाहा छ ।

जसमध्ये नेपाल परेवा उडान खेल संघको बारेमा पनि कमै व्यक्तिहरुलाई मात्र जानकारी छ, नेपालमा न्युन संख्याका व्यक्तिहरुले मात्रै परेवा उडान प्रतियोगितामा सहभागीता जनाउँदै आएको छ । नेपालमा विस्तारै परेवा उडान खेल पनि व्यवसायिकतातर्फ लम्किने अवस्थामा छ ।

नेपमालमा कहिले र कसरी सुरु भयो परेवा उडान प्रतियोगिता
परेवा उडान प्रतियोगिता विश्वकै लागि भने नौलो प्रतियोगिता होइन । नेपालमा डेढ दशकयता परेवा उडानले प्रतियोगिताका रूपमा स्थान जमाउँदै आएको छ । परेवा पालकहरूले यसलाई राष्ट्रिय स्तरको खेलका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने योजनासमेत बनाएका छन् ।

राजपरिवार तथा राणाहरूमा मात्र सीमित ऐतिहासिक परेवा उडाउने खेल अब सर्वसाधारणमाझ लोकप्रिय बनाउने र यसलाई विश्वभर फैलाउने योजना नेपाल परेवा उडान खेल संघले लिएको छ ।

शान्तिको प्रतीक परेवा पाल्ने सौख भएका व्यक्तिहरूले परेवा उडानलाई प्रतियोगिताका रूपमा विकसित गरेर राष्ट्रिय खेलका रूपमा विकास गर्न थालेको हो । भारत, पाकिस्तान, भुटान श्रीलंका, बहराइन अमेरिका आदि देशमा बर्सेनि परेवा उडान प्रतियोगिता नै हुन्छ ।
नेपालमा २०५७ सालदेखि परेवा उडान प्रतियोगिता हुँदै आएको छ । नेपाल परेवा उडान खेल संघ राखेपमा भने २०७१ सालमा दर्ता भएको थियो । अहिले परेवा उडान खेलमा खेलाडीहरूको संख्या बढ्दै गएको छ ।

सौखका रूपमा घरमै परेवा पाल्ने तथा ती परेवालाई प्रतियोगितामा सामेल गराउनेहरूको संख्या बढिरहेको नेपाल परेवा उडान खेल संघका अध्यक्ष नारायणबहादुर श्रेष्ठले मेरो खेल डटकमलाई बताए । ‘नेपालमा अहिले २ सय भन्दा बढि खेलाडी संघमा दर्ता भएको छ ।’ श्रेष्ठले भने, जसमा ५० देखी ५५ खेलाडीले नियमित प्रतियोगितामा सहभागीता जनाउँदै आएका छन् ।’

यस्तै परेवा उडानलाई प्रवद्र्धन गर्ने उद्देश्यले संघ–संस्था खोल्ने क्रम पनि बढिरहेको छ । बनेपाको भूमि क्लब, बनेपा, हिमालय परेवा उडान क्लब, काठमाडौं, मध्यपुर परेवा उडान खेल क्लब, ठिमी, ललितपुर परेवा उडान क्लब आदि परेवा उडानलाई प्रवद्र्धन गर्ने क्लबहरु हुन् । जसमा अहिले सम्म संचालन गरिएको प्रतियोगिताको आधारमा हिमालय परेवा उडान क्लब उत्कृष्ट रहँदै आएको श्रेष्ठले जनाए ।

कसरी खेलिन्छ परेवा उडान खेल
परेवा उडान प्रतियोगितामा भाग लिन परेवा पालकको उमेर २० वर्षभन्दा माथि हुनुपर्ने नियम छ । प्रतियोगितामा एक ठउँबाट तीन जनासम्मले भाग लिन सक्नेछन् । बिहान ६ देखि साँझ ६ बजेसम्म चल्ने प्रतियोगितामा प्रतियोगीले सातवटा परेवालाई सहभागी गराउन पाउँछन्, जसमा उडाइएका दुईवटा परेवा अतिरिक्तका रूपमा रहन्छन् ।

परेवा धपाउन प्रतियोगीलाई १० मिनेटको समय दिइन्छ, जसमा एक घण्टाभन्दा अगावै परेवा जमिनमा ओर्लिए त्यस्ता परेवा प्रतियोगिताबाट बाहिरिएको मानिन्छ । उडाइने सातवटा परेवालाई निर्णायकको निर्देशनअनुसार प्रतियोगिताको एक दिनअघि छाप नक्बरसहित रंग लगाउनुपर्ने हुन्छ, आकाशमा उड्दासमेत आफ्नो परेवा सजिलै चिन्न सकियोस् भनेर यसो गरिने अध्यक्ष श्रेष्ठले बताए ।

 


प्रतियोगितामा उडेका परेवा प्रतियोगीले भनेजस्तै तोकिएकै दुई स्थानमा बस्नुपर्छ, अन्यथा उक्त परेवाको उडान समय गणना हुँदैन । मौसमको खराबी वा परेवालाई बाजजस्ता मांसाहारी चराले आक्रमण गरे प्रतियोगीलाई फेरि परेवा उडाउने मौका दिइन्छ । उडाइएका पाँचवटा परेवाको उडान अवधि गणना गरी सबैभन्दा बढी समय उड्ने परेवापालकलाई विजयी घोषित गरिन्छ ।

सबैभन्दा बढी समय उड्ने परेवालाई उत्कृष्ट परेवाको उपाधि दिइन्छ । तीन पटकको प्रतियोगितामा तीन पटकनै उत्कृट भएको परेवालाई ‘वेस्ट पिजन अवार्ड’ स्वरुप एक तोला बराबरको सुनको लकेट बनाएर लगाइदिने समते गरिँदै आएको छ । यस्तै लगातार तीन प्रतियोगितामा विजयी बनेका परेवा धनीलाई तीन केजी चाँदीको सिल्डसहित नगद पुरस्कार प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।

कसरी तयार पारिन्छ प्रतियोगिताका लागी परेवा
नेपालमा सर्वव्यापी रुपमा परेवा पालिने भएपनि नेपालमा पालिने परेवा प्रतियोगितामा उडाउनको लागी भने त्यति उपयुक्त नरहेको पाईन्छ । प्रतियोगितामा सहभागी हुन ईच्छुक व्यक्तिहरुले विदेशी मुलुकबाट परेवा झिकाएर उक्त परेवालाई प्रतियोगितामा सहभागी गराउँदै आएको छ ।

मासुका लागि प्रयोग गरिने परेवा तथा उडानका लागि प्रयोग हुने परेवा फरक हुन्छन् । उडानका लागि प्रयोग गरिने परेवाको मूल्य लाखौं रुपैयाँसम्म पर्ने गरेको छ । यस्ता प्रतियोगितामा टाउके, चिनी, तुनियाँ, कास्नी, काभरा आदि जातका परेवा उडाइन्छ ।

नेपालीले पाकिस्तान, भुटान, भारत र अमेरिका लगायतका देशबाट ६० हजार देखी १ लाख ५० हजारसम्म नगद तिरेर प्रतियोगिताका लागी परेवा झिकाउने गरेको संघका अध्यक्ष श्रेष्ठले बताए ।

विदेशमा एउटा महादेशबाट अर्को महादेशसम्म परेवा उडाएर उत्कृष्ट घोषणा गर्ने चलन रहि आएको छ । साउदी अरेबिया, इंग्ल्यान्ड, आयरल्यान्ड आदि देशमा यस्तो प्रतियोगिता बाक्लै मात्रामा हुन्छ । धनाढ्य एवं उच्च खानदानका व्यक्तिहरू यो खेलका सौखिन हुन्छन् । महँगो खर्चमा परेवा पाल्ने र तालिम दिएर रेसर परेवा उत्पादन गर्ने प्रचलन पनि विदेशमा राम्रैसँग फस्टाएको पाइन्छ ।

परेवा उडान खेल विकासमा लागी के हुन जरुरी छ ?
अन्य मुलुकमा फस्टाउँदै आएको परेवा उडान खेलले नेपालमा भने प्राथमिकता पाउन सकेको छैन । नेपालमा पनि परेवा उडान खेलको राम्रो सम्भावना छ र यो खेललाई पनि प्राथमिकता दिनुपर्छ भन्ने व्यक्तिहरु मार्फत चन्दा उठाएर राष्ट्रिय प्रतियोगिता संचालन गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

राखेपबाट ज्यादै न्युन आर्थिक अनुदान आउने गरेको र त्यसले प्रतियोगिता संचालनका लागी हात्तिको मुखमा जिरा भने जस्तै हुने गरेको श्रेष्ठले बताए । राखेपबाट परेवा उठान खेल संघको लागी भनेर वार्षिक १ लाख ५० हजारका दरले वार्षिक बजेट आउने गरेको छ ।

प्रतियोगिताका लागी संघमा आबद्ध व्यक्तिहरु बाट वार्षिक २ हजारको दरले पैसा उठाउने र सोहि पैसाले प्रतियोगिता गर्दै आएकोे श्रेष्ठले बताउँछन् । तसर्थ मुलधारका खेल संघलाई जस्तै यि खेल संघहरुलाई पनि राखेपले थप प्राथमिकतामा राखी आर्थिक सहयोग लगायत प्रविधिक पक्षमा समेत सपोर्ट गर्नु जरुरी रहेको श्रेष्ठले बताए ।

वार्षिक बजेट बृद्धिका लागी राखेपमा आफुले कुरा राखेको र वार्षिक बजेट सुधार भएर आउने आशासहित अन्तराष्ट्रिय प्रतियोगिताहरुमा समेत नेपालको सहभागीता जनाउने हिसाबले संघले थप काम गर्दै आएको श्रेष्ठको भनाई छ ।

नेपालको परेवा उडान संघले अहिलेसम्म कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएको छैन । यस्तै कोरोना महामारीका कारण रोकिएको २२ औं राष्ट्रिय परेवा उडान प्रतियोगिता आगामी बैशाखमा गर्ने तयारी समेत अघि बढाएको अध्यक्ष श्रेष्ठले बताए ।

यो पनि पढ्नुहोस्ः  विश्वमा चर्चित नेपालमा गुमनामः रग्बी,तीनवर्षमा अन्तराष्ट्रिय स्तरको रंगशाला बन्दै

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :